२ को पछाडि ३४ वटा शून्य राख्दा कति हुन्छ ? गुगलमाथि लगाइएको जरिवाना हिसाब गर्नुस्
रुसी अदालतले गुगलमाथि असाधारण जरिवाना लगाएको छ । मस्कोस्थित तागान्स्की जिल्ला अदालतले गुगललाई २ अनडेसिलियन रुबलको जरिवाना लगाएको हो । बीबीसीका अनुसार यो रकम २ को पछि ३६ शून्य (२,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००, ०००) हुन्छ ।
२ अनडेसिलियन रसियन रुबल बराबर २० डेसिलियन अमेरिकी डलर हुन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का अनुसार यो राशी विश्वको अनुमानित कुल जीडीपी ११० ट्रिलियन डलरभन्दा धेरै ठूलो हो । यति ठुलो रकम जरिवानाको फैसला दिने मुद्दा के हो ? आउनुहोस् बुझौ ।
के हो घटना ?
यो जरिवाना गुगलले १७ वटा रुसी मिडिया च्यानललाई युट्युबमा प्रतिबन्ध लगाएका कारण गरिएको हो । यो प्रक्रिया सन् २०२० मा सुरु भएको थियो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यो समस्या बढेको हो ।
२०२० मा युट्युबले व्यापार नियमको उल्लङ्घनको कारण देखाउँदै रुसी मिडिया Tsargrad टिभी च्यानल र RIA FAN को च्यानल बन्द गरेपछि यो मुद्दा सुरु भएको हो । (रूसी मिडिया) आरसिबीका अनुसार यी मिडियाका सञ्चालकहरु सन् २०१४ देखि अमेरिकी सरकारको प्रतिबन्ध लगाएको थियो । पछि अगस्ट २०२० मा Tsargred ले प्रतिबन्ध गर्ने युट्युबको निर्णयविरुद्द मस्कोस्थित तागान्स्की जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सो मुद्दाका प्रतिवादिहरु अमेरिकी Google LLC, आयरिस Google Ireland, र रुसी Google LLC थिए ।
मुद्दामाथि मध्यनजर गर्दै २०२१ मा अदालतले गुगललाई Tsargred को च्यानल फिर्ता गर्न आदेश दिएको थियो । साथै च्यान फिर्ता नगरे आवश्यक जरिवान लगाइने समेत फैसला गरेको थियो । तर युट्युबले च्यान फिर्ता गरेन उल्टै फेब्रुअरी २०२२ मा रसिया युक्रेन युद्दका क्रममा Sputnik, NTV, र Russia 24, Gosteleradiofond, Spas, Aurora समाचार एजेन्सी, Duma TV, VGTRK का क्षेत्रीय शाखाहरू आदिका च्यानलहरु प्रतिबन्ध लगायो ।
यी मिडियाहरुले रुस युक्रेन युद्दमा रुसको पक्षबाट समाचार सम्रेषण गरेको भन्दै युट्युबले मनोमानी रुपमा च्यानल बन्द गरेको थियो । यसरी युट्युबले मिडियामाथि प्रतिबन्ध लगाउन थनलेपछी यो मुद्दा झन उत्कर्षमा पुगेको हो ।
यसरी रुसको पक्षमा भनिएका मिडियाहरुलाई मनोमानी रुपमा बन्दा गर्न थालेपछि रसियाको संघीय एन्टीमोनोपोली सेवा (FSA)ले गुगललाई प्रतिस्पर्धा संरक्षण सम्बन्धी कानूनको उल्लङ्घन गरेको ठहर गर्दै २ अर्ब रूबल जरिवानाको माग गर्यो । गुगलले जरिवाना भुक्तानी नगरेपछि उक्त रकम ४ अर्ब रूबलमा वृद्धि भयो । आरसिबीका अनुसार त्यसको ठिक एक महिनापछि, गुगलले १ अर्ब रूबल जरिवाना तिरेको थियो ।
जून २०२२ मा गुगलसँग ३.५ अर्ब रुबल मात्रै सम्पत्ति रहेको र १९ अर्ब रुबल भन्दा बढी ऋण भएको भन्दै Google को रूसी कानुनी संस्था Google LLC टाट पल्टेको घोषणा गरियो । पछि २०२३ मा अदालतले गुगललाई टाट पल्टेको घोषणा गरेको थियो । यसको बहानामा जरिवाना तिर्न नखोजेपछि जरिवाना रकम दैनिक दोब्बर हुँदै गयो र अन्ततः २ अनडेसिलियन रूबल पुग्यो ।