पत्रकारिताका सिकारुदेखि अनुभवीसम्मलाई अलपत्र पारेको टेलिभिजन

पत्रकारिताका सिकारुदेखि अनुभवीसम्मलाई अलपत्र पारेको टेलिभिजन

अर्थन्यूज प्रसारण हुँदाको पोस्टर । फोटो साभारः अर्थन्यूजको फेसबुक ।
  • पौष २९, २०८० आइतबार २३:१७

प्रसारण भएको एक वर्ष नपुग्दै बन्द भएको टिभी पहिलेका पत्रकार कर्मचारीको बक्यौता रकम नतिर्दै पुनः सञ्चालनको तयारीमा


स्नातक तह पहिलो वर्षमा आमसञ्चार तथा पत्रकारिता पढ्दै गरेकी प्रियंका हमाल अर्थन्यूज टिभीको २१ दिने टेलिभिजन पत्रकारिता तालिममा सहभागी भइन् । तालिम पश्चात उनलाई उक्त टिभीमा काम गर्ने अवसर पनि मिल्यो । २०७९ भदौमा औपचारिक सञ्चालन हुनुअगावै उनी २०७८ पुष १७ गतेदेखि रिपोर्टरका रूपमा अर्थन्यूजमा आवद्ध भइसकेकी थिइन ।

अर्थन्यूजले कर्मचारीहरूलाई तलब दिन नसकेपछि २०८० असार ८ गतेबाट टिभी बन्द भयो । टिभी सुरु हुनुअघिदेखि बन्द नहुँदासम्म साथ दिएकी प्रियंकाले तलब नपाएको ६ महिना भयो ।

टिभी बन्द हुने बेला व्यवस्थापनले हरेक पत्रकार कर्मचारीलाई उनीहरूले पाउने रकमको वक्यौता हिसाब गरेर अङ्क सुनाइएको प्रियंका बताउँछिन् । अर्थन्यूज टिभी उपकार मिडिया ग्रुपद्वारा सञ्चालित टेलिभिजन हो ।

“कार्यकारी निर्देशक कमल शाहले एक महिनाभित्र सबैको पैसा दिने भन्नुभएको थियो”, प्रियंका भन्छिन, ‘असार मसान्तसम्म सबै दिने भन्नुभएको हो तर पुस सकिन लाग्दा पनि मैले बाँकी पैसा पाएको छैन ।“ तालिम लिएर सिप सिकेर काम गरेको संस्था भन्दैमा आफ्नो श्रमको मूल्य छोड्न उनीजस्ता पत्रकारहरू तयार छैनन् । “श्रम गरेको मूल्य दिनपर्छ”, प्रियंका भन्छिन्, “व्यवस्थापन चुप लागेर बस्न भएन ।“

टिभीको नेतृत्वदायी भूमिकामा रहेकाहरूले मतलब नगर्दा सङ्कटको अवस्था आएको उनको बुझाई छ । “पहिलो पटक हो काम गरेको, हामीलाई थाहा हुँदैन नि काम गरेको मिडिया बन्द भयो वा हामीले काम गरेको पैसा दिएन भने के गर्ने भनेर”, उनी भन्छिन्, “सिनियरहरू जो नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो, उहाँहरूबाट पहलको अपेक्षा गरेका थियौँ तर त्यस्तो हुन सकेन ।“

अर्थन्यूजमा कार्यरत निर्जला राईले पनि तलब पाएकी छैनन् । क्यामेरापर्सनको रूपमा अर्थन्यूजमा आवद्ध भएकी निर्जलाले पनि प्रियंका जस्तै तालिम लिएर काम गर्ने अवसर पाएकी थिइन् । निर्जलाले तलब नपाएपछि २-३ पटक कमल शाहलाई सम्पर्क गरेकी थिइन् । “टिभी बन्द भएको एक महिनाभित्र सबै पैसा दिन्छु भन्नु भएको थियो”, उनी  भन्छिन्, “अहिले पैसा छैन, भएपछि थोरै भए पनि हालिदिन्छु भन्नुभयो ।“

अर्थन्यूजमा तलब नपाएको भर्खर पत्रकारिता पेशाका नवप्रवेशी प्रियंका र निर्जलाले मात्रै होइन । अर्थन्यूज सञ्चालन हुँदा कार्यरत पत्रकार प्रशन्न ढुङ्गानाका अनुसार १०० जनाजति पत्रकार कर्मचारीले तलब पाउँन बाँकी छ । ढुङ्गानाका अनुसार प्रत्येकको २५ हजारदेखि १० लाखसम्म गरेर १ करोडभन्दा बढी रकम बक्यौता छ ।

