इन्टरनेटमार्फत् बालबालिकाहरूमाथि हुने विभिन्न यौन दुर्व्यहारका घटनाहरूले उनीहरूको जीवनमा गम्भीर असरहरू पर्ने गरेको एक अध्ययनले देखाएको छ । बालबालिका अधिकारको क्षेत्रमा कार्यरत गैह्र सरकारी संस्था सिविनले गरेको अध्ययनले अनलाइन यौन शोषणका घटनाहरू कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म विस्तार भएको देखाएको हो ।
यसरी यौन शोषणमा पर्नेहरूमा बालिका/किशोरी भन्दा झण्डै दोब्बर संख्यामा बालक/किशोरहरू रहेको तथ्यहरूले देखाएका छन्। शिविनले भनेको छ- “यस परिप्रेक्ष्यमा बालिका/किशोरी मात्र हैन बालक/किशोर र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बालबालिकाको अनलाइन सुरक्षाका लागि सोच्ने र केही गरिहाल्नु पर्ने बेला भएको छ ।“
अध्ययनले थुप्रै बालबालिकालाई अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न वाध्य गरेको छ र उनीहरूको दैनिक जीवनमा समेत असर परेको देखाएको छ । उनीहरू मध्ये थोरैले मात्र आवश्यक परामर्श सेवा खोजेका र पाएका छन्। धेरै जना त मनोसामाजिक परामर्शबारे जानकार समेत छैनन् ।
सिविन–नेपालद्वारा २०२० मा गरिएको नेपालमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी अध्ययनबाट प्राप्त केही महत्त्वपूर्ण तथ्यहरू
१. पृष्ठभूमि
जनवरी २०२० को तथ्यांक अनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताहरू देशको कुल जनसंख्या २ करोड ८८ लाख ७ हजार मध्ये १ करोड २१ लाख अर्थात् ३५ प्रतिशत नेपालीहरू इन्टरनेट प्रयोगकर्ताहरू छन् । यसैगरी झण्डै एक करोड मानिसहरू सामाजिक सञ्चाल प्रयोगकर्ताहरू रहेका छन् ।
यसरी इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्नेहरूमा बालबालिका तथा किशोर किशोरीहरूको संख्या उल्लेख्य रहेको छ । यसमा पनि विश्वव्यापी महामारी कोभिड–१९ सिर्जित लकडाउनको यस अवधिमा त बालबालिकाको इन्टरनेट प्रयोग ह्वात्तै बढेर गएको पाइएको छ ।
इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगबाट बालबालिका तथा किशोर किशोरीहरूमा परेको प्रभावका बारेमा सिविन–नेपालले सन् २००८ मा नेपालमा पहिलो पटक नेपाली बालबालिकाको इन्टरनेट व्यवहार र जोखिमसम्बन्धी अध्ययन गरेको थियो । यस अध्ययनले नेपालमा प्रवेश गरेको इन्टरनेट सेवाबाट बालबालिकामा परेको नकारात्मक असरहरूलाई प्रकाशमा ल्याएपछि बालबालिकाको अनलाइन संरक्षणकोसवाल चर्चाको विषय बनेको थियो । यसक्रममा यस अध्ययनले अनलाइनबाट बालबालिकाहरू यौन शोषणमा समेत परिरहेको तथ्य सार्वजनिक गरिसकेपछि सिविन–नेपालले सञ्चालन गरेको संचेतना तथा प्रस्तुत गरेका सुझावहरूका आधारमा सरकारले बालबालिकाको अनलाइन संरक्षणका सबालमा नीतिगत तथा व्यवहारिक सुधारका कार्यक्रम अगाडि सारेको थियो । वस्तुतः सिविन–नेपालले गरेको सोही अध्ययन पछि अनलाइन संरक्षणको विषयले सबैको ध्यान आकृष्ट गरेको हो र विभिन्न संघसंस्थाहरूले अनलाइन संरक्षणका लागि कार्यक्रमहरू सञ्चालन गर्न थालेका हुन्।
