८ वर्षसम्म मिथ्या सूचना र दुस्सूचना पहिचान गर्न व्यावसायिक पत्रकारहरूसँग काम गरेको बिग टेक कम्पनी मेटाले यो काम अब प्रयोगकर्ताहरूलाई सुम्पिने
फेसबुक लगायतका सामाजिक सञ्जालको सञ्चालक कम्पनी मेटाले आफ्नो तथ्य-जाँच कार्यक्रम त्याग्ने घोषणा गरेको छ । हाल संयुक्त राज्य अमेरिकाबाट त्यसको थालनी गर्ने मेटाले जनाएको छ ।
मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेड्स लगायतका सामाजिक सञ्जाल प्रयोग गर्ने ३ अर्ब भन्दा बढी मानिसमाझ मिथ्यासूचनाको प्रसार रोक्ने उद्देश्यले 'थर्ड पार्टी फ्याक्टचेक' कार्यक्रम सञ्चालन गरिरहेको थियो ।
मेटाले स्वतन्त्र अमेरिकी पत्रकारहरूसँग ८ वर्षदेखि जारी साझेदारी अन्त्य गर्दै एलन मस्कको एक्सकै नक्कल गरेको छ । मेटाको घोषणा अनुसार यसले अबदेखि एक्सको जस्तै कम्युनिटी नोट्स मोडेल अपनाउनेछ ।
मङ्गलबार एक भिडियोमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले तथ्य जाँचले "अत्याधिक सेन्सरसिप" निम्त्याएको दाबी गरे ।
जुकरबर्गले तथ्य जाँचकर्ताहरू राजनीतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन् । "तथ्य जाँचकर्ताहरू राजनीतिक रुपमा अत्यधिक पूर्वाग्रही भएका छन् र अमेरिकामा उनीहरूले आर्जन गरेभन्दा बढी विश्वास नष्ट गरेका छन्," जुकरबर्गले भनेका छन् ।
डोनल्ड ट्रम्पले लामो समयदेखि सोसल मिडिया प्लेटफर्महरूको सामग्री मोडरेसनले "सेन्सरसिप" निम्त्याएको बताउँदै आएका थिए । विगतमा ट्विटर र फेसबुकमा ट्रम्पका अभिव्यक्तिले हिंसा भड्काएको भन्दै उनको खातानै निष्कृय पनि पारिएको थियो ।
ट्रम्पलाई झेल्ने तयारी

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार डोनल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिका रुपमा सत्ता सम्हाल्न लागेको मौकामा त्यसको सहज तयारी स्वरुप जुकरबर्गको घोषणा आएको हो । ट्रम्पले यही जनवरी २० तारिखमा पद सम्हाल्दै छन् ।
समाचार संस्था एपीले यस सम्बन्धी खबरको शीर्षक राखेको छ- ट्रम्पप्रति नतमस्तक हुँदै मेटाले तथ्य जाँच कार्यक्रम हटायो । ट्रम्पले पनि यो शंकालाई बल पुग्ने गरी "आफ्नो खबरदारीका कारण मेटाले यस्तो निर्णय गरेको हुन सक्ने" अभिव्यक्ति दिएका छन् ।
मेटाका लागि "विशेषगरी हालैको अमेरिकी राष्ट्रपतीय चुनाव पछि अभिव्यक्ति स्वतन्त्रताको हाम्रो मूल सिद्धान्तमा फर्कने समय" आएको जुकरबर्गको जिकिर छ । जुकरबर्गले यसलाई "पुनः एकपटक वाक्-स्वतन्त्रतालाई प्राथमिकता दिने तर्फको महत्त्वपूर्ण सांस्कृतिक क्षण" का रूपमा व्याख्या गरेका छन् ।
मेटाले घोषणा गर्नुअघि नै ट्रम्पलाई नीतिगत परिवर्तनबारे जानकारी गराइसकेको न्युयोर्क टाइम्सले लेखेको छ ।
मेटाले अब सामग्री मोडरेसनका लागि व्यावसायिक तथ्य जाँचकर्ताहरूमा भर पर्नुको साटो एक्स (X) ले प्रयोग गरे जस्तै "कम्युनिटी नोट्स" लागू गर्नेछ । कम्युनिटी नोट्स एलन मस्कको एक्स (पहिलेको ट्विटर) ले सुरु गरेको फिचर हो जहाँ प्रयोगकर्ताहरूले सोसल मिडिया पोस्टमा विभिन्न दृष्टिकोणसहित मूल्यांकन र टिप्पणी गर्न सक्छन् ।
समाचारहरूका अनुसार यो अभ्यासले मिश्रित परिणामहरू दिएको छ । त्यसैले यसको प्रभावकारिता कस्तो हुन्छ भन्न सकिने अवस्था छैन ।
कसरी हुन्थ्यो तथ्यजाँच?
