कान्तिपुर पब्लिकेसन्स लिमिटेडले गैरकानुनी रूपमा अवकाश पत्र दिएका ६८ जना पत्रकारको न्यायका पक्षमा आवाज उठिरहँदा कान्तिपुरस्थित नेपाल पत्रकार महासंघको प्रतिष्ठान शाखाले भने ‘कान्तिपुरका बारेमा अनर्गल प्रचार नगर्न’ भनेको छ ।
नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाका अध्यक्ष अनिल गिरीले मंगलबार जारी गरेको ‘ध्यानाकर्षण’ मा भनिएको छ- “कान्तिपुरकर्मीको सरोकारको विषय राखिरहँदा वार्ताको वातावरणलाई ध्यान दिन आग्रह गर्दै यसको टुंगो नलागेसम्म अनर्गल प्रचार र गतिविधि नगरी संयमित भइदिनुहुन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्दछौँ ।’
‘अनर्गल प्रचार र गतिविधि नगरी संयमित भइदिन’ ध्यानाकर्षण गरिए पनि त्यो कसलाई भनिएको हो र के सन्दर्भमा त्यसो भनिएको हो भन्ने उक्त पत्रमा उल्लेख छैन ।
इकान्तिपुरमा प्रकाशित समाचारमा ‘अनर्गल प्रचार र गतिविधि नगरिदिन सरोकारवालाहरूको ध्यानाकर्षण गराएको’ उल्लेख छ । समाचारमा पनि ती सरोकारवालाहरू को हुन् जसलाई ‘अनर्गल प्रचार र गतिविधि नगर्न’ अनुरोध गरिएको हो भन्ने खुलाइएको छैन ।
'सम्वादमार्फत् समस्या समाधान'
ध्यानाकर्षण पत्रमा ‘पछिल्ला दिनमा कान्तिपुर पब्लिकेसन्समा कार्यरत श्रमजीवी पत्रकार र कर्मचारीका समस्या समाधान गर्न नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाले अगुवाई गरिरहेको’ उल्लेख छ ।
“यसबारे शाखाले कान्तिपुर व्यवस्थापनलाई मिति २०८०/०६/१२ गते पत्रसहित १२ बुँदे माग पेस गरिसकेको छ”, ध्यानाकर्षणमा भनिएको छ, “व्यवस्थापन पक्षले ती मागलाई सकारात्मक रूपमा लिएको मौखिक जानकारी आएको र यथाशीघ्र औपचारिक वार्ताका लागि आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ ।”
कान्तिपुरमा के भइरहेको छ ? पढ्नुस्
- दशैँको मुखमा ६८ पत्रकारलाई कान्तिपुरको अवकाश पत्र
- कान्तिपुर व्यवस्थापनलाई गल्ती सच्याउने अवसर, यस्ता छन् पत्रकारका १२ माग
- कान्तिपुर प्रकरणमा पत्रकार महासंघको चेतावनी- 'माग बेवास्ता गरे कडा संघर्ष'
- कान्तिपुरबाट फोटो पत्रकारहरू निकालिएको भन्दै पीजे क्लबको विरोध
- कान्तिपुरको समस्या सुनेपछि सञ्चारमन्त्रीले भनिन्- आवश्यक परे क्याबिनेटमा प्रस्ताव लान्छौँ
- ‘कान्तिपुर’ मा सल्किएको आगो
- पत्रकार महासंघको ठहर- कान्तिपुर व्यवस्थापनका काम ‘कानुनी व्यवस्थाविरोधी’
कान्तिपुर व्यवस्थापन र शाखाबीच हुने सम्वादमार्फत नै सम्पूर्ण कान्तिपुरकर्मीका साझा समस्या समाधान हुनेमा विश्वस्त भएको उक्त पत्रमा उल्लेख छ । “तसर्थ वार्ता प्रक्रियाबारे शुभेच्छुक तथा सरोकारवालाहरूको चासो हुनु स्वाभाविक नै हो”, पत्रमा भनिएको छ, “तर कान्तिपुरकर्मीको सरोकारको विषय राखिरहँदा वार्ताको वातावरणलाई ध्यान दिन आग्रह गर्दै यसको टुंगो नलागेसम्म अनर्गल प्रचार र गतिविधि नगरी संयमित भइदिनुहुन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्दछौँ ।”
ध्यानाकर्षण पत्रको सङ्केत र सन्देश नबुझेपछि हामीले नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाका अध्यक्ष अनिल गिरीलाई सोध्यौँ- तपाईँले के भन्नुभएको हो ? कसलाई भन्नुभएको हो ?
गिरीले कान्तिपुर प्रतिष्ठान शाखाको अगुवाईमा १२ बुँदे माग व्यवस्थापनसमक्ष राखेर वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेका बेला कान्तिपुर मिडिया हाउस,यसको व्यवस्थापन, पत्रकार महासंघ प्रतिष्ठान शाखा र आफूविरुद्धसमेत अनावश्यक आरोप लगाइएकाले ध्यानाकर्षण गराएको बताए ।
"पत्रकारिताभन्दा बाहिरका तत्त्वहरूले हाम्राबारे अनर्गल प्रचार गरिरहेका छन्", गिरीले भने, "हामी व्यवस्थापनसँग वार्तामा छौँ । तर स्वार्थ समूह उचालेर वार्ताको वातावारण बिगार्न खोजिएको छ । यसलाई भन्न खोजिएको हो ।"
सोमबार नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघको संयुक्त टोलीले सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर कान्तिपुर लगायतका सञ्चार माध्यममा देखिएको श्रम समस्या समाधान तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि लागि दबाब दिएको थियो ।
उक्त कार्यक्रममा मन्त्री शर्माले सञ्चारमाध्यमहरूमा देखिएको श्रम समस्या समाधानका लागि मन्त्रालयस्तरबाट प्रयास गर्ने र सम्भव नभएका कुरा मन्त्रिपरिषदमा लैजाने प्रतिबद्धता जनाएकी थिइन् । आइतबार नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरी कान्तिपुरलाई यथशीघ्र समस्या समाधान गर्न सचेत गराएको थियो । श्रमजीवी पत्रकार संघले पनि आइतबार अपील जारी गरी गैरकानुनी ढंगले पत्रकार निष्कासन गर्ने कान्तिपुरमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलनको आह्वान गरेको थियो ।
के महासंघको कान्तिपुर प्रतिष्ठान शाखाले यी गतिविधिहरूलाई अनर्गल प्रचार भनेको हो ? अध्यक्ष गिरी महासंघ र श्रमजीवी पत्रकार संघले कान्तिपुरका पत्रकारहरूको मागबमोजिम मन्त्रीसँग भेट गरेकोले उनीहरूलाई इङ्गित नगरिएको बताउँछन् । "हाम्रा मागमा समर्थन जनाउनेहरू प्रति हामी आभारी छौँ, उहाँहरू [नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघ] ले हाम्रा माग राख्नुभएको छ, उहाँहरूलाई भनेका होइनौँ", उनी भन्छन्, "मिडिया र पत्रकारिताभन्दा बाहिरका व्यक्ति तथा संस्थाहरू जसको चासो आवश्यक छैन, उनीहरूले अनर्गल प्रचार गरेका छन्, अफबाह फैलाएका छन् ।"
उता बिना छलफल ध्यानाकर्षणका नाममा विज्ञप्ति निकालेको भन्दै कान्तिपुरका पत्रकारहरूले विरोध गरेका छन् । काठमान्डू पोस्टका पत्रकार टिकाराम प्रधानका अनुसार आन्तरिक रूपमा छलफल नै नगरी उक्त पत्र निकालिएपछि आन्तरिक फेसबुक ग्रुपमा पत्रकारहरूले विरोध गरेका छन् । "छलफलबिना विज्ञप्ति निकाल्ने अधिकार उहाँलाई छैन भन्नेमा कान्तिपुरकर्मीहरू एक छौँ', उनी भन्छन्, "हाम्रो फेसबुक ग्रुपमा यसबारे धेरै साथीहरूले विरोध पनि गर्नुभएको छ, यसको जवाफ उहाँले दिनुपर्छ ।”
कान्तिपुरका कतिपय पत्रकारहरू पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखा पत्रकारहरूका समस्या भन्दा पनि व्यवस्थापनको सुविधा अनुकूल चलेको आरोप लगाउँछन् । "हामीले माग त पेश गरेका छौँ तर ती माग पूरा गराउन कत्तिको दह्रो खुट्टा टेक्छौँ भन्नेमा शंका छ", कान्तिपुरका पत्रकार भन्छन्, "अहिलेसम्मको अवस्था हेर्दा पत्रकार/कर्मचारीको श्रम अधिकारको सन्दर्भमा कान्तिपुरको पत्रकार महासंघ शाखा निष्कृयजस्तो थियो । अहिले अन्तिम परीक्षाको घडी हो । अहिले पनि खुट्टा कमाएमा महासंघ केन्द्रले हस्तक्षेप गर्नुपर्ने हुन्छ ।"
तर व्यवस्थापनसमक्ष मागहरू राखेर वार्ताको प्रयास भइरहेका बेला आफूलाई व्यवस्थापनको स्वार्थमा चलेको आरोप लागेपछि गिरीले विज्ञप्ति निकालेको कान्तिपुरकै अर्का पत्रकारको भनाई छ ।