नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको प्रदर्शनमा सहभागी समूहले गरेको हिंसात्मक गतिविधिको निन्दा गरेको छ ।
शुक्रबार बेलुका जारी विज्ञप्तिमा महासंघले आन्दोलनकारीहरूले आगो लगाउँदा पत्रकारको जलेर मृत्यु भएको तथा विभिन्न सञ्चार गृहमा आक्रमण भएको भन्दै गहिरो दुःख व्यक्त गरेको छ ।
आन्दोलनकारीहरूले लगाएको आगोमा परेर शुक्रबार एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ। यसका साथै, अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित कार्यालय भवनमा तोडफोड र आगजनी, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा र हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड गरिएको छ ।
"जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र संचारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य हो," महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासंघले शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको सम्मान गरे पनि प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य स्वीकार नहुने स्पष्ट पारेको छ । यस्ता हर्कतमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही र क्षति पुर्याइएका सञ्चारमाध्यमहरूलाई क्षतिपूर्ति दिन महासंघले सरकारसँग जोडदार माग गरेको छ ।
महासचिव दाहालले रजकको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । साथै, महासंघले यस्ता प्रेसविरोधी क्रियाकलाप नदोहोरिने आशा व्यक्त गर्दै, दोहोरिएमा त्यस विरुद्ध उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।