मेटाले सम्भावित मिथ्या सूचनाहरूलाई प्रयोगकर्ताको सूचना र विभिन्न संकेतका आधारमा पहिचान गर्छ । कुनै पनि सामग्री कति छिटो फैलिरहेको, मानिसहरूले त्यसमा के कसरी प्रतिक्रिया दिइरहेका छन्, के विषय फ्लेटफर्ममा ट्रेन्डिङका रुपमा आएका छन् लगायतका आधारमा उसले दुस्सूचना पत्ता लगाउँछ ।
यसरी मेटाले पत्ता लगाएका जानकारीहरूको तथ्य जाँचकर्ताहरूले समीक्षा गर्छन् । यस्ता तथ्यजाँच गर्ने संस्थाहरूले आफ्नो सम्पादकीय मापदण्ड प्रयोग गरेर जाँचका लागि दाबीहरू छनोट गर्छन् ।
अब तथ्यजाँचकै लागि स्थापित संस्थाहरू र तथ्यजाँचकर्ताहरूको काम आउँछ । तथ्य जाँचकर्ताहरूले प्राथमिक स्रोतहरू, अन्तर्वार्ता, सार्वजनिक रुपमा उपलब्ध तथ्यांक र विश्लेषण प्रयोग गरेर मौलिक रिपोर्टिङ गर्छन् ।
तथ्य जाँचकर्ताहरूले कुनै सामग्रीको तथ्य जाँच गरिसकेपछि त्यसको नतिजाका आधारमा मेटाले दुस्सूचनाको वितरणलाई घटाउँछ ताकि सकभर कमभन्दा काम मानिसहरूसम्म त्यो पुगोस् ।
मेटाले पहिले सामग्री सेयर गरेका वा सेयर गर्न खोज्ने व्यक्तिहरूलाई जानकारी दिन्छ । साथै, उसले प्रयोगकर्ताहरूलाई वार्निङ (चेतावनी) पनि दिन्छ । उक्त वार्निङ लेबलले तथ्य जाँचकर्ताको लेखमा रिडाइरेक्ट गराउँछ । अब फेरि प्रयोगकर्ताको काम आउँछ । प्रयोगकर्ताले तथ्य जाँचको पनि मूल्यांकन गर्न सक्छन् अर्थात् उनीहरूले तथ्य जाँच रेटिङको निर्णयमा अपील गर्न सक्छन् ।
मेटाले सन् २०१६ मा यो स्वतन्त्र, तेस्रो-पक्षीय तथ्य जाँच कार्यक्रम सुरु गरेको थियो । मेटाले रोयटर्स फ्याक्ट चेक, अस्ट्रेलियन एसोसिएटेड प्रेस, एएफपी, पोलिटिफ्याक्ट जस्ता तथ्य जाँच साझेदारहरूलाई आफ्ना प्लेटफर्महरूमा पोस्ट गरिएका सामग्रीहरूको वैधता स्वतन्त्र रूपमा मूल्यांकन गर्न आर्थिक सहयोग गर्थ्यो। मेटाले अमेरिकामा मात्र १० वटा तथ्य जाँच साझेदारहरूसँग सम्झौता गरेको थियो ।
फेसबुकले आफ्नो वेबसाइटमा युरोप, ब्राजिल र भारत लगायत मुलुकका करिब ११९ तथ्य जाँच संस्थाहरूसँग सम्झौता रहेको उल्लेख गरेको छ । तत्कालका लागि मंगलबारको घोषणाले अमेरिकाका तथ्य जाँच संस्थाहरूलाई प्रभावित पार्छ । तर भावी दिनमा त्यसले सबैजसो संस्थालाई असर गर्नेछ ।
कम्युनिटी नोट्स के हो ? कसरी काम गर्छ ?

