मंसिर १५ गते काठमाडौंको तिलगंगास्थित होटल आनन्दमा एक 'विशेष' कार्यक्रम आयोजना गरियो । ‘प्रभुकृपा दुःख निवारण समागम’ नाम दिइएको उक्त कार्यक्रममा भारतबाट आएका आफूलाई महाब्रह्मर्षि बताउने श्रीकुमार स्वामीका नामले परिचित कुन्दन लालले सम्पूर्ण रोगको एउटै उपचार भन्दै प्रस्तुत गरे - ‘मिराकल वास’ र मन्त्र ।
Mahabrahmrishi Shree Kumar Swami Ji नामक युट्युब च्यानलमा लाइभ भएको उक्त कार्यक्रम हेर्दा यस्तो प्रतीत हुन्छ कि- होटल आनन्दमा उपस्थित मानिसहरूका रोग, दुख-पीडा एकाएक हराएर गयो ।
त्यहाँ उपस्थित धेरैजसोले वर्षौदेखि अस्पतालमा उपचार गराइरहेको, औषधि खाँदा समेत निको नभएको बताइरहेका थिए । विभिन्न रोगबाट ग्रसित र पीडितहरू एकाएक निको भएको बताउनु 'जादु' जस्तै थियो ।
कुमार स्वामीको दाबीमा सबै रोगको एक मात्र औषधि हो - 'मिराकल वास' र ‘मन्त्र' । भारतबाट आएका आफूलाई दैविक गुरु दाबी गर्ने महाब्रह्मर्षि श्रीकुमार स्वामीले मन्त्र पढाएरै सबैको रोग ‘निवारण’ गरिदिए । छैन त चमत्कार ? उपस्थितहरू चर्को स्वरमा भन्दै थिए- ओम नमोः नारायण गुरूजी ।
श्रीकुमार स्वामीले दाबी गरे अनुसार मिराकल वास ९ वटा नदीको जल हो, जसले जुनसुकै रोग तत्काल निको पार्न सक्छ । उनले महिनावारी सम्बन्धी समस्या, बाथ रोग, आँखाका समस्या र पाठेघरका समस्या लगायत सबै रोग यही मिराकल वास र दुर्गाको पाठबाट निको हुने बताए ।
कार्यक्रममा उपस्थित एक महिलालाई उनले आधा गिलास पानीमा एक थोपा मिराकल वास मिसाएर आँखा धुन लगाए । ९ पटक धोएपछि आँखाको रोग निको हुने दाबी गर्न भ्याए । आधुनिक चिकित्सा विज्ञानलाई नै चुनौति दिने 'औषधि' का रुपमा 'मिराकल वास' लाई प्रचार गरिएको छ ।
श्रीकुमार स्वामीले देशविदेशमा गएर दुर्गाको अद्भुत पाठ प्रदान गर्ने गरेको स्वामीको वेबसाइटमा उल्लेख छ । वेबसाइटमा भनिएको छ, "आगामि दिनमा हुने समागममा उपस्थित भएर पाठ लिन सकिनेछ ।'
मंसिर १५ गते श्रीकुमार स्वामी ‘प्रभुकृपा दुःख निवारण समागम’नाम दिएर काठमाडौंस्थित होटल आनन्दमा उपस्थित भएका थिए ।
श्रीकुमार स्वामी मात्र होइनन्, सन्त रामपालजी महाराज जस्ता अन्य व्यक्तिहरूले पनि धार्मिक आस्थाको आवरणमा यस्तै दाबी गर्दै आएका छन् । रामपालजी महाराजले नेपालका २८ स्थानमा मन्त्रदीक्षा केन्द्रहरू स्थापना गरेका छन् र उनका अनुयायीहरूले पनि मन्त्रदीक्षाबाट रोग निको भएको दाबी गर्दै भिडियोहरू सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् ।
प्रचारमा ठूला मिडिया
यस्ता दाबीहरूको प्रचारमा ठूला सञ्चार माध्यमको पनि संलग्नता देखिएको छ । राष्ट्रिय दैनिकहरू नयाँ पत्रिका र अन्नपूर्ण पोस्टले यससम्बन्धी विज्ञापन छापेका छन् ।
नयाँ पत्रिकाले मंसिर १४ गते नै कार्यक्रमको 'ज्याकेट विज्ञापन’ प्रकाशित गरेको थियो । विज्ञापनमा श्रीकुमार स्वामीले हालसम्म विश्वभर ५० करोड मानिसलाई रोग, दुःख र कष्टबाट मुक्त बनाएको जस्ता अविश्वसनीय दाबी गरिएको छ । नयाँ पत्रिकाले विज्ञापन बोर्डमा पेश गरेको विज्ञापनको रेट कार्ड हेर्ने हो भने डब्बल ज्याकेट एडको दर ३५ लाख छ ।

