निर्मलमणि अधिकारी-
मिडिया उद्योगले आफ्नो व्यवसाय सुसञ्चालनका लागि अन्य उद्योगहरूसँग पनि सहकार्य गर्नुपर्ने हुन्छ। विज्ञापन, जनसम्पर्क, व्यावसायिक अनुसन्धान, मनोरञ्जन, वितरणलगायतका अनेकौँ क्षेत्रसँगको व्यावसायिक अन्तरसम्बन्धले मिडिया उद्योगलाई सफल बनाउने हो। मिडिया उद्योगको व्यवसायलाई सहयोग पु-याउने हुनाले त्यस्ता क्षेत्रलाई सहयोगी प्रणालीका रूपमा लिइन्छ। सहयोगी प्रणालीले मिडियाको सञ्चालन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् र मिडिया पनि त्यस्ता प्रणालीको स्थापना, सञ्चालन एवं व्यावसायिक गतिविधिमा प्रत्यक्षतः जोडिएका हुन्छन्। यसरी मिडिया र सहयोगी प्रणालीहरू परिपूरकका रूपमा रहेका हुन्छन्।
मिडियाका सहयोगी प्रणालीमध्ये विज्ञापन उद्योग एक हो। विज्ञापन भन्नाले कुनै वस्तु, सेवा आदिको प्रवद्र्धन गर्ने उद्देश्यले आमसञ्चार माध्यममार्फत वा अन्य कुनै माध्यमको प्रयोग गरेर सन्देश वा सूचना सम्प्रेषण गर्ने कार्य हो। विज्ञापन सन्देशको उत्पादन एवं प्रचार (प्रदर्शन, प्रकाशन वा प्रसारण) एक स्थापित व्यवसाय हो र यो धेरै ठूलो आर्थिक कारोबार हुने उद्योग हो। एक उद्योगका रूपमा यसमा विज्ञापन एजेन्सी, विज्ञापनदाता तथा अन्य पक्षहरू कारोबारी सहकार्य गरिरहेका हुन्छन्। विज्ञापनका लागि उपलब्ध साधन वा माध्यम अनेकौँ छन् जसमध्ये आमसञ्चार माध्यम÷मिडिया उद्योगको ठूलो भूमिका रहेको हुन्छ। मिडिया उद्योग र विज्ञापन उद्योगको सहकार्यबाट दुइटै पक्ष लाभान्वित हुन्छन्।
विज्ञापन सन्देशको प्रचार विभिन्न तरिकाले गर्न सकिने भए पनि आमसञ्चार माध्यममार्फत हुने विज्ञापन धेरै ठूलो जनसमुदायसम्म पुग्ने हुनाले विज्ञापनदाता विज्ञापनका लागि आमसञ्चार माध्यमको प्रयोग गर्न चाहन्छन्। उनीहरूका विज्ञापन प्रचार गरिदिएबापत आर्थिक आय हुने हुनाले आमसञ्चार माध्यमका सञ्चालकहरू विज्ञापनका लागि आफ्नो मिडियामा स्थान वा समय दिन सदैव तत्पर रहन्छन्। विज्ञापन र मिडिया आजको दिनमा एक–अर्काका परिपूरक बनेका छन्। मिडियाले विज्ञापनका लागि माध्यम बनिदिएको छ। विज्ञापन सामग्रीको उत्पादन र सो विज्ञापन सामग्री प्रकाशन वा प्रसारण गर्नका लागि मिडियासँग स्थान वा समय मिलाउन थुप्रै विज्ञापन एजेन्सी कार्यरत छन्। त्यस्तै, विज्ञापन प्रकाशन वा प्रसारण गरेरै मिडियाले आफ्नो कमाइको मुख्य अंश आर्जन गरिरहेका छन्।
विज्ञापन नहुने हो भने मिडियाको यति धेरै विकास हुन सक्ने थिएन। विज्ञापन उद्योगले आमसञ्चार माध्यमका लागि आर्थिक आयस्रोत जुटाइदिएकाले मिडिया उद्योगका लागि यो अपरिहार्य बनेको छ। उता, मिडिया र विज्ञापनदाताबीच सेतु बनेर विज्ञापन उद्योगले पनि ठूलो आर्थिक कारोबार गरिरहेको छ। अनि विज्ञापनदाता पनि यसबाट लाभान्वित भएकै छन्। कुनै उद्योगीले आफ्नो उत्पादन बजारमा ल्याएर मात्र पुग्दैन, त्यसका बारेमा जनतालाई जानकारी पनि दिनैपर्छ। नत्र यस्तो उत्पादन बजारमा छ भन्ने थाहा नपाई उनीहरूले किनून् कसरी ! अनि, विज्ञापनमूलक सन्देश जनसमुदायसम्म पुग्नका लागि पनि कुनै न कुनै माध्यम चाहिनेमा त्यसको अवसर मिडियाले प्रदान गरेका छन्।
विज्ञापनका कारण मिडियाका पाठक, श्रोता, दर्शकलाई पनि फाइदा भइरहेको छ। कतिपय अत्यावश्यक सूचना विज्ञापन सन्देशका रूपमा दिइने भएकाले तिनले जनतालाई आवश्यक सूचना प्रदान गरिरहेका हुन्छन्। विज्ञापनका कारणले नै रेडियो तथा टेलिभिजन सेवा निःशुल्क सुन्न तथा हेर्न पाइएको हो। अधिकतर रेडियो र टेलिभिजनले श्रोता वा दर्शकबाट कत्ति पनि रकम पाउँदैनन्, तिनीहरूको आम्दानीको स्रोत विज्ञापन प्रसारण गर्न समय उपलब्ध गराउनु नै हो। विज्ञापन नभएको भए पत्रपत्रिका पनि अहिले जति सस्तोमा पाइने थिएन । पूरा पढ्नुहोस् ।