भाइरलको भुमरीमा निमोठिएको एउटा बालापन
"के छ हजुर ?, ठिक छ हजुर !" यो वाक्यांश सुन्ने बित्तिकै प्रायःको मष्तिष्कमा एउटै नाम ठोक्किन्छ- सचिन परियार । सचिनको बोलीमा यस्तो मिठास थियो कि यो अभिव्यक्ति उनको पहिचानजस्तै बनेको थियो ।
म दु:खका साथ लेख्दैछु, यति आकर्षक बोली र गायनकला भएका सचिन आज यो संसारमा छैनन् ।
गुल्मीमा जन्मिएका १३ वर्षीय सचिनले बिहीबार टिचिङ अस्पतालमा बिहान १० बजेर ४९ मिनेटमा अन्तिम श्वास लिए । सचिन कलिलै उमेरमा अस्ताए, अनेकन आकांक्षा थाती राखेर । सानै उमेरमा उनका सपनाहरू निमोठिए ।
सामाजिक सञ्जालबाट 'भाइरल' बनेका सचिनको सपना सामाजिक सञ्जालले नै निमोठ्यो । आफ्नाहरूले निमोठे । आफ्नो देखिनेहरूले निमोठे ।
एउटा टिकटक एकाउन्टको भिडियो हुँदै अस्पतालको ओछ्यानमा मृत अवस्थामा पुग्दासम्म उनी धेरै यातनाहरूसँग सात्क्षात्कार गर्न बाध्य भए ।
'प्रशंसा', 'प्रेम', पारिवारिक बेमेल, आर्थिक अभाव र युट्युबरको भ्युज मोह । उनी आफ्नै फरक शारीरिक अवस्थासँग पनि जुधिरहेका थिए । यी र यस्तै चरणहरूसँग पौँठेजोरी खेल्दै सचिन सदाका लागि अस्ताए ।
अहँ, यो उनको रहर हुँदै होइन, यो त लालची युट्युबर र उनको आफ्नै परिवारले रचेको 'भाइरलोजी' को प्रपञ्च थियो । जसको उनी शिकार बने ।
यसरी सुरु भयो बालकलाको शोषण
कोरोना महामारीको समय । सबैजना घरभित्रै थुनिएर बसेका बेला, सचिनको एउटा टिकटक भिडियो भाइरल बन्यो । भिडियो भाइरल भएपछि उनको भिडियो खिच्ने 'युट्युबर'हरू घरैमा पुगे । उनलाई गीत गाउन लगाए, गाए । नाच्न लगाए, नाचे । बोल्न लगाए, बोले ।
उनको गाउने, नाच्ने र बोल्ने कला देशभर फैलियो । सबैले उनको कलाको प्रसंसा गरे । हामीमध्ये धेरैले उनका भिडियो हेर्यौँ, हास्यौँ, र रमायौँ ।
बाल मस्तिष्कमा ठूलो मान्छेले अह्राएको काम गर्नु कुनै नौलो कुरा थिएन तर 'युट्युबर'का लागि सचिनको गीत,नाच र बोली भ्यूज बटुल्ने 'मसला' बन्न पुग्यो । 'चर्चित' बनाउने बाहनामा गाउँबाट काठमाडौं लिएर आए ।
काठमाडौं ल्याएपछि केही गीत रेकर्ड गराए । गीत आउन थालेपछि सचिन 'बालगायक' घोषित भए । छोटो समयमै उनी धेरै दर्शकमाझ चिनिए । त्यसपछि उनको अवोध मुस्कान र कलाको व्यापार हुन थाल्यो । उनको नाम जोडिएका सामग्रीहरूमा करोडौं भ्यूज आउन थाल्यो ।
छोराको 'प्रसिद्धी' बढेपछि गाउँमा कपडा सिलाएर जीविकोपार्जन गरिरहेका उनका बाबु तेजेन्द्र परियार काठमाडौं आए । बाबु काठमाडौंमा आएपछि एक बोर्डिङ स्कुलमा उनको भर्ना भयो । काठमाडौंमा आएर गीत गाएर चर्चा बटुलेका सचिनको खुसी लामो समय भने टिक्न सकेन ।

उनको अवोध मुस्कान, शारीरिक बनोट र बोलीको व्यापार गर्नेलाई झन् सजिलो भयो । उनलाई गीत गाउन लगाइयो तर पारिश्रमिक दिइएन । स्कुल भर्ना गरे तर कहिले सुटिङ त कहिले रेकर्डिङका बाहनामा उनलाई कहिल्यै विद्यार्थी झैँ पढ्न दिइएन ।
चर्चिच बनाउने बाहनामा आफ्नै बाबु र 'युट्युबर' हरूले शोषण गर्न थाले । उनको जीवन एउटा कठोर वास्तविकतामा बदलिँदै गयो ।
समग्रमा उनको बाल्यकाल खोसियो । गाउँघरको पाखा पखेरामा काँचो माटोसँग लडिबुडी गर्दै गीत गाउँदै हल्लिई हिँड्ने सचिनलाई काठमाडौं ल्याएर बन्दी बनाइयो ।
अभिभावकत्वको अभाव
सचिन आज यो संसारमा नहुनुमा जति भ्यूजका लालची युट्युबुर जिम्मेवार छन्, त्यो भन्दा बढी जिम्मेवार उनका अभिभावक हुन् । सचिनले सानैदेखि उचित अभिभावकत्व पाएनन् ।
