बालेनले ‘मार्छन् भने मारुन्’ भन्दै गरेको भाइरल भिडियो क्लिपको तथ्य के हो? #FactCheck

बालेनले ‘मार्छन् भने मारुन्’ भन्दै गरेको भाइरल भिडियो क्लिपको तथ्य के हो? #FactCheck

  • माघ १९, २०८० शुक्रबार २२:४५

By Basanta Khadka/NepalFactCheck.org


के हो बालेनले ‘मार्छन् भने मारुन्’ भन्दै गरेको भाइरल भिडियो क्लिपको तथ्य?

केही दिनदेखि काठमाडौँका मेयर बालेन शाहले ‘मार्छन् भने मारुन’ भन्दै गरेको एउटा भिडियो क्लिपसहितको फेसबुक रिल्स भाइरल भइरहेको छ।

हाम्रो तथ्य जाँचले देखायो- तीन वर्ष पहिले बालेन मेयर निर्वाचित नहुँदै फरक प्रसंगमा बोलेको कुरालाई अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको हो।

के छ भाइरल क्लिपमा ?

जनबोली टिभी नामको फेसबुक पेजबाट २८ जनवरी २०२४ मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बोल्दै गरेको एउटा फेसबुक रिल्स अपलोड गरिएको छ।

उक्त रिल्समा ठूला अक्षरमा लेखिएको छ, ‘किन भन्दैछन् मार्छन् भने मारुन् ! ७७ जिल्लाबाट बालेनलाई सपोर्ट गरौँ ।’

त्यस्तै रिल्समा आइएमविदबालेन ह्यासट्याग पनि राखिएको छ भने पोस्टमा पनि ‘देश विदेशबाट बालेनको सपोर्ट गरौँ’ लेखिएको छ।

भिडियो क्लिपमा बालेनले भनेका छन्, ‘थुने थुन्छ, पकडे पकडिन्छ, के गर्छन् त मादिर्ने त होइन होला? मार्छन् भने मार्दिउन  न त, बलात्कारीलाई मार्न सक्दैन, हामीलाई मारेर के हुन्छ’

यो रिल्सलाई शुक्रबार दिउँसो (२ फेब्रुअरी  २०२४) सम्म ८२ हजार ८ सय वटा लाइक, १ हजार २ सय वटा कमेन्ट र १ हजार ५ सय पटक सेयर गरिएको छ भने २२ लाख पटक हेरिएको छ। यो तथ्याङ्कले यो रिल तीव्र गतिमा भाइरल भइरहेको प्रष्ट हुन्छ।

जनबोली टिभी नामको फेसबुक पेजले राखेको रिल र त्यसमा शुक्रबारसम्म देखिएको भ्युज काउन्टसहितको स्क्रिनसट

उक्त रिल्सको स्क्रिन रेकर्ड हेर्नुस्-

के हो तथ्य?

भाइरल भिडियो क्लिपको वास्तविक स्रोत खोज्नलाई हामीले युट्युबमा Balen interview कीवर्ड राखी सर्च गर्‍यौँ। त्यस क्रममा हामीले कान्तिपुर टेलिभिजनको युट्युब च्यालनमा एक वर्षअघि अपलोड भएको यो भिडियो देख्यौँ। भिडियोको थम्बनेलमा देखिएको बालेनको पहिरन र भाइरल भिडियोमा देखिएको पहिरनमात्र हैन ब्याकग्राउन्डको रातो पर्दासमेत उस्तै देख्यौँ।

भाइरल भिडियो र कान्तिपुर टिभीको युट्युबमा राखिएको ह्वाट द फ्लप कार्यक्रमको स्क्रिनसट

तर हामीले त्यो ६ मिनेट १ सेकेन्डको भिडियोमा भाइरल भिडियोमा रहेको जस्तो भनाई भने फेला पार्न सकेनौँ। सोही भिडियोको विवरणमा पूरा कार्यक्रमको लिङ्क पनि राखिएको थियो। हामीले त्यो भिडियो पनि हेर्‍यौँ।

तीन वर्षअघि अर्थात्  ८ अक्टोबर २०२० मा कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा अपलोड गरिएको ह्वाट द फ्लप नामको कमेडी कार्यक्रमको भिडियोमा बालेनले कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीसँग कुराकानी गर्ने क्रममा उनले यो अभिव्यक्ति दिएका छन्।

४७ मिनेट २५ सेकेन्ड लामो भिडियोमा ३२ मिनेट ४२ सेकेन्डतिर प्रस्तोता क्षेत्रीले बालेनलाई भन्छन्, ‘अहिले त गाउने बित्तिकै लगेर थुनिदिन्छ नि सर !’

जवाफमा बालेनले भन्छन्, ‘थुने थुन्छ, पकडे पकडिन्छ, के गर्छन् त मादिर्ने त होइन होला? मार्छन् भने मार्दिउन  न त, बलात्कारीलाई मार्न सक्दैन, हामीलाई मारेर के हुन्छ’। अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो क्लिप यही भिडियोबाट लिएको हो।

र्‍यापर भिटेन, गायक दुर्गेश थापा पक्राउ परेका र पशुपति शर्माको लुट्न सके लुट कान्छा शीर्षकको गीत विवादमा परेको पृष्ठभूमिमा यो प्रश्न सोधिएको थियो।

हेर्नुस् स्क्रिन रेकर्ड-

पूरा कार्यक्रमको भिडियो युट्युबमा हेर्न यहाँ क्लिक गर्नुस्

भाइरल भिडियो क्लिप बालेन काठमाडौँको मेयरमा निर्वाचित हुनुभन्दा पहिले कलाकारका रुपमा दिएको अन्तर्वार्ताको हो। भिडियोको युट्युबमा शीर्षक राख्दा पनि बालेन शाहलाई म्युजिकल आर्टिस्टका रुपमा चिनाइएको छ। त्यसमा उनले सामाजिक बेथिति विरुद्ध गाउँदा सरकारले थुन्छ, पक्राउ गर्छ वा मार्छ भने पनि मारोस् भन्ने आशय व्यक्त गरेका थिए। हाल मेयर निर्वाचित भइसकेपछिका काम कारबाहीसँग यसको कुनै सम्बन्ध छैन। तर सन्दर्भ बिनाको भिडियोलाई बालेन मेयर भएपछि बोलेको जस्तो गरी भाइरल भइरहेको छ।

तथ्य जाँच

दावी : काठमाडौका मेयर बालेन शाहले ‘मार्छन भने मारुन्’ भन्दै गरेको भाइरल भिडियो।

दावीकर्ताः जनबोली टिभी।

तथ्य : भ्रामक सूचना । भाइरल भिडियो क्लिप बालेन काठमाडौँको मेयरमा निर्वाचित हुनुभन्दा पहिले कान्तिपुर टेलिभिजनको ‘ह्वाट द फ्लप’ कमेडी शोमा प्रस्तोता सन्दीप क्षेत्रीसँग कलाकारका रुपमा दिएको अन्तर्वार्ताको हो। सन्दर्भ नखुलाइएको भाइरल भिडियोमा बालेनले अहिले नै उक्त कुरा बोलेको जस्तो गरी सेयर गरिएको छ। फरक प्रसंगमा तीन वर्ष पहिले बोलेको कुरालाई बालेन मेयर भइसकेको अवस्थामा भ्रम सिर्जना गर्ने गरी अहिले भाइरल भएको र धेरैले यसलाई मेयर भइसकेपछि बोलेको अभिव्यक्तिका रुपमा लिएको देखिएकोले सो भिडियो भ्रामक रहेको निष्कर्षमा हामी पुग्यौँ।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको