अब अर्को सचिन नजन्माऔँ

अब अर्को सचिन नजन्माऔँ

  • पौष २०, २०८१ शनिबार १५:१२

भाइरलको भुमरीमा निमोठिएको एउटा बालापन


"के छ हजुर ?, ठिक छ हजुर !" यो वाक्यांश सुन्ने बित्तिकै प्रायःको मष्तिष्कमा एउटै नाम ठोक्किन्छ- सचिन परियार । सचिनको बोलीमा यस्तो मिठास थियो कि यो अभिव्यक्ति उनको पहिचानजस्तै बनेको थियो । 

म दु:खका साथ लेख्दैछु, यति आकर्षक बोली र गायनकला भएका सचिन आज यो संसारमा छैनन् ।

गुल्मीमा जन्मिएका १३ वर्षीय सचिनले बिहीबार टिचिङ अस्पतालमा बिहान १० बजेर ४९ मिनेटमा अन्तिम श्वास लिए । सचिन कलिलै उमेरमा अस्ताए, अनेकन आकांक्षा थाती राखेर । सानै उमेरमा उनका सपनाहरू निमोठिए ।

सामाजिक सञ्जालबाट 'भाइरल' बनेका सचिनको सपना सामाजिक सञ्जालले नै निमोठ्यो ।  आफ्नाहरूले निमोठे । आफ्नो देखिनेहरूले निमोठे । 

एउटा टिकटक एकाउन्टको भिडियो हुँदै अस्पतालको ओछ्यानमा मृत अवस्थामा पुग्दासम्म उनी धेरै यातनाहरूसँग सात्क्षात्कार गर्न बाध्य भए । 

'प्रशंसा', 'प्रेम', पारिवारिक बेमेल, आर्थिक अभाव र युट्युबरको भ्युज मोह । उनी आफ्नै फरक शारीरिक अवस्थासँग पनि जुधिरहेका थिए । यी र यस्तै चरणहरूसँग पौँठेजोरी खेल्दै सचिन सदाका लागि अस्ताए । 

अहँ, यो उनको रहर हुँदै होइन, यो त लालची युट्युबर र उनको आफ्नै परिवारले रचेको 'भाइरलोजी' को प्रपञ्च थियो । जसको उनी शिकार बने । 

यसरी सुरु भयो बालकलाको शोषण

कोरोना महामारीको समय । सबैजना घरभित्रै थुनिएर बसेका बेला, सचिनको एउटा टिकटक भिडियो भाइरल बन्यो । भिडियो भाइरल भएपछि उनको भिडियो खिच्ने 'युट्युबर'हरू घरैमा पुगे । उनलाई गीत गाउन लगाए, गाए । नाच्न लगाए, नाचे । बोल्न लगाए, बोले । 

उनको गाउने, नाच्ने र बोल्ने कला देशभर फैलियो । सबैले उनको कलाको प्रसंसा गरे । हामीमध्ये धेरैले उनका भिडियो हेर्‍यौँ, हास्यौँ, र रमायौँ ।  

बाल मस्तिष्कमा ठूलो मान्छेले अह्राएको काम गर्नु कुनै नौलो कुरा थिएन तर 'युट्युबर'का लागि सचिनको गीत,नाच र बोली भ्यूज बटुल्ने 'मसला' बन्न पुग्यो । 'चर्चित' बनाउने बाहनामा गाउँबाट काठमाडौं लिएर आए । 

काठमाडौं ल्याएपछि केही गीत रेकर्ड गराए । गीत आउन थालेपछि सचिन 'बालगायक' घोषित भए । छोटो समयमै उनी धेरै दर्शकमाझ चिनिए । त्यसपछि उनको अवोध मुस्कान र कलाको व्यापार हुन थाल्यो । उनको नाम जोडिएका सामग्रीहरूमा करोडौं भ्यूज आउन थाल्यो । 

छोराको 'प्रसिद्धी' बढेपछि गाउँमा कपडा सिलाएर जीविकोपार्जन गरिरहेका उनका बाबु तेजेन्द्र परियार काठमाडौं आए । बाबु काठमाडौंमा आएपछि एक बोर्डिङ स्कुलमा उनको भर्ना भयो । काठमाडौंमा आएर गीत गाएर चर्चा बटुलेका सचिनको खुसी लामो समय भने टिक्न सकेन ।

sachins.jpg

उनको अवोध मुस्कान, शारीरिक बनोट र बोलीको व्यापार गर्नेलाई झन् सजिलो भयो । उनलाई गीत गाउन लगाइयो तर पारिश्रमिक दिइएन । स्कुल भर्ना गरे तर कहिले सुटिङ त कहिले रेकर्डिङका बाहनामा उनलाई कहिल्यै विद्यार्थी झैँ पढ्न दिइएन । 