उनका आमा बाबुबीच सम्बन्ध विच्छेद भैसकेको थियो । आमाले अर्को विवाह गरेकी थिइन् भने बाबुले पनि अर्की श्रीमति ल्याएका थिए । आमा बाबु दुवैको अविभावकत्व गुमाएपछि उनी विक्षिप्त भएका थिए ।
पारिवारिक बेमेल र अविभावकत्वको अभावबीच सचिनको स्वास्थ्यमा समस्या देखा पर्यो । सचिनलाई डायबिटिज इन्सिपिडस रोग थियो । डाइबिटिज इन्सिपिडसको समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ । यो निकै दुर्लभ खालको समस्या हो । निमोनिया र मल्टिपल अर्गन डिसफङ्क्सन जस्ता स्वास्थ्य समस्याहरू पनि उनमा देखा परेका थिए ।

यसरी स्वास्थ्यमा समस्या देखिन थाल्यो । उपचार खर्च जुटाउन मुस्किल हुँदै गयो । सचिन पुन: ‘युट्युबर’ हरूसँग ठोक्किन पुगे र युट्युबरहरू माझ उपचार खर्च जुटाउन थाले ।
उनका बाबुको हर्कत र व्यवहारका कारण दर्शकले उनलाई पत्याउन छाडिसकेका थिए । तर कतिपयले सचिनको उपचारका लागि रकम सङ्कलनमा साथ दिए । तेजेन्द्रमाथि रकम हिनामिना गरेको आरोप पनि लागेका भिडियोहरू पनि छन् । त्यसमा ११ लाख उठेको र उपचारमा तीन लाख मात्र खर्च भएको भन्दै बाँकी पैसाको बारेमा प्रश्न उठेको थियो ।
त्रिवि शिक्षण अस्पतालका अनुसार सचिनलाई १३ पुस २०८१ मा अकस्मात् ज्वरो आयो । सास फेर्न गाह्रो भयो । बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरियो ।
२०८१ पुस १८ गते बिहान १०:४९ बजे उनी सदाका लागि अस्ताए । एउटा कलिलो सपनाको हत्या भयो ।
भाइरल संस्कृतिको विकृत दर्पण
सचिनको भाइरल हुने यात्रा र त्यसपछिको घटनाक्रमले हाम्रो समाजको बदलिँदो सांस्कृतिक मूल्यलाई देखाउँछ ।
‘भाइरल’ बन्ने चाहना र यथार्थ जीवनमा त्यसको प्रभाव हाम्रो सांस्कृतिक प्राथमिकताका कारण हो । समाजले प्रतिभाको सम्मान भन्दा लोकप्रियतालाई महत्व दिन थालेको यो घटनाले पुष्टि गर्छ ।
सचिन परियारको जीवन र अवसान एउटा व्यक्तिगत संघर्ष र पारिवारिक दुर्भाग्यको कथा मात्रै होइन । यो नेपाली समाजको संरचनागत असमानता, सांस्कृतिक मूल्य, र डिजिटल युगको प्रभावले निर्माण गरेको गहिरो समस्याको दर्पण पनि हो । आर्थिक अवस्था कमजोर भएका, अझ दलित समुदायमा जन्मिएका सचिनको प्रतिभा ‘शहर’ पुगेपछि अवसरभन्दा पनि शोषणतर्फ धकेलियो ।
सचिनको उदय टिकटक र युट्युबबाट भयो । तर यही माध्यमले उनको व्यक्तिगत जीवन र स्वास्थ्यमाथि गम्भीर नकारात्मक प्रभाव पर्यो । ‘युट्युबर’हरूले सचिनलाई व्यापारिक ‘मसला’ बनाएर उनको जीवनलाई ‘दर्शक तान्ने सामग्री’ मा सीमित गरे ।
जब माध्यमको प्रयोगको ध्यय पैसा बन्छ, सामग्रीको गहिराइ र मानवता समाप्त हुन्छ । सचिनको कथाले डिजिटल संसारको नकारात्मक प्रभावलाई स्पष्ट प्रतिविम्बित गरिरहेको छ ।
०००
सचिन मात्रै यस्ता पात्र भने होइनन् । सचिन जस्ता कयौँ मानिसहरूका हाँसोखुसी, फरक क्षमता, व्यक्तिगत कला, स्वर र हाउभाउ आदिलाई दुरुपयोग गरेर ‘युट्युबर’ हरूले कमाइ खाने दुनो सोझ्याए ।
यसअघि ‘भेलु बाजे’ उपनामले चिनिएका मेनबहादुर बुढा यही प्रवृत्तिको शिकार भएका थिए । मृत्युको मुखमा पुग्नुअघि उनी टिकटक लाईभमा जबरजस्ती बोल्दै थिए । उनलाई जबर्जस्ती टिकटक लाइभमा बोल्न लगाइएको थियो ।
‘युट्युबर’हरूले सचिन र ‘भेलु बाजे’ जस्ता पात्रहरू उत्पादन गरिरहेकै छन् । उनीहरूलाई प्रेम छ त केवल आफ्नो भ्यूज र फलोअर्ससँग मात्रै । उनीहरूको मनोविज्ञान, उनीहरूको समस्या, उनीहरूको अवस्थाबारे कसले चासो दिने ?
प्रेम परियार, अशोक दर्जी, कमला घिमिरे, आयुष्मा ढकाल, कल्पना विष्टहरूलाई अब सचिन नबनाउ ।