के नेपाल टेलिभिजनले वरिष्ठ पत्रकार किशोर नेपालको अन्तर्वार्ता नबजाएको हो? विवाद र वास्तविकता

के नेपाल टेलिभिजनले वरिष्ठ पत्रकार किशोर नेपालको अन्तर्वार्ता नबजाएको हो? विवाद र वास्तविकता

  • फाल्गुण १५, २०८१ बिहीबार १८:४३

स्पष्ट सञ्चारको अभावमा नेपाल टेलिभिजन र वरिष्ठ पत्रकार किशोर नेपालबीच सामाजिक सञ्जालमा चर्किएको विवाद 


वरिष्ठ पत्रकार किशोर नेपाल र सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन) बीच महेन्द्रनारायण निधिको जन्मजयन्तीसम्बन्धी अन्तर्वार्ता प्रसारणको विषयमा विवाद देखिएको छ ।

विवाद बढ्दै जाँदा दुवै पक्षले एकअर्कालाई दोषारोपण गरेका छन्, जसले समस्याको समाधानभन्दा झन् विवाद बढाएको देखिन्छ । र, अन्तर्वार्ता पूर्व र पश्चात दुई पक्षबीच स्पष्ट सञ्चारको अभाव हुँदा विवाद चर्किएको देखिन्छ ।

आउनुस्, नेपाल टेलिभिजनले लिएको वरिष्ठ पत्रकारको अन्तर्वार्ता र त्यससँग जोडिएको विवादलाई बुझौँ ।   

१. विवादको सुरुआत

मंगलबार राति ११ बजेर ११ मिनेटमा वरिष्ठ पत्रकार किशोर नेपालले सामाजिक सञ्जाल एक्समा लेखे, "डा. महेन्द्रबहादुर बिष्टको नेतृत्वमा गठन भएको सार्वजनिक सेवा प्रसारणको पहिलो शिकार म भएको छु । यस अन्तर्गतको नेपाल टेलिभिजनले स्वर्गवासी नेता महेन्द्रनारायण निधिको १०३ जन्म-जयन्तीका सन्दर्भमा मसँग लिएको अन्तर्वार्ता प्रसारण गरेन ।" 

वरिष्ठ पत्रकार किशोर नेपाल, नेपाल टेलिभिजनका पूर्व अध्यक्ष पनि हुन् । २०५२ सालमै उनी नेपाल टेलिभिजनको अध्यक्ष थिए ।

नेपालको आरोपले तत्काल सामाजिक सञ्जालमा तरङ्गित भयो र धेरैले नेपाल टेलिभिजनको आलोचना गरे । 

नेपालको पोस्ट सेयर गर्दै पत्रकार माधवप्रसाद तिवारीले फेसबुकमा लेखे- 'नेपाल टेलिभिजनले हाम्रो किशोर दाजुप्रति गणतान्त्रिक व्यवहार प्रदर्शन गर्दै सार्वजनिक सेवा प्रसारणको गजबको सन्देश दिएछ । अब रेकर्डेड भजनकीर्तन मात्र प्रशारण गरौँ !'

लगत्तै पत्रकारिताका अध्यापक भानुभक्त आचार्यले पनि सार्वजनिक सेवा प्रसारण संस्थाको निष्पक्षतामाथि प्रश्न उठाउँदै फेसबुकमा लेखे- 'To Whom It May Concern , Is the PSB functioning independently?'

नेपाली पत्रकारिताका प्रभावशाली र पाका नाम किशोर नेपालले सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा. महेन्द्र विष्टको नामको बीचमा [बहादुर] थपेर आरोप लगाउनुले यो प्रकरणमा उनलाई कति भाउन्न भएको रहेछ भन्ने अनुमान लगाउन सकिन्छ । 

२. प्रसारण भयो कि भएन ?

