सौरभ कार्की -
प्राचीन रोममा शासकहरू ठूलाठूला कलोसियमहरू निर्माण गर्ने गर्दथे । ती कलोसियम अर्थात् स्टेडियमहरूमा, शासकहरूले आमजनतालाई बोलाउँथे । त्यहाँ मानिसहरूबीच लडाइँ, मानिस र जनावरबीच लडाइँ अनि जनावर र जनावरहरूबीच पनि लडाइँको आयोजना गर्दथे । कलोसियममा प्रवेश शुल्क लाग्दैनथ्यो तर पनि खास वर्गका मानिसहरूका लगि भने कलोसियमभित्र पनि निश्चित स्थानहरू भने छुट्याइएको हुन्थ्यो ।
रोमका जनता बिहानदेखि रातिसम्म काम गर्थे र उनीहरूका लागि कुनै पनि बिदाको समय छुट्याइएको थिएन । लगातार श्रममा घोटिँदा पनि जीवनस्तर सुधार नहुँदा मानिसहरूमा निराशा उत्पन्न हुन्छ र त्यो निराशाले क्रान्तिको उद्घोष गर्नेछ भन्ने कुरा शाषकहरूलाई राम्रोसँग ज्ञान थियो । त्यसबेला एउटा भनाइ प्रचलित थियो, 'उनीहरूलाई थोरै रोटी र धेरै सर्कसहरूदेउ ।' रगतको खेल देखाएर मनोरञ्जन दिइने भनिएका ती कलोसियमहरू, शाषकहरूले मानिसहरूलाई उनीहरूको आमचासोको विषयभन्दा पर राख्ने सबैभन्दा उत्तम विकल्प थियो ।
कलोसियममा लडाइँ गर्ने मानिसहरूलाई ग्लाडिएटर भनिन्थ्यो, जो आफ्नो जीवनमरणका लागि संघर्ष गर्ने गर्दथे । ग्लाडिएटरहरूलाई कलोसियममा लडाइँ गर्नकै लागि तयार गरिन्थ्यो र उनीहरूको जीवन लडाइँमै बित्ने गर्दथ्यो । ती ग्लाडिएटरहरू दासहरू हुने गर्दथे । ४ सय वर्षबीचको दौरानमा यस्ता कलोसियमहरूमा ४ लाखभन्दा बेसी ग्लाडिएटर अर्थात्् मानव जीवनहरू समाप्त भएका थिए ।
सन् ३२५ मा यस्ता कलोसियमहरूमा ग्लाडिएटर लडाउने खेल सधैँँका लागि बन्द गराइएको भए तापनि, आजको आधुनिक युगसम्म आइपुग्दा ती कलोसियमहरू हाम्रो देशका टेलिभिजनहरूमा प्राइम टाइम बहसको नयाँ स्वरूप लिएर आएका छन् । टेलिभिजन च्यानलहरूमा हरेक दिन बेलुका ७ देखि १० बजेसम्मको समय आमजनताको खास मुद्दा भड्काउन यस्ता कलोसियमहरू सञ्चालित हुने गरेका छन् ।
हरेक टेलिभिजन च्यानलहरू फरकफरक ग्लाडिएटरहरूलाई उभ्याएर तमासा देखाउने गर्दछन् भने कतिपय टेलिभिजनहरूमा भने कार्यक्रम सञ्चालक आफैँ पनि तमासाका लागि ग्लाडिएटरको रूपमा उपस्थित हुने गर्दछन्, जहाँ खास मुद्दाबारे कुनै बहस हुँदैन, जवाफदेहिताको खोजी हुँदैन र आमजनताको ध्यान भड्काउन सक्दो प्रयास गरिन्छ र तमासाहरू मात्र देखाइन्छ ।
राज्यको चौथो अंग भनिएको पत्रकारिता र टेलिभिजन च्यानलमा चल्ने गरेका यी बहसहरूका कार्यक्रमहरू समसामयिक विषयमा हुने भनिए तापनि उनीहरूले समसामयिक विषय तिनैलाई देख्छन् जहाँ बढीभन्दा बढी ग्लाडिएटरको भूमिका खोज्न सकियोस् । उनीहरू तथ्यांकमा भन्दा बढी मनगढन्ते सवाल जवाफमा बढी रुचि राख्छन् ।
कार्यक्रम सञ्चालकहरूका लागि यो सजिलो, कम झन्झटिलो र कम खर्चिलो काम पनि हो । कोही एक ग्लाडिएटरलाई बोलायो र १ घन्टाको समय बिताइदियो । तर, मानिसहरूका आमजीवन र त्यसलाई प्रभावित गर्ने आमचासोका विषयहरूमा कुरा गर्न त त्यहीअनुसारको तयारी पनि चाहीन्छ । खोजी गर्नुपर्छ । मेहनत गर्नुपर्छ । तथ्यहरूमा बहस गर्नका लागि कार्यक्रम सञ्चालक पनि त्यसबारेमा जानकार हुनुपर्दछ । असलमा भन्ने हो भने प्राइम टाइम बहसका कार्यक्रम सञ्चालकहरू सबैभन्दा कम लगानीमा आममानिसहरूलाई सजिलै मूर्ख बनाइरहेका छन् ।
समावेशिताको कुनै पनि छनक नदेखिने यी १२ वटा बहसका कार्यक्रम हेरिरहँदा कार्यक्रम सञ्चालक १५ जनामध्ये सबै पुरुष देखिन्छन् । जम्मा एक जना आदिवासी जनजाति कार्यक्रम सञ्चालकको रूपमा देखिन्छन् भने दलित, महिला, मधेसी, सीमान्तकृत समुदाय, आदिबाट कसैको पनि उपस्थिति देखिँदैन । बहसका कुनै पनि कार्यक्रमहरू दलित, मधेस, जनजाति वा विपन्न गरिब जनताका मुद्दाका बारेमा भएको पाइँदैन । न त्यहाँ विद्यार्थी वर्गको, बेरोजगार युवाहरूको, महिलाहरूको, शिक्षाको, स्वास्थ्यको, वातावरणको, किसानहरूको, सीमान्तकृत समुदाय आदि कसैको आवाज नै सुन्न पाइन्छ । समसामयिक विषयमाथि कुरा गर्ने भनिरहँदा वातावरण तथा पर्यावरण, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, बेरोजगारी, भ्रष्टाचार, गरिबी आदि वा कुनै पनि प्रकारको हिंसाबारे उनीहरूको कार्यक्रममा विषय बनेको पाइँदैन । पढ्नुस् शिलापत्र डट कममा सौरभ कार्कीको लेख ।