कान्तिपुर पब्लिकेसन्स लिमिटेडमा देखिएको श्रम समस्या समाधानका लागि नेपाल पत्रकार महासंघ र कान्तिपुर मिडिया ग्रुपबीच सहमति भएको छ ।
शुक्रबार भएको सहमति अनुसार कान्तिपुरमा कार्यरत सम्पूर्ण पत्रकार तथा कर्मचारीलाई विद्यमान कानुनी व्यवस्थानुसार पारिश्रमिक लगायतका सेवा सुविधा प्रदान गर्न कान्तिपुर तयार भएको छ ।
चार बुँदे सहमतिको पहिलो बुँदामा 'सबै पत्रकार तथा कर्मचारीलाई विद्यमान कानुनी व्यवस्थानुसार पारिश्रमिक लगायतका सेवा सुविधा प्रदान गरिने' उल्लेख छ । यस्तै यसअघि पत्रकार तथा कर्मचारीलाई गरिएको सरुवा, अवकाश, स्पष्टिकरण कान्तिपुरले फिर्ता लिएको छ ।
'त्यहाँ कार्यरत पत्रकारहरुलाई कार्यसम्पादनको वातावरण तयार गरिनेछ', सहमतिको दोस्रो बुँदामा उल्लेख छ, 'प्रतिष्ठानले आवश्यक ठानेमा पत्रकार तथा कर्मचारी कटौती विद्यमान कानुनी प्रकृया अनुसार गरिनेछ ।' कर्मचारी कटौती गर्न परेमा पनि श्रम ऐन तथा श्रमजीवी पत्रकार ऐनका व्यवस्था मान्न कान्तिपुर तयार भएको हो ।
नेपालको प्रभावशाली मिडिया कान्तिपुरमा के भइरहेको छ ? कान्तिपुरको श्रम सङ्कटमाथि मिडिया कुराकानीको निगरानी पढ्नुहोस् ।
यस्तै रोकिएको पारिश्रमिक यथाशीघ्र दिन कान्तिपुर तयार भएको छ । त्यहाँका पत्रकारले तलब नपाएको १०० दिन बितिसकेको छ ।
कान्तिपुरको केन्द्रीय कार्यालय र जिल्लामा देखिएको श्रम समस्या श्रमजीवी पत्रकार र व्यवस्थापनबीचको सहमति वा प्रचलित कानुन बमोजिम समाधान गरिने सहमतिको तेस्रो बुँदामा उल्लेख छ ।
सहमति भएसँगै नेपाल पत्रकार महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगित गरिने उल्लेख गरिएको छ ।
कान्तिपुर पब्लिकेसन्स लिमिटेडले गैरकानुनी ढङ्गले पत्रकारहरूलाई निष्कासन तथा सरुवा गरेपछि डेढ महिनादेखि पत्रकारहरू आन्दोलित छन् ।
यस्तो छ सहमति पत्रः