वरिष्ठ पत्रकार नेपाल र नेपाल टेलिभिजनबीचको यो विवादको मुख्य विषय रेकर्ड गरिएको अन्तर्वार्ता प्रसारण भयो कि भएन भन्ने रह्यो । यसमा दुबैका आआफ्ना दाबी छन् । वरिष्ठ पत्रकार किशोर नेपालको दाबी के छ भने आफूलाई ९:२० मा प्रसारण हुने जानकारी दिइएको थियो, तर १० बजेसम्म पर्खिंदा पनि अन्तर्वार्ता प्रसारण भएन । तर नेपाल टेलिभिजनको दाबी भने यसमा फरक छ । 

‘टक टाइम’ नामक अन्तर्वार्ता कार्यक्रमका प्रस्तोता समेत रहेका पत्रकार बबिन शर्मा र अध्यक्ष महेन्द्र विष्टले कार्यक्रम निर्धारित समयमा एनटिभी न्यूज च्यानलमा बेलुका दुईपटक तथा फेसबुक पेजमा प्रसारण भइसकेको बताए ।

बुधबार बिहान १० बजेर ४१ मिनेटमा वरिष्ठ पत्रकार नेपाललाई मेन्सन गर्दै शर्माले लेखे- 'कांग्रेसका दिवंगत नेता महेन्द्रनारायण निधिको जन्मजयन्तीको सन्दर्भमा मैले दाजुसँग NTV का लागि अन्तरवार्ता गरेको र कार्यक्रम मंगलबार साँझ ६:२० र ९:२० मा NTV समाचार च्यानल र फेसबुक पेजमा प्रशारण भइसकेको छ ।'

३. च्यानल सम्बन्धी अस्पष्टता

विवादको अर्को महत्त्वपूर्ण विषय अन्तर्वार्ता बज्ने च्यानल र प्रसारण माध्यमको अस्पष्टता देखिन्छ । वरिष्ठ पत्रकार नेपालका अनुसार उनलाई अन्तर्वार्ताका लागि भनेर नेपाल टेलिभिजनमा बोलाइएको थियो र त्यहीँ प्रसारण हुने अपेक्षा उनले राखेका थिए । उनको भनाई अनुसार नेपाल टेलिभिजन न्युज च्यानलका लागि अन्तर्वार्ता हो भनेर उनलाई पूर्व जानकारी गराइएको थिएन । 

"मैले समाचारका लागि 'बाइट' दिएको होइन, न त फेसबुकमा प्रसारण गर्न नै अन्तर्वार्ता दिएको हो", उनले भने, “म बेलुकी १० बजेसम्म नेपाल टेलिभिजन हेरेर बसेको थिए । ९:२० मा प्रसारण हुन्छ भनिएको कार्यक्रम १० बजेसम्म पनि नआएपछि मैले लेखेँ ।”

नेपाल टेलिभिजनले भने कार्यक्रम एनटिभी न्युज च्यानल र फेसबुकमा प्रसारण गरेको दाबी गरेको छ । “मैले अन्तर्वार्ता रेकर्डेड हो र एनटिभी न्युज च्यानमै बज्ने जानकारी गराएको थिएँ”, शर्माले भने, “सायद मैले स्पष्ट बुझाउन सकिनँ ।” 

नेपाल टेलिभिजनसँग NTV (रेगुलर च्यानल), NTV News (समाचार च्यानल), NTV Plus सहित ५ च्यानल छन् ।  

वरिष्ठ पत्रकार नेपालको दुखेसोपछि सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष विष्टले पनि बिहान १०:३२ मा एक्समा लेखे- “किशाेर दाइ जस्तो हामीले सँधै सम्मान गर्ने व्यक्तिबाट यस्ताे असत्य, भ्रामक र तुच्छ टिप्पणीकाे अपेक्षा थिएन । त्याे अन्तरवार्ता बकाइदासँग दुई पटक सम्बन्धित च्यानलबाट र डिजिटल प्लेटफर्मबाट समेत हिजै गइसकेकाे र विमलेन्द्र निधिसहित धेरैजनाबाट सकारात्मक प्रतिक्रिया आएकाे अनुराेध छ ।”