यसरी इन्टरनेट तथा सामाजिक सञ्जालहरूको बालबालिका तथा किशोरकिशोरीहरूमा परिरहेको प्रभावका सन्दर्भमा २००८ पछिको अवस्थाका बारेमा थप अध्ययनको जरुरी परेको परिप्रेक्षमा सन् २०२० मा सिविन–नेपालले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी अध्ययन सम्पन्न गरेको छ । ९ वर्ष देखि १९ वर्ष उमेर समूहका १७१४ जना बालबालिका तथा किशोर किशोरीहरूबीच गरिएको यस अध्ययनबाट रोचक तथा गम्भीर तथ्यहरू सार्वजनिक भएका छन्।
प्राप्त तथ्यहरूलाई तल प्रस्तुत गरिएको छ ।
२. अध्ययनबाट प्राप्त तथ्यहरू
२.१ अनलाइन बालयौन शोषण
-
- अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दवाव झेल्नेहरूमा केटीहरूको तुलनामा केटाहरूकोसंख्या अधिक रहेको पाइएको छ ।
- नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दवाव दिने वा वाध्य पार्नेहरूमा प्रेमी, प्रेमिका, दौतरी, सबैभन्दा नजिकका साथीहरू र कतिपय अवस्थामा अपरिचित व्यक्तिहरू समेत रहेको पाइएकोछ । केही विदेशी मूलका मानिसहरू पनि यस्ता गतिविधिमा संलग्न भइरहेकोअध्ययनले देखाएको छ ।
- यौन प्रेरित सामग्रीहरू पठाउने माध्यममा प्रेमिका, प्रेमी, दौतरी र सबैभन्दा नजिकको साथीको हकमा अधिकतर सामाजिक नेटवर्किङ साइटहरू र इमेल प्रयोगमा रहेको पाइएको छ भने अपरिचित र विदेशीलाई पठाउने माध्यमका रूपमा सामाजिक नेटवर्किङ साइटहरू, इमेल, अज्ञात लिंक र फोन समेत प्रयोग भएको देखिएको छ ।
- अनलाइनमा ६३.३६ प्रतिशत पुरुष र ३४.३५ प्रतिशत महिलाले प्रत्यक्ष रूपमा क्यामेराको अगाडि नग्न देखिन बालबालिकालाई भनेका थिए । नग्न हुन दवाव दिनेहरूमा आफ्नै साथी, प्रेमिका वा प्रेमी, नातेदार, नजिकका साथी र कतिपय अपरिचितहरू पनि थिए ।
- कुल उत्तरदाताहरू मध्ये, १३७ जना (७.९९ प्रतिशत) उत्तरदाताहरूलाई क्यामेराको अगाडि नग्न देखिन भनिएको थियो। यसरी नग्न बस्न दवाव खेप्ने उत्तरदाताहरूमा ५८ जना (६२ प्रतिशत) केटा, ४७ जना (३४.३१ प्रतिशत) केटी र २ जना (१.४६ प्रतिशत) लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरू रहेका थिए । नग्न देखिन भन्नेहरूमा आफ्नै साथीहरू, सबैभन्दा नजिकका साथीहरू (Best Friends), प्रेमिका, प्रेमी, आफन्त, केही अपरिचितहरू, विदेशीहरू र हेरचाहकर्ताहरू समेत रहेका छन्।
- कुल उत्तरदाता १७१४ जना मध्ये ४५७ जना (२६.६६ प्रतिशत) ले अनलाइनमा अपरिचित व्यक्तिहरूलाई भेटेको पाइएको छ । यसरी अपरिचित व्यक्तिहरूलाई अनलाइन भेट्ने उत्तरदाताहरू मध्ये १६३ जनालाई छुट्टै प्रत्यक्ष भेट्न भनिएकोमा १५४ (३३ प्रतिशत) जनाले भने ती अपरिचित व्यक्तिसँग भेटघाट गरेका थिए । प्रत्यक्ष भेट्न जाने सबैले कुनै न कुनै रूपका यौन शोषणको अनुभव गरेका थिए ।