चर्चिच बनाउने बाहनामा आफ्नै बाबु र 'युट्युबर' हरूले शोषण गर्न थाले । उनको जीवन एउटा कठोर वास्तविकतामा बदलिँदै गयो । 

समग्रमा उनको बाल्यकाल खोसियो । गाउँघरको पाखा पखेरामा काँचो माटोसँग लडिबुडी गर्दै गीत गाउँदै हल्लिई हिँड्ने सचिनलाई काठमाडौं ल्याएर बन्दी बनाइयो । 

अभिभावकत्वको अभाव

सचिन आज यो संसारमा नहुनुमा जति भ्यूजका लालची युट्युबुर जिम्मेवार छन्, त्यो भन्दा बढी जिम्मेवार उनका अभिभावक हुन् । सचिनले सानैदेखि उचित अभिभावकत्व पाएनन् । 

उनका आमा बाबुबीच सम्बन्ध विच्छेद भैसकेको थियो । आमाले अर्को विवाह गरेकी थिइन् भने बाबुले पनि अर्की श्रीमति ल्याएका थिए । आमा बाबु दुवैको अविभावकत्व गुमाएपछि उनी विक्षिप्त भएका थिए । 

पारिवारिक बेमेल र अविभावकत्वको अभावबीच सचिनको स्वास्थ्यमा समस्या देखा पर्‍यो । सचिनलाई डायबिटिज इन्सिपिडस रोग थियो । डाइबिटिज इन्सिपिडसको समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ । यो निकै दुर्लभ खालको समस्या हो । निमोनिया र मल्टिपल अर्गन डिसफङ्क्सन जस्ता स्वास्थ्य समस्याहरू पनि उनमा देखा परेका थिए ।

sachin with father.jpg

यसरी स्वास्थ्यमा समस्या देखिन थाल्यो । उपचार खर्च जुटाउन मुस्किल हुँदै गयो । सचिन  पुन: ‘युट्युबर’ हरूसँग ठोक्किन पुगे र युट्युबरहरू माझ उपचार खर्च जुटाउन थाले । 

उनका बाबुको हर्कत र व्यवहारका कारण दर्शकले उनलाई पत्याउन छाडिसकेका थिए । तर कतिपयले सचिनको उपचारका लागि रकम सङ्कलनमा साथ दिए । तेजेन्द्रमाथि रकम हिनामिना गरेको आरोप पनि लागेका भिडियोहरू पनि छन् । त्यसमा ११ लाख उठेको र उपचारमा तीन लाख मात्र खर्च भएको भन्दै बाँकी पैसाको बारेमा प्रश्न उठेको थियो । 

त्रिवि शिक्षण अस्पतालका अनुसार सचिनलाई १३ पुस २०८१ मा अकस्मात् ज्वरो आयो । सास फेर्न गाह्रो भयो । बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरियो । 

२०८१ पुस १८ गते बिहान १०:४९ बजे उनी सदाका लागि अस्ताए । एउटा कलिलो सपनाको हत्या भयो ।

भाइरल संस्कृतिको विकृत दर्पण

सचिनको भाइरल हुने यात्रा र त्यसपछिको घटनाक्रमले हाम्रो समाजको बदलिँदो सांस्कृतिक मूल्यलाई देखाउँछ ।

‘भाइरल’ बन्ने चाहना र यथार्थ जीवनमा त्यसको प्रभाव हाम्रो सांस्कृतिक प्राथमिकताका कारण हो । समाजले प्रतिभाको सम्मान भन्दा लोकप्रियतालाई महत्व दिन थालेको यो घटनाले पुष्टि गर्छ ।  

सचिन परियारको जीवन र अवसान एउटा व्यक्तिगत संघर्ष र पारिवारिक दुर्भाग्यको कथा मात्रै होइन । यो नेपाली समाजको संरचनागत असमानता, सांस्कृतिक मूल्य, र डिजिटल युगको प्रभावले निर्माण गरेको गहिरो समस्याको दर्पण पनि हो । आर्थिक अवस्था कमजोर भएका, अझ दलित समुदायमा जन्मिएका सचिनको प्रतिभा ‘शहर’ पुगेपछि अवसरभन्दा पनि शोषणतर्फ धकेलियो । 

