ऐतिहासिक नेपाल प्रिमियर लिगमा मधेसी समुदायमाथि विभेदकारी टिप्पणी र व्यवहार
नेपाल प्रिमियर लिग (एनपीएल) को ऐतिहासिक फाइनल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भोलि (शनिबार) त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुँदैछ। तर यस प्रतियोगितामा देखिएको जातीय विभेद र नश्लीय टिप्पणीहरूले चिन्ता बढाएको छ।
विशेषगरी जनकपुर बोल्ट्सका समर्थकहरू र मधेसी समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमा भइरहेका टिप्पणीहरूले तनाव सिर्जना गरेको छ। सामाजिक सञ्जालमा समुदायलक्षित टिप्पणीहरूले फाइनल खेलमा अप्रिय अवस्था सिर्जना हुने शंका बढाएको छ ।
एक्सन स्पोर्ट्सको युट्युब लाइभमा र टिकटक जस्ता प्लेटफर्ममा मधेसी समुदायलाई होच्याउने खालका कमेन्टहरू प्रशस्त देखिएका छन्।
स्टेडियमको दर्शकदीर्घादेखि तथाकथित सामाजिक सञ्जालसम्मै ‘नश्लभेदी अपराध असरल्ल भैसकेको’ उकालोको सम्पादक सुजित महत बताउँछन् । “यस्तो अवस्थामा भोलि एनपिएल फाइनलका लागि क्यान, सुरक्षा निकायले यथेष्ट सतर्कता अपनाएको अपेक्षा गरौँ, उनले एक्स (ट्विटर) मा लेखेका छन्, “कथमकदाचित केही भए जवाफदेही हुनुपर्नेछ, किनकि अप्रिय अवस्थाका लक्षणहरू छरपस्ट भैसके ।”
एनपिएलमा नश्लीय घृणा उकेल्नेहरूलाई राज्यले कानुनको दायरामा ल्याउनुपर्ने विश्लेषक अरूणकुमार सुवेदी बताउँछन् ।
मधेसी समुदायलाई टार्गेट
एनपिएलमा ८ टिम सहभागी छन् । टिमका समर्थकहरू मैदानमा खेलाडी र टिमको हौसला बढाउन पुग्थे । जनकपुरका समर्थकहरू पनि मैदानमा पुगेका थिए । जनकपुरका समर्थकहरूले सबै भन्दा बढी विभेदको सामना गरिरहेका छन् ।
सामाजिक सञ्जालमा मधेसी समुदायलाई लक्षित गरेर नकारात्मक कुराहरू फैलाइएको छ । जनकपुर बोल्ट्स हार्दा होस् वा जित्दा, विपक्षी टिमका समर्थकहरू घृणायुक्त प्रतिकृया व्यक्त गरिरहेको देखिन्छ । एक्सन स्पोर्टसको युट्युबमा लाइभमा तराई-मधेसका नेपालीहरूलाई होच्याउने खालका प्रतिक्रियाहरू प्रशस्तै देख्न सकिन्छ ।
त्यस्तै टिकटकमा पनि जनकपुर बोल्टस् र विपक्षी टिमका समर्थकहरूबीच झगडा भएका भिडियोहरू प्रशस्तै छन् ।
कर्णाली याक्स् सँग पुस ४ गते भएको क्वालिफाएर २ को खेल अघि जनकपुर बोल्ट्सका समर्थकसँग नेपाली अनलाइन टिभीले लिएको अन्तरवार्ताको भिडियोको कमेन्ट हेर्ने हो भने अधिकांश मधेसी समुदायलाई लक्षित घृणायुक्त अभिव्यक्तिहरू छन् ।
सो भिडियोमा ओम ठकुरीले कमेन्ट गर्दै लेखेका छन् ‘ठूलो कुरा नगर भाइ ! मधेसी कोटाबाट जितेको हो जनकपुरले, खुल्लामा लड न त !’