यी सबै चर्चाका बीच माधव तिवारीले पत्रकार नेपालले कुन च्यानल र कार्यक्रममा अन्तर्वार्ता प्रसारण हुन्छ भन्ने जानकारी नलिँदा मिथ्या सूचना फेलिएको फेसबुकमा लेखे । 

४. प्रसारण समय परिवर्तनको सूचना अभाव

यो विवादलाई बढाउने अर्को कारण समय परिवर्तनको स्पष्ट सूचना नदिनु थियो भन्ने नेपाल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा. विष्टका भनाईबाट स्पष्ट हुन्छ । किशोर नेपालले पछि उल्लेख गरेका छन्- "प्रधानमन्त्री ओलीको पशुपति भ्रमण-समाचार लामो भएकोले ९:२० को निर्धारित कार्यक्रम स्थगित गरिएको जानकारी मलाइ पनि छ ।" 

महेन्द्र विष्टले पनि स्वीकारेका छन्, "News Channel मा news लामो भएर रिपिट कार्यक्रम अलिकति ढिलो हुन पनि सक्छ ।" सम्भवतः यस्तो परिवर्तनको जानकारी समयमै किशोर नेपाललाई दिइएको भए विवाद टर्न सक्थ्यो । तर त्यसो हुन सकेन ।

बरु, अध्यक्ष विष्टको स्पष्टीकरणलाई नेपालले ‘भ्रामक’ र ‘असत्य’ भनिदिए । “मलाई दिइएको प्रसारणको निर्धारित समय ९:२० साँझ कार्यक्रम प्रसारण भएन । अब त्यो न्यूजमा गयो कि फेसबुकमा ? मलाई के थाह !”, नेपालले लेखे, “राष्ट्रिय टेलिभिजनले निर्धारित समय समेत धान्न सक्दैन भने यो मेरो दोष होइन । मैले न्यूजका लागि ‘बाइट’ दिएको होइन, न त फेसबुकमा प्रसारणगर्न अन्तर्वार्ता नै दिएको हो । यस बारे कसैमा भ्रम नरहोस ।” 

५. प्रसारण भएको पुष्टि र निष्कर्षहीन विवाद

अन्तर्वार्ता प्रसारण भएनभएको विवाद चलिरहँदा तेस्रो पक्ष पनि आइपुग्यो । महेन्द्रनारायण निधिका छोरा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एक्समै लेखे, "महेन्द्र नारायण निधिबारे हिजो फाल्गुन १३ गते राती ८:५० बजेको Talk Time मा किशोर नेपालसँग बविन शर्माले लिएको अन्तर्वार्ताको प्रशारण हामीले सपरिवार आफ्नो टिभी स्क्रिनमा हेर्‍यौँ । साह्रै खुसी लाग्यो। किशोर नेपाल, बविन शर्मा, महेन्द्र विष्ट र NTV का पुरै टिमलाई धेरै धेरै धन्यवाद छ !!!” 

निधिको प्रतिक्रियाले कार्यक्रम प्रसारण भएको पुष्टि त गर्‍यो तर निर्धारित समय (९:२०) भन्दा अलग समयमा (८:५०) । 

अध्यक्ष विष्टले अन्तर्वार्ताका सम्बन्धमा ‘विमलेन्द्र निधिसहित धेरैजनाबाट सकारात्मक प्रतिक्रिया आएकाे’ लेखे पनि नेपालले यसको ‘कुनै अर्थ नभएको’ उल्लेख गरेका छन् । 

“देखाउँदै नदेखाएको कार्यक्रममा के को प्रतिक्रिया ? कस्तो प्रतिक्रिया ? प्रधानमन्त्री ओलीको पशुपति भ्रमण-समाचार लामो भएकोले ९:२० को निर्धारित कार्यक्रम स्थगित गरिएको जानकारी मलाइ पनि छ”, नेपालले लेखे । 