अन्नपूर्ण र नयाँ पत्रिकामा छापिएका विज्ञापन ।
अन्नपूर्ण पोस्टले पनि मंसीर १४ गते पृष्ठ ३ मा सोहि कार्यक्रमको फुल पेजक विज्ञापन गरेको थियो । अन्नपूर्णले विज्ञापन बोर्डमा बुझाएको रेट कार्ड अनुसार पृष्ठ ३ मा छापिने एडको दर प्रति सी.सी ३ हजार २ सय छ । यस हिसाबले यो विज्ञापनको दर करिब १३ लाखजस्तो हुन आउँछ ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यस्तो संवेदनशील विषयमा राज्यको तत्काल ध्यानाकर्षण हुनुपर्ने बताएका छन् । उनले प्रतिष्ठित दैनिक पत्रिकाले अपुष्ट र अन्धविश्वासयुक्त सामग्रीको विज्ञापन गर्न नहुने तर्क गरेका छन् ।
"धार्मिक आस्थाको कुरा आफ्नो ठाउँमा होला! तर कैयौं अनजान मान्छेहरूको स्वास्थ्य र जीवनसंग जोडिएको यस्तो संवेदनशील विषयमा वेलैमा राज्यको ध्यान पुगोस्। Nepal Health Research Council, Nepal Medical Council लगायतका स्वास्थ्यसंग सम्बन्धित संस्थाहरूको पनि ध्यानाकर्षण होस्", भट्टराईले फेसबुकमा लेखेका छन्, "...जनस्वास्थ्यसँग सम्बन्धित सूर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाइए झैं यस्ता अपुष्ट, अन्धविश्वासयुक्त सामाग्रीको खुला विज्ञापन देशको प्रतिष्ठित दैनिकले गर्न हुने हो हैन ?... अनि मिडिया स्वयम् पनि जिम्मेवार हुनुपर्छ कि?"
विज्ञहरूका अनुसार यस्ता अवैज्ञानिक र भ्रामक स्वास्थ्य उपचारका दाबीहरूले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छन् । यसले बिरामीहरूलाई आवश्यक चिकित्सकीय उपचारबाट वञ्चित गराउन सक्छ र आर्थिक शोषणको माध्यम बन्न सक्छ । धार्मिक विश्वास र स्वास्थ्य समस्याको फाइदा उठाउने यस्ता प्रयासहरूबाट सचेत रहन र चिकित्सकीय सल्लाहमा भर पर्न विशेषज्ञहरूले सुझाव दिएका छन् ।
पढ्नुस् : नेपाली मिडियाको दोहोरो मापदण्ड: हिजो 'महाठग', आज 'महाराज'!
श्रीकुमार स्वामीले सन् २००२ मा आध्यात्मिक संस्थाका रुपमा भगवान श्री लक्ष्मी नारायण धाम (बिएसएलएनडी) को स्थापना गरेका थिए । अहिले विश्वका विभिन्न ठाउँमा यही संस्थाले यसप्रकारका समागमहरूको आयोजना गर्ने गरेको छ ।
नेपालमा मिडिया समेतको मलजलमा भइरहेको भ्रमको खेती गर्ने मुख्य व्यक्ति श्रीकुमार स्वामी भारतमै पनि विवादित व्यक्ति हुन् । उनीमाथि कयौँ अदालतमा मुद्दाहरू विचाराधीन छन् ।
लखनउस्थित एक प्रहरी चौकीमा ब्रह्मऋषि श्री कुमारस्वामीविरुद्ध इन्डियन पेनल कोडको दफा ४१९, ४२० र लागूऔषध तथा चामत्कारिक उपचार (आपत्तिजनक विज्ञापन) ऐनको दफा ७ अन्तर्गत २०१३ मै उजुरी परेको थियो ।
सन् २०१२ मा इन्डिया टुडेसँगको अन्तरवार्तामा एक व्यक्तिले प्रत्यक्ष टेलिफोन सम्वादमा बाबाजीको मन्त्रले केही काम नगरेको बताउँदै का थिए ।
ती व्यक्तिले सन् २००१ मा बाबाजीलाई उनकै क्लिनिकमा भेटेको, बाबाजीले औषधि लेखिदिएको र मन्त्र भनेको बताएका थिए । बाबाजीले उनीसँग त्यतिबेला ४ हजार लिएका थिए। तर बाबाजीको औषधि र मन्त्रले केही काम नगरेको उनको आरोप छ ।
पढ्नुस् : पशुपतिनाथ कोटिहोमः धर्मका नाममा धन कमाउने धन्दा
अपडेटः यसअघि नयाँ पत्रिकाले विज्ञापन छापेको भनिएकोमा अन्नपूर्णले पनि विज्ञापन छापेको भेटिएकाले थप गरिएको ।