- कुल उत्तरदाताहरू मध्ये ३४० जना (१९.८३ प्रतिशत) ले अनिच्छित अनलाइन यौन शोषण भोगेको उल्लेख गरेका छन्। यसरी अनलाइन यौन शोषणको सामना गर्ने उत्तरदाताहरूमा केटाको संख्या केटीको तुलनामा अधिक रहेको पाइएको छ, ( ६५.५९ प्रतिशत केटा र ३३.२४ प्रतिशत केटी) ।
- अनलाइन यौन शोषणमा परेका उत्तरदाताहरूमा ठूलोमात्रामा मानसिक असर परेको पाइएको छ । उत्तर दिनेक्रममा कतिपयले आफू मानसिक रूपमा समस्यामा परेको, कतिपयले पढाइमा ध्यान दिन नसकेको र मर्न मन लागेको र कतिपयले लामो समयसम्म दुखी भएको बताएका थिए ।
- यसरी अनलाइन यौन शोषणमा परेका ३४० उत्तरदाताहरू मध्ये ४८ (१४.१२ प्रतिशत) जनाले यस प्रकारको घटना घटेपछि विद्यालय छोडेका थिए । विद्यालय छोडेकाहरू मध्ये १५ जनाले मात्र परामर्श सेवाको खोजी गरेका थिए भने ३४ जनाले आफूहरूलाई दैनिक जीवन व्यवहारमा बाधा परेको बताएका थिए । यी मध्ये ९ जनाले मात्र परामर्श सेवा पाउन सकेका थिए ।
- यसरी अनलाइन यौन शोषणको सामना गरेका ३४० जना उत्तरदाताहरू मध्ये २३३ (६८.५३ प्रतिशत) जनाले मात्र परिवार, साथी वा पुलिसलाई खबर गरेका थिए । यसैगरी सामाजिक सञ्जाल तथा सम्पर्क ब्लक गर्ने, आएका कल तथा सन्देशहरूलाई उपेक्षा गर्ने, इन्टरनेटको प्रयोग बन्द गर्ने, सिमकार्ड परिवर्तन गर्ने र सामाजिक सञ्जालमा नयाँ अकाउन्ट खोल्ने कार्य गरेको बताएका थिए ।
- कुल उत्तरदाताहरू मध्ये १०७५ (६२.७१ प्रतिशत) जनालाई अनलाइनमा बाल यौन शोषण गर्नेहरूलाई दण्ड सजाय हुने जानकारी रहेको छ ।
२.२ साइबर बुलिङ
-
- यस अध्ययनका कुल उत्तरदाता मध्ये २५३ (१४.७६ प्रतिशत) जनालेआफूसाइबर बुलिङको शिकार भएको बताएका थिए । उनीहरू मध्ये १७५ (१०.२१ प्रतिशत) जनाले आफ्नो बाबु आमालाई उनीहरूको इन्टरनेट बानी व्यवहार थाहा भएपछि पनि साइबर बुलिङको सामना गरेका थिए ।
- यस अध्ययनका अनुसार साइबर बुलिङको घटना सबैभन्दा बढी वागमती प्रदेशको काठमाडौं र मकवानपुरमा (२७ प्रतिशत) रहेको पाइएको छ भने दोस्रोमा प्रदेश नं.२ को धनुषा (१८ प्रतिशत) रहेको छ । यसपछि गण्डकी प्रदेशको कास्की र लुम्बिनी प्रदेशको बाँकेमा १३ प्रतिशतका दरले बालबालिका तथा नवयुवाहरू माथि साइबर बुलिङ भएको पाइएको छ ।
- साइबर बुलिङको स्वरुपमा कमजोरीको फाइदा उठाउन खोज्ने, धम्की दिने, आफूलाई अमर्यादित लाग्ने भिडियो पठाउन दवाव दिने, मन नपर्ने फोटो/भिडियो पठाउन भन्ने लगायतका रहेको पाइएको छ ।
२.३ अनलाइन व्यवहार
-
- यस अध्ययनमा संलग्न कुल उत्तरदाताहरू मध्ये ६३.०१ प्रतिशतको सामाजिक नेटवर्किङमा अकाउण्ट रहेकोछ ।
- दैनिक १ देखि २ घण्टा इन्टरनेट प्रयोग गर्ने उत्तरदाताहरू सबैभन्दा बढी (४०.३७ प्रतिशत रहेको पाइएको छ । दैनिक ६ घण्टा भन्दा बढी इन्टरनेट चलाउनको संख्या १३ (०.७६ प्रतिशत) रहेको छ ।
- सामाजिक नेटवर्किङ साइटहरू, गेमिङ र मनोरञ्जनका साइटहरू नै उत्तरदाताहरूले सबैभन्दाबढी रूचाएका इन्टरनेट साइटहरू रहेका छन्।