विवाद मूलतः स्पष्ट सञ्चार अभावका कारण उत्पन्न भएको देखिन्छ । प्रसारण च्यानल, समय र माध्यमबारे स्पष्ट जानकारी आदानप्रदान नहुँदा असमझदारी विवादमा परिणत भएको देखिन्छ । 

यद्यपि, दुवै पक्षले आपसी गलतफहमीको समाधान र स्वीकारोक्ति गरेको भने देखिएन । 

सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा. विष्टले अन्तिमपटक 'सबै कुरा रेकर्डमा भएकोले आफ्नो भन्नु केही नभएको' लेखेका छन् ।  

यता वरिष्ठ पत्रकार नेपालले भने 'नेपाल टेलिभिजनले धर्म छोडेको' बताएका छन् । 'साँझ ९ः३० मा प्रसारण हुने भनेपछि त्यही समयमा प्रसारण हुनुपर्दछ', उनले लेखेका छन्, 'टेलिभिजन पत्रकारिताले समयको मर्यादा राख्नसकेन भने त्यसको साख रहँदैन ।'


Related Story

त्यो ‘ह्वाट्स द फ्लप’, यो ‘इट्स माई शो’ !

महिलाद्वेषी अभिव्यक्ति र प्रस्तुतिबारे प्रेस काउन्सिलको प्रश्न तर कान्तिपुर टिभीको मौनता वर्षदिनअघि महिलाको स्वभिमानप्रति सम्वेदनशील रहेको दाबीसहित प्रसारण भइसकेको कार्यक्रम हटाएको

टेलिभिजनमा आलाकार्ट मूल्य प्रणाली लागू, दर्शकका लागि यसको अर्थ के हो?

सरकारले टेलिभिजन प्रसारणमा आलाकार्ट (à la carte) मूल्य प्रणाली लागू गरेको छ । सूचना तथा प्रसारण विभागले आइतबार पत्रकार सम्मेलन

पत्रकारिताका सिकारुदेखि अनुभवीसम्मलाई अलपत्र पारेको टेलिभिजन

प्रसारण भएको एक वर्ष नपुग्दै बन्द भएको टिभी पहिलेका पत्रकार कर्मचारीको बक्यौता रकम नतिर्दै पुनः सञ्चालनको तयारीमा स्नातक तह पहिलो वर्षमा

जाँदाजाँदै दिलभुषणले भने- 'कान्तिपुर टेलिभिजनमा पेशागत मर्यादाविपरीतका गतिविधि'

पत्रकार दिलभुषण पाठकले कान्तिपुर टेलिभिजनमा व्यक्ति केन्द्रित स्वार्थ र पेशागत मर्यादाविपरीतका गतिविधि बढ्दै गएको जिकिर गरेका छन् । हालै कान्तिपुर टेलिभजनको

कान्तिपुर टिभीमा हेरफेर : दिलभुषणको राजीनामा, विजय पौडेल प्रधान सम्पादक, रुपेश सम्पादक

कान्तिपुर टेलिभिजनमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ । प्रधान सम्पादक दिलभुषण पाठकले राजीनामा दिएका छन् । पाठकको बिदाईसँगै प्रधान सम्पादकमा

टेलिभिजनको बहुआयामिक पक्ष

दधिराम खतिवडा - टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री हो, जसलाई दूरदर्शन यन्त्र पनि भन्ने गरिन्छ । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको

टीभीका प्राइम टाइममा देखाइने यी टक शाेहरूले हामीलाई के सिकाउँछन् ?

सौरभ कार्की - प्राचीन रोममा शासकहरू ठूलाठूला कलोसियमहरू निर्माण गर्ने गर्दथे । ती कलोसियम अर्थात् स्टेडियमहरूमा, शासकहरूले आमजनतालाई बोलाउँथे । त्यहाँ मानिसहरूबीच

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल

सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार फुलमान वललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले वललाई महाप्रबन्धक नियुक्त गरेको सरकारका