सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको नेपाल टेलिभिजनको महाप्रबन्धक सिफारिस समितिको सचिवालयले गोरखापत्रमा फागुन २० गते गते सूचना प्रकाशित गरी महाप्रबन्धक पदका लागि आवेदन माग गरेको हो ।
नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष मातहतमा रहेको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि हुने प्रतिस्पर्धात्मक छनोट प्रक्रियामा सहभागी हुन इच्छुक तपसिल बमोजिमको योग्यता, अनुभव र उमेर समूह भएका नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र (अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट) समितिको सचिवालय (संस्थान समन्वय शाखा), सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा आवेदन पेस गर्न सूचनामा भनिएको छ ।
के के योग्यता चाहिन्छ ?
१. नेपाली नागरिक
२. उमेरः ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको
३. मान्यता प्राप्त शैक्षिक संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको। विदेशी शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधि भएमा समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
४. कानुन बमोजिम दर्ता भएको सञ्चार माध्यमको प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा काम गरेको वा आम सञ्चार सम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा रही काम गरेको वा पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको।
५. कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको सेवामा रहेको र सेवा निवृत्त व्यक्तिको हकमा दुवैका लागि कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा नवौँ तहमा काम गरेको।
६. पत्रकार आचारसंहिता उल्लङ्घन अन्तर्गत सजाय नपाएको।
७. प्रचलित नेपाल कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको।
के के कागजात चाहिन्छ ?
योग्यता पुगेका इच्छुक व्यक्तिहरूले देहायको विवरण खुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखामा रहेको सिफारिस समितिको सचिवालय समक्ष आवेदन दिनुपर्नेछ ।
(क) आवेदन पत्र
(ख) नेपाली नागरिकताको प्रतिलिपि
(ग) व्यक्तिगत विवरण
(घ) शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि
(ङ) अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि
(च) नेपाली भाषामा टाइप गरिएको पाँच हजार शब्द सम्मको सिलबन्दी व्यावसायिक कार्ययोजना
(छ) हालसालै खिचेको दुई प्रति फोटो
(ज) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको स्वघोषणा र
(झ) दरखास्त दिने पदसँग सम्बन्धित अन्य कुनै कागजात भए सोको प्रतिलिपि । ९. समितिले उम्मेदवारको व्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा मूल्याङङ्कन गर्नेछ ।
थप जानकारीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्न सकिने सूचनामा जनाइएको छ ।
हेर्नुस् सूचना