- यस अध्ययनमा सहभागी उत्तरदाताहरू मध्ये १४८८ (८६.८१ प्रतिशत) जना इन्टरनेट सुरक्षाका बारेमा धेरथोर जानकार रहेको पाइएको छ । उनीहरू मध्ये ३४५(२३.१९ प्रतिशत) जना मात्र पूर्ण रूपमा सचेत रहेको भेटिएको छ ।
- यस अध्ययनमा सहभागी अधिकांश उत्तरदाताहरूले अनायस नै इन्टरनेटमा यौनजन्य सामग्री हेरेको अनुभव उल्लेख गरेका छन्। यसबाहेक अन्य कारणहरूमा यौनजन्य सामग्री हेर्ने चाहना, जिज्ञासा, साथीहरूको दवाव र यस प्रकारको सामग्री हेर्ने लत रहेका छन्। यसरी यौनजन्य सामग्री हेर्नेहरूमा बालिका भन्दा बालकको संख्या अधिक रहेको छ ।
निष्कर्ष
सिविनद्वारा गरिएको नेपालमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी अध्ययनले बालबालिका तथा नवयुवाहरू विरुद्ध हुने अनलाइन यौन शोषणका घटनाहरू कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म विस्तार भएको पुनर्पुष्टि गरेको छ । यसरी यौन शोषणमा पर्नेहरूमा बालिका/किशोरी भन्दा झण्डै दोब्बर संख्यामा बालक/किशोरहरू रहेको तथ्यहरूले देखाएका छन्। यस परिप्रेक्ष्यमा बालिका/किशोरी मात्र हैन बालक/किशोर र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बालबालिकाको अनलाइन सुरक्षाका लागि सोच्ने र केही गरिहाल्नु पर्ने बेला भएको छ ।
प्राप्त तथ्यहरूले हामीलाई रोकथाम तथा संरक्षणका कार्यहरू मात्र होइन बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा पनि सोच्नुपर्ने तर्फ दिशानिर्देश गरेका छन्। यस अध्ययनले थुप्रै बालबालिकालाई अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न वाध्य गरेको छ र उनीहरूको दैनिक जीवनमा समेत असर परेको छ । उनीहरू मध्ये थोरैले मात्र आवश्यक परामर्श सेवा खोजेका र पाएका छन्। धेरै जना त मनोसामाजिक परामर्शबारे जानकार समेत छैनन् । यसका अतिरिक्त अनलाइन शोषण/दुर्व्यवहार एउटा अपराधिक कार्य हो र अपराधीलाई दण्ड सजाय हुन्छ भन्ने बारेमा पनि बालबालिका/किशोरकिशोरी र जनसमुदायलाई सचेत गराउन जरुरी भएको छ । सबैभन्दा पहिले त बालबालिकाहरूलाई इन्टरनेट सुरक्षाका बारेमा सचेत र सशक्त बनाइनु पर्दछ ताकि उनीहरू अनलाइन बाल यौन शोषणको जोखिममा नपरुन् र जोखिममा परेमा आवश्यक सहयोग लिन जागरुक बनुन्।
बालबालिका तथा किशोरकिशोरीहरूलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि एकातिर आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनु पर्दछ भने अर्कोतिर सचेतनाका कार्यलाई पनि उत्तिकै प्राथमिकताका साथ अगाडि लैजानु पर्दछ । यसका लागि सबै सरोकारवालाहरू विशेषगरी राष्ट्रिय बालअधिकार परिषद, नेपाल प्रहरी, नेपाल साइबर व्यूरो जस्ता सरकारी निकायहरू, इन्टरनेट सेवा प्रदायकहरू, अभिभावक, शिक्षक, सरोकारवाला, निजी क्षेत्र, शैक्षिक प्रतिष्ठानहरू, गैसस, अगैसस र मनोचिकित्सकहरूको समन्वयात्मक तथा इमान्दार प्रयास जरुरी रहेको छ ।