सचिनको उदय टिकटक र युट्युबबाट भयो । तर यही माध्यमले उनको व्यक्तिगत जीवन र स्वास्थ्यमाथि गम्भीर नकारात्मक प्रभाव पर्‍यो । ‘युट्युबर’हरूले सचिनलाई व्यापारिक ‘मसला’ बनाएर उनको जीवनलाई ‘दर्शक तान्ने सामग्री’ मा सीमित गरे । 

जब माध्यमको प्रयोगको ध्यय पैसा बन्छ, सामग्रीको गहिराइ र मानवता समाप्त हुन्छ । सचिनको कथाले डिजिटल संसारको नकारात्मक प्रभावलाई स्पष्ट प्रतिविम्बित गरिरहेको छ ।

०००

सचिन मात्रै यस्ता पात्र भने होइनन् । सचिन जस्ता कयौँ मानिसहरूका हाँसोखुसी, फरक क्षमता, व्यक्तिगत कला, स्वर र हाउभाउ आदिलाई दुरुपयोग गरेर ‘युट्युबर’ हरूले कमाइ खाने दुनो सोझ्याए ।

यसअघि ‘भेलु बाजे’ उपनामले चिनिएका मेनबहादुर बुढा यही प्रवृत्तिको शिकार भएका थिए । मृत्युको मुखमा पुग्नुअघि उनी टिकटक लाईभमा जबरजस्ती बोल्दै थिए । उनलाई जबर्जस्ती टिकटक लाइभमा बोल्न लगाइएको थियो । 

‘युट्युबर’हरूले सचिन र ‘भेलु बाजे’ जस्ता पात्रहरू उत्पादन गरिरहेकै छन् । उनीहरूलाई प्रेम छ त केवल आफ्नो भ्यूज र फलोअर्ससँग मात्रै । उनीहरूको मनोविज्ञान, उनीहरूको समस्या, उनीहरूको अवस्थाबारे कसले चासो दिने ? ‍

प्रेम परियार, अशोक दर्जी, कमला घिमिरे, आयुष्मा ढकाल, कल्पना विष्टहरूलाई अब सचिन नबनाउ । 


Related Story

डलरको लोभमा फेसबुक रिलमार्फत साम्प्रदायिक विद्वेषको खेती

काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल ठहर गरेका कुल ९० वटा सामग्रीमध्ये ६२ वटा त फेसबुक रिल मात्रै रहेका छन् । प्रेस काउन्सिल

काठमाडौंमा डिजिटल प्लाटफर्म सुशासनसम्बन्धी क्षेत्रीय कार्यशाला, दुई टुलकिट अनुमोदन

दक्षिण एसियामा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सुदृढ गर्ने उद्देश्यले काठमाडौँमा आयोजित 'डिजिटल प्लाटफर्मको सुशासनका लागि युनेस्को निर्देशिका कार्यान्वयन' सम्बन्धी

Why Social Media Makes You Angry?

सोसल मिडियाका कतिपय सामग्रीले हामीलाई किन आक्रोषित बनाउँछ भनेर कहिल्यै सोच्नुभएको छ ? हेर्नेबित्तिकै रिस उठाउने यस्ता पोस्टको असर समाजमा कस्तो

जेन जी आन्दोलन: सूचना रिक्ततादेखि सूचना महामारीसम्म

मुलधारका मिडियाले सामाजिक सञ्जालका दृश्य सामग्रीलाई सम्पादन र विश्लेषण नगरी सीधै प्रसारण गरेपछि नागरिकलाई सत्य र झूठ छुट्याउन गाह्रो भयो भदौ

सोसल मिडिया प्लेटफर्म बन्द गर्ने सरकारको निर्णय, सूचिमा फेसबुकदेखि हाम्रोपात्रोसम्म

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गरी

३० दिनपछि स्वतः हट्दैछन् फेसबुकका लाइभ भिडियो, जोगाउन के गर्ने ?

फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ । अर्थात्, लाइभ गरेको ३० दिनपछि जुनसुकै भिडियो फेसबुकको

सामाजिक सञ्जाल विधेयक: नागरिक अभिव्यक्तिमाथि अंकुशको डर

सरकारी विभागको एकल निर्णयबाट इन्टरनेटमा नागरिकको आवाज बन्द गर्ने खतरनाक प्रावधान सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनलाई नियमन गर्ने उद्देश्यले सरकारले हालै

इन्टरनेट सेन्सरसिपको हतियार बन्न सक्छ सामाजिक सञ्जाल विधेयक

सरकारले प्रस्ताव गरेको सामाजिक सञ्जाल विधेयक २०८१ ले इन्टरनेटमा स्वतन्त्र अभिव्यक्ति, सञ्चारको हक र गोपनीयताको अधिकारमा गम्भीर सेन्सरसिप लगाउने खतरा