त्यस्तै अबिरल क्षेत्रीले लेखेका छन्- ‘मधेसी कोटाबाट नेपाल सरकारको नोकरी खाए जस्तो सजिलो हुँदैन बे मैदानमा, लडेर म्याच जित्न हिम्मत अनि औकात चाहिन्छ ।’
भिडियोमा बोहोरा सरकारले ‘बिहारी काले’, ज्ञानेन्द्र सिंहले ‘पानी पुरी लेलो’, देवराज जोशीले ‘धोतीहरूको काम छैन’ जस्ता कमेन्ट गरेका छन् । मुख नछाडीकन गरिएका केही कमेन्ट मात्र हामीले उदाहरणका रुपमा प्रस्तुत गरेका हौँ । सार्वजनिक रुपमा पढ्न पढाउन नसकिने कयौँ कमेन्टहरू गरिएको अध्ययनका क्रममा भेटिएको छ ।

सामाजिक सञ्जालमा आलोचना
एनपीएलमा देखिएको जातीय विभेद र नश्लीय टिप्पणीहरूको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ। विशेषगरी सचेत नागरिक र पत्रकारहरूले यस्ता विभेदकारी व्यवहारको खुलेर आलोचना गरेका छन्।
पत्रकार ज्ञानेन्द्र खड्काले फेसबुकमार्फत एनपीएलको आधिकारिक प्रसारणमा तराई-मधेशका नेपाली नागरिकहरूप्रति गरिएका नश्लीय र वर्णविभेदी टिप्पणीहरूको कडा आलोचना गरेका छन्।
खड्का फेसबुकमा लेख्छन् – ‘नेपाल प्रिमियर लिगको लाइभ च्यानलमै गएर तराई-मधेसका नेपालीलाई होच्याउँदै गरिएका नश्लीय र वर्णविभेदी कमेन्ट देखेपछि भन्न मन लाग्यो- उपाधि अब जनकपुर बोल्ट्सले नै जित्नु पर्छ’ ।
क्रिकेटका समर्थक ज्यादा अतिवादी भएको पत्रकार विराट अनुपम बताउँछन् । नेपाल प्रिमियर लिग (एनपिएल) मा महिला, मधेसी र विदेशीलाई धेरै जथाभावी टिप्पणी टिकटकमै सुनिन्छ, उनी फेसबुकमा लेख्छन् “आयोजक र प्रहरीले यस्ता मुद्दामा कडाई गर्नुपर्यो ।”
मानिसहरूको यस्तै घटिया सोच, नश्लीय चिन्तनले हाम्रो समाजलाई विभाजित गरेको, देशबाट मधेशलाई अलग्याउने भावनालाई मलजल र उक्साएको नेपाल पत्रकार महासंघ मधेस प्रदेश महासचिव शैलेन्द्र क्रान्ति बताउँछन् ।
“जनकपुर बोल्टस पराजित हुँदा देशले जितेको महसुस गर्ने, विजयी हुँदा देश हारेको विश्लेषण गर्ने । मधेशीया धोती, भैया लगायत तथानाम गाली गर्ने”, उनी प्रश्न गर्छन्, “कस्तो निच सोच र चिन्तन हो यो?”
जनकपुरका समर्थकको आपत्ति
एनपीएलमा जातीय विभेदको विरोधमा जनकपुरका समर्थकहरूले आवाज उठाएका छन्। विशेषगरी अन्य टिमका समर्थकहरूले जनकपुर बोल्ट्सका प्रशंसकहरूलाई लक्षित गरी गरेका व्यंग्यात्मक नाराहरू र व्यवहारको उनीहरूले कडा आपत्ति जनाएका छन् ।
सार्वजनिक भएका केही भिडियोहरूमा विपक्षी टिमका समर्थकहरूले "नमस्ते ढोगदिया, जनकपुरलाई ठोकदिया" जस्ता अपमानजनक नाराहरू लगाएको देखिन्छ ।
हुलाक सञ्चारसँगको कुराकानीमा जनकपुरका समर्थकहरूले आफूहरूमाथि वर्ण, जात र भाषाको आधारमा व्यापक विभेद भइरहेको गुनासो गरेका छन् । उनीहरूले विशेषगरी अन्य सात टिमका समर्थकहरूबाट भइरहेका यस्ता विभेदकारी व्यवहार कुनै पनि हिसाबले स्वीकार्य नहुने बताएका छन् । एक समर्थकले आक्रोश व्यक्त गर्दै मधेसी नेपालीलाई बिहारी भनेर सम्बोधन गर्ने प्रवृत्तिप्रति प्रश्न उठाएका छन् ।
यस विषयमा मधेसी समुदायका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत व्यापक विरोध जनाएका छन् । उनीहरूले खेलकुद जस्तो सार्वजनिक मञ्चमा समेत जातीय विभेद र नश्लवाद देखिनु दुःखद रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा नश्लीय विभेदको व्यापक विरोध पनि भएको छ ।
सम्झनै पर्ने ‘पिङपोङ कुटनीति’
खेलकुदले अन्तराष्ट्रिय सम्बन्ध जोगाउन खेलेको महत्वपूर्ण घटना हो- पिङपोङ कुटनीति । टेबलटेनिस खेलमार्फत सन् १९७१ मा चीन र अमेरिकाबीच दुई दशक लामो शीत युद्ध अन्त्य भएको थियो, जसलाई पिङपोङ कुटनीति भनिन्छ । यी दुई राष्ट्रबीचको सम्बन्धलाई सुधार गर्न मद्दत गर्यो र तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनको सन् १९७२ मा चीनको ऐतिहासिक भ्रमणको लागि सहज बनायो।
लामो समय गृहयुद्धमा फसेको दक्षिण अफ्रिकालाई विकास निर्माणका लागि देशवासीमा उत्साह जगाउन र राष्ट्रिय एकताको सूत्रमा बाँध्न तत्कालीन राष्ट्रपति नेल्सन मण्डेलाले रग्वी खेललाई माध्यम बनाएका थिए । अन्तराष्ट्रिय सम्बन्ध सुमधुर बनाउन सहयोग गरेकोदेखि लिएर सामुहिक भावनाको विकास आपसी समझदारी बढाउन खेलकुदले खेलेको भूमिकाको यस्ता धेरै उद्दाहरण छन् ।
संयुक्त राष्ट्रसंघले एकता, समानता, लैंगिक विभेद अन्त्य लगायत आम मानिसलाई मुलधारमा ल्याउन खेलका विभिन्न विधालाई सम्बोधन गर्दै अप्रिल ६ लाई शान्ति र विकासका लागि खेलकुदको अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको छ । खेलकुदको अन्तर्राष्ट्रिय दिवस २०२४ को अन्तराष्ट्रिय नारा “शान्तिपूर्ण र समावेशी समाजको प्रवर्द्धनका लागि खेलकुद” रहेको छ ।