Photo: livemint
तर अब उसको यो घोषणासँगै कम्युनिटी नोट्सले सोसल मिडिया फ्लेटफर्महरूमा मिथ्या सूचना नियन्त्रणमा कत्तिको सघाउँछ भन्ने प्रश्न उठेको छ ।
कम्युनिटी नोट्स मोडेलको सफलता वा असफलता मुलतः सोसल मिडिया प्रयोगकर्ताहरूमा भर पर्छ ।
प्रयोगकर्ताहरूले नै जुनसुकै सोसल मिडिया पोस्टमा सन्दर्भ वा सावधानीहरू थप्नेछन् । युरोपियन युनियनले यसको प्रभावकारिताका सम्बन्धमा अनुसन्धान गरिरहेको छ।
तथ्य जाँच संस्थाहरूको प्रतिक्रिया
मेटाको यो नाटकीय परिवर्तनले अनलाइन माध्यममा मिथ्या सूचना र दुष्प्रचार विरुद्धको लडाईंका लागि राम्रो संकेत नभएको द कन्भर्सेसनले जनाएको छ ।
पोलिटिफ्याक्ट समेत सञ्चालन गर्ने गैर-नाफामूलक संस्था पोइन्टर इन्स्टिच्युटका अध्यक्ष नील ब्राउनले जुकरबर्गको निर्णय निराशाजनक भएको बताएका छन् । उनले भनेका छन्- मेटाले आफ्नै उपकरण र नियमहरू बनाउँछ, जबकि पोलिटिफ्याक्ट र अन्य तथ्य जाँच संस्थाहरूले स्वतन्त्र समीक्षा र आफ्ना स्रोतहरू देखाउँथे ।
"तथ्यहरू सेन्सरसिप होइनन्। तथ्य जाँचकर्ताहरूले कहिल्यै केही सेन्सर गरेनन्। र, मेटासँग सधैं सबै अधिकार थियो", उनले भनेका छन्, "पत्रकार र तथ्य जाँचको भूमिकाको वर्णन गर्दा भड्काउने र झूटो भाषाको प्रयोग नगरे हुन्थ्यो ।"
पोइन्टरको एक लेखमा बताइएअनुसार एक्सको कम्युनिटी नोट्सको विश्वसनीयतामा शंका छ र उस्तै प्रकारको प्रविधिको प्रयोगले फेसबुक लगायतका सोसल मिडियामा फैलने दुस्सूचना रोक्न सम्भव छैन ।
विज्ञहरूका अनुसार एक्सको कम्युनिटी नोट्स कार्यक्रम प्रभावकारी नभएको मात्र होइन कि कतिपय सन्दर्भमा यसले मिथ्या सूचनाको प्रसारलाई झन् बढाउँछ ।
अब मेटाले अपनाउने भनेको यसखालको 'क्राउडसोर्स्ड फ्याक्टचेक' अर्थात् प्रयोगकर्ताले नै गर्ने तथ्यजाँच गर्ने प्रणालीले अनलाइनमा झन् गलत सूचना फैलाउन सक्ने शंका विज्ञहरूले गरेका छन् ।