कोभिड-१९ महाव्याधिका कारण नेपालमा ७ जना पत्रकारले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघको अभिलेखअनुसार हालसम्म ७ जना पत्रकारले ज्यान गुमाएका हुन् ।
पत्रकारहरू बनारसी बर्मा, विक्रम शाक्य, विष्णु चौलागाईँ, सीताराम बर्मा, महेन्द्र केसी, दामोदर अधिकारी र कमल मिश्रको कोभिड-१९ का कारण ज्यान गएको हो ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढिरहँदा अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकार तथा सञ्चारकर्मी पनि नराम्ररी प्रभावित हुन पुगेको महासंघले जनाएको छ ।
नेपाल पत्रकार महासंघका अनुसार हालसम्म नेपालमा ६५० जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । यी मध्ये २५२ जना सक्रिय संक्रमित छन् ।
प्रदेश १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा ३०, सुदूरपश्चिम प्रदेशमा ३०, उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा ११७ जना संक्रमति रहेका छन् ।
संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेको छ । ४ जना आइसियुमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ ।
आइसोलेसन सेन्टर निर्माण

महासंघ केन्द्रीय कार्यालयको आवास गृहमा निर्मित आइसोलेसन सेन्टर ।
पत्रकारहरू संक्रमित हुने दर वृद्धि भएसँगै महासंघले केन्द्रीय कार्यालयमा आइसोलेसन सेन्टर निर्माण गरिरहेको छ । १० बेडमध्ये ५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । थप ५ बेडको निर्माण प्रक्रिया अगाडि बढेको छ ।
महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरूलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ । अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिएको महासंघले जनाएको छ ।
विषम् परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न र आइसोलेसन सेन्टरको व्यवस्थाका लागि सक्रिय सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरूलाई अनुरोध गरेको छ । सोका लागि आवश्यक सामग्री जुटाउन पहल गरिने तथा स्थानीयस्तरबाट स्वास्थ्य सामग्री वितरण गर्न गराउने कार्यमा सक्रिय हुन महासंघले भनेको छ ।
‘संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरू अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ’, विज्ञप्तिमा उल्लेख छ, ‘आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरू अवलम्बन गर्न सबै पत्रकारमा महासंघ अपिल गर्दछ ।’
कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरूका लागि सुलभ तरिकाले पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ ।
कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरूका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।