“जसले बोल्छ, आन्दोलन गर्छ उनीहरूले अलिअलि पैसा पाएका छन्”, ढुङ्गाना भन्छन्, “लाखौँमा पैसा लिन बाँकी छ हजारमा दिएका छन् ।“ सामाजिक सञ्जालमा विरोध र कार्यलयमै गएर धर्ना बसेपछि उनले पनि केही पैसा उठाए ।

सञ्चालकले ६ महिनाभित्र बक्यौता पैसा तिर्ने प्रतिबद्धता जनाए पनि तलब नपाएका पत्रकारहरूले त्यसको स्पष्ट आधार खोजिरहेका छन् ।

पीडित पत्रकार कर्मचारीहरूबीच एकता नहुँदा श्रमजीवीहरूको मुद्दा अलपत्र परेको उनी स्वीकार्छन् । “एक एक जना गएर भन्दैमा पैसा आउँदैन । एकजुट भयौँ भने हाम्रो आवाज सुनिन्छ”, उनी भन्छन्, “हामी अरूको कुरा धेरै बोल्छौँ, तर आफूमाथि भएको अन्यायका बारेमा मौन बस्ने समस्या पत्रकारहरूमा छ ।“

आन्दोलनदेखि कानुनी उपचारसम्म अलपत्र

तलब नपाएपछि पत्रकारहरूले आन्दोलन नगरेका पनि होइनन् । तर आन्दोलन बीचमै छिन्नभिन्नजस्तो भयो ।

पत्रकारहरूले श्रमजीवी पत्रकार ऐनअनुसार बाँकी पारिश्रमिक प्राप्तिका लागि सूचना तथा प्रसारण विभागमा उजुरी पनि दिएका हुन् । तर त्यसको पनि पत्रकारहरूले नियमित फलोअप हुन सकेन ।

“हामीहरूले सूचना विभागमा उजूरी पनि दिएका थियौँ र विभागले अर्थन्यूजलाई पत्र पनि पठाएको थियो”, पत्रकार ढुङ्गाना भन्छन्, “हामीले फलोअप गरिरहन सकेनौँ ।“

गत भदौमा अर्थन्यूज कार्यलयमा पत्रकार कर्मचारीहरूले चरणवद्ध आन्दोलन गरेका थिए । श्रमजीवी पत्रकार संघ र अर्थन्यूज ले व्यवस्थापन समक्ष ५ बुँदे माग राखेर टेलिभिजनको गेटमा ताल्चा लगाएको थियो ।

dharna earthnews tv.jpg

पाँच बुँदे माग राखेर अर्थन्यूज टिभीको गेटमा ताला लगाउँदै पत्रकार कर्चारी । 


टेलिभिजनमा देखिएको श्रम समस्या समाधानका लागि श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी अर्थन्यूजका मुख्य लगानीकर्ता समेत रहेका शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष केदार शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) कार्यालयमा भेटेका थिए । सिआईबीका एकजना प्रहरी उपरीक्षकको निगरानीमा उनीसँग छलफल भएको जैसी बताउँछन् ।

“म भित्र छु । सबै कमलजीले मिलाउनुहुन्छ”, केदार शर्माले यति भनेपछि आन्दोलनकारीले कार्यकारी निर्देशक कमल शाहलाई अल्टिमेटम दिए । “अल्टिमेटमसम्म पैसा दिनुभएन”, जैसी भन्छन्, “कर्मचारीले तलब नपाएपछि हामीले कार्यालयमा ताल्चा लगायौँ ।“ अलिअलि पैसा दिन थालेको र ६ महिनाभित्र दिने भनेकोले प्रभावितहरूको सल्लाहमा तत्काललाई दोस्रो चरणको आन्दोलन स्थगित गरिएको जैसी बताउँछन् ।

एक वर्ष नपुग्दै बन्द, पुनः सञ्चालनको तयारी

सञ्चालन भएको एक वर्ष नपुग्दै अर्थन्यूज टिभी बन्द भयो । अर्थन्यूजमा शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष केदार शर्माको मुख्य लगानी रहेको थियो। १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोपमा उनलाई सिआईबीले भारतबाट पक्राउ गरेको थियो । उनी अहिले थुनामा छन् ।

