सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार फुलमान वललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले वललाई महाप्रबन्धक नियुक्त गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धक नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो ।
निवर्तमान महाप्रबन्धक गोविन्द रोकाको पदावधि सकिएपछि रिक्त स्थानमा वललाई चार वर्षका लागि नियुक्त गरिएको हो । उनी खुलाप्रतिस्पर्धाबाट महाप्रबन्धक भएका हुन्।
काभ्रेको तेमाल गाउँपालिका- १ निवासी ४१ वर्षीय वल कान्तिपुर दैनिकको वरिष्ठ उपसम्पादक थिए । त्यसअघि उनले चेष्टा र जनप्रतिष्ठा साप्ताहिकमा काम गरेका थिए ।
सामूदायिक रेडियो प्रसारक संघका पूर्वउपाध्यक्ष वल रेडियो नमोबुद्धका संस्थापक हुन् ।
नवनियुक्त महाप्रबन्धक वल पत्रकारिता सँगै साहित्य र कला क्षेत्रमा पनि परिचित छन् । उनले ‘काजोल खातुन’ कथा संग्रह, ‘महाभारतकी मैच्याङ’ कविता संग्रह, ‘सोनाम ग्याल्मो’ र ‘मेन्दोमाया’ नाटक लेखेका छन् ।
वलको लेखन र निर्देशन रहेको ‘सेलफोन’ छोटो फिल्मले स्वदेश तथा विदेशमा थुप्रै अवार्ड जितेको छ । उनको लेखन तथा निर्देशनमा ‘निरफुल’ फिचर फिल्म निर्माण भएको छ ।