- खगेन्द्र फुँयाल -
१३ चैत ०१२ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पत्रकार संघका रूपमा हालको नेपाल पत्रकार महासंघ स्थापना भएको थियो । स्थापना भएको केही वर्षमै सुरु भएको पञ्चायती व्यवस्थाका कारण पत्रकार संघले उचाइ लिन सकेन । भूमिगत शैलीमा संगठनका गतिविधि गर्नुपर्ने भयो, कार्यालय झोलामै सीमित हुन पुग्यो ।
संघभित्रका पञ्चायत पक्ष र पञ्चायतविरोधी पक्षबीचको अन्तरसंघर्षले पत्रकार संघले बहुलवाद, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता विषयमा खुलेर गतिविधि गर्न सकेन । संघभित्रकै अन्तरविरोधले ०४६ सालसम्म आइपुग्दा पञ्चायत पक्ष र बहुदल पक्षबीचमा पत्रकार संघ विभाजन हुन पुग्यो । पञ्चायत पक्षको नेतृत्व मञ्जुरत्न शाक्यले गरेका थिए, बहुदलवादी पक्षको नेतृत्व गोविन्द वियोगीले गरे ।
गोविन्द वियोगीले पत्रकार संघलाई पत्रकारको संगठनका रूपमा व्यवस्थित गर्दै जिल्ला शाखा विस्तार गरे । उनको पालादेखि संघको कार्यालय पाको न्युरोडमा स्थापना भयो, दैनिक कार्यालय खोल्ने व्यवस्था गरियो । हरिहर विरहीको नेतृत्वले पत्रकार संघलाई नेपाल पत्रकार महासंघमा रूपान्तरण गर्यो । नेपाल पत्रकार महासंघको इतिहासमा सबै सभापति तथा अध्यक्षको योगदान महत्वपूर्ण रहेको छ ।
०१२ देखि ०७७ सालसम्म आइपुग्दा नेपाल पत्रकार महासंघले २२ वटा नेतृत्व पाइसकेको छ । नेपाल पत्रकार महासंघका ७६ जिल्ला शाखा, १२ एसोसिएट, ४१ प्रतिष्ठान शाखा र १२ वैदेशिक शाखा छन् । नागरिक समाजको अग्रणी भूमिका निर्वाह गरेको यो संस्थाले नेपालमा प्रजातन्त्र स्थापनादेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका सबै आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको छ । महासंघ नेपाली पत्रकारहरूको साझा छाता संगठन हो । देश–विदेशमा रहेका नेपाली पत्रकारहरूलाई संगठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्न महासंघ क्रियाशील छ । पढ्नुस् खगेन्द्र फुयाँलको नयाँ पत्रिका दैनिकमा प्रकाशित लेख