कर्मचारीलाई तलब दिन नसकेपछि २०८० असार ८ गते बन्द भएको अर्थन्यूज टिभी पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ । अर्थन्यूजको फेसबुक पेजमा न्युज रिपोर्टहरू प्रकाशित भैरहेको छ ।

कार्यकारी निर्देशक शाह भन्छन्- बिस्तारै सबैको पैसा दिन्छौँ

अर्थन्यूज टिभीका कार्यकारी निर्देशक कमल शाहले टेलिभिजन पुनः सञ्चालन गर्न लागिएको बताए । “आर्थिक सङ्कटको कारणले टिभी बन्द गर्नुपरेको हो, पुनः सञ्चालन गर्ने कोसिस गरिरहेका छौँ”, निर्देशक शाह भन्छन्, “हामीले पैसा नदिने भनेका छैनौँ, टिभी सञ्चालन हुन दिनुपर्‍यो । सञ्चालनमा आएपछि बिस्तारै हामी सबैको पैसा दिन्छौँ ।“

समग्र मिडियाको अवस्था नाजुक रहेको तर्क गर्दै उनले आफूहरूले थोरैथोरै भए पनि रकम दिइरहेको बताए । “मिडियाहरू भटाभट बन्द भइरहेका छन् । धेरै पैसा भएर मोजमस्ती गरेको होइन, हामी आफैँ पनि पीडित छौँ”, शाहले भने, “सबैको सहयोग चाहियो।”


Related Story

के नेपाल टेलिभिजनले वरिष्ठ पत्रकार किशोर नेपालको अन्तर्वार्ता नबजाएको हो? विवाद र वास्तविकता

स्पष्ट सञ्चारको अभावमा नेपाल टेलिभिजन र वरिष्ठ पत्रकार किशोर नेपालबीच सामाजिक सञ्जालमा चर्किएको विवाद वरिष्ठ पत्रकार किशोर नेपाल र सार्वजनिक सेवा

त्यो ‘ह्वाट्स द फ्लप’, यो ‘इट्स माई शो’ !

महिलाद्वेषी अभिव्यक्ति र प्रस्तुतिबारे प्रेस काउन्सिलको प्रश्न तर कान्तिपुर टिभीको मौनता वर्षदिनअघि महिलाको स्वभिमानप्रति सम्वेदनशील रहेको दाबीसहित प्रसारण भइसकेको कार्यक्रम हटाएको

टेलिभिजनमा आलाकार्ट मूल्य प्रणाली लागू, दर्शकका लागि यसको अर्थ के हो?

सरकारले टेलिभिजन प्रसारणमा आलाकार्ट (à la carte) मूल्य प्रणाली लागू गरेको छ । सूचना तथा प्रसारण विभागले आइतबार पत्रकार सम्मेलन

जाँदाजाँदै दिलभुषणले भने- 'कान्तिपुर टेलिभिजनमा पेशागत मर्यादाविपरीतका गतिविधि'

पत्रकार दिलभुषण पाठकले कान्तिपुर टेलिभिजनमा व्यक्ति केन्द्रित स्वार्थ र पेशागत मर्यादाविपरीतका गतिविधि बढ्दै गएको जिकिर गरेका छन् । हालै कान्तिपुर टेलिभजनको

कान्तिपुर टिभीमा हेरफेर : दिलभुषणको राजीनामा, विजय पौडेल प्रधान सम्पादक, रुपेश सम्पादक

कान्तिपुर टेलिभिजनमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ । प्रधान सम्पादक दिलभुषण पाठकले राजीनामा दिएका छन् । पाठकको बिदाईसँगै प्रधान सम्पादकमा

टेलिभिजनको बहुआयामिक पक्ष

दधिराम खतिवडा - टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री हो, जसलाई दूरदर्शन यन्त्र पनि भन्ने गरिन्छ । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको

टीभीका प्राइम टाइममा देखाइने यी टक शाेहरूले हामीलाई के सिकाउँछन् ?

सौरभ कार्की - प्राचीन रोममा शासकहरू ठूलाठूला कलोसियमहरू निर्माण गर्ने गर्दथे । ती कलोसियम अर्थात् स्टेडियमहरूमा, शासकहरूले आमजनतालाई बोलाउँथे । त्यहाँ मानिसहरूबीच

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल

सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार फुलमान वललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले वललाई महाप्रबन्धक नियुक्त गरेको सरकारका