राजतन्त्र पुनर्स्थापनाका नाममा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा दुईजनाको निधन भएको छ ।
प्रहरीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ भने एक पत्रकारको प्रदर्शनकारीले लगाएको आगोमा जलेर ज्यान गएको छ । पढ्नुस्ः राजावादी हिंसाको शिकार भए पत्रकार: रिपोर्टिङ गर्दागर्दै आगोमा जलेर मृत्यु
अराजक भिडले काठमाडौंको तीनकुनेस्थित मुल सडकमा रहेको एक घरमा आगो लगाइदिएका थिए । र, त्यही घरको भित्रबाट भिडियो खिचिरहेका थिए एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजक ।
आगजनीमा ज्यान गुमाएका रजकको कार्यरत अवस्थाको अन्तिम तस्बिरमा उनी प्रदर्शनकारीको ढुंगामुढाबाट फुटेको उक्त घरका सिसाभित्रबाट भिडियो खिच्दै गरेको देखिन्छ ।

आगोमा अस्ताउनु अघि सुरेश यसरी रिपोर्टिङमा थिए । फोटोः उमेश कार्की ।
फेसबुकमा सार्वजनिक भएको उक्त तस्बिरमा रजक सुरक्षा भेस्ट लगाएर तोडफोड भएको भवनको झ्यालबाट आन्दोलनको दृश्य क्यामेरामा कैद गरिरहेको देखिन्छन् ।
तस्बिरमा फुटेका सिसाका टुक्राहरूको बीचबाट रजकले क्यानन क्यामेरा समातेर समाचार संकलन गरिरहेको देखिन्छ । पत्रकार नेता विश्वमणि सुवेदीका अनुसार यो अन्तिम दृश्य नेपालप्रेस अनलाइनका फोटो पत्रकार उमेश कार्कीले खिचेका हुन् ।
"यो अन्तिम दृश्य बन्यो सुरेश रजक भाइको । अघि नेपाल प्रेसकर्मी उमेशले ल्याएको फोटोलाई मैले फोटोकला मात्रै मानेको थिएँ", सुवेदीले फेसबुकमा लेखेका छन्, "रिपोर्टिङका क्रममा कोटेश्वर पुग्दा एक प्रहरी अधिकृतले तीनकुनेमा आगलागी भएको घरमा एक व्यक्ति मृत फेला परेको सुनाए । मैले तत्काल सम्पादक मातृका पौडेललाई सुनाएँ । तर, उनी सुरेश हुन् भन्ने थाहा पाइएन । पछि हल्ला चल्यो, ती सुरेश नै हुन् । एभेन्युजका समाचार प्रमुख साथी केदार कोइरालालाई सोधेपछि थाहा भयो, उनी सुरेश नै हुन् ।"
एभिन्यूज टेलिभिजनका सम्पादक शिव दाहाले शुक्रबार दिउसो २ बजेदेखि सम्पर्कविहीन रहेका रजकको आगजनीमा मृत्यु भएको साँझमात्र थाहा भएको बताए । "दिउँसो २ बजेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । हामी खोज्दै थियौँ," सम्पादक दाहालले मिडिया कुराकानीसँग भने, "अघि भर्खरै एउटा शव भेटियो भन्ने खबर आएपछि टेलिभिजनका अध्यक्ष भास्कर राजकर्णिकारसहित पुगेका थियौँ । जलेको अवस्थामा भेटिएको शव उहाँकै हो भन्ने पुष्टि भयो ।"
"राजावादीहरूको आन्दोलनको रिपोर्टिङ गर्नका लागि एभिन्यूजबाट ७ जना पत्रकारहरु गएका थियौँ । उहाँ त्यही घरमा बसेर रिपोर्टिङ गर्दै हुनुहुन्थ्यो । ६ जना फर्किनुभयो, रजकजी फर्कनुभएन", उनीसँगै रिपोर्टिङमा गएका एक पत्रकारले भने ।
रजक ज्यानकै जोखिम मोलेर तीनकुनेमा भएको प्रदर्शनको फुटेज लिइरहेकै अवस्थामा आगलागी भएको भवनमा फसेका थिए । नेपाल पत्रकार महासंघ लगायतका संघसंगठनले सुरेशको निधनमा दुख व्यक्त गरेका छन् ।
"जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र संचारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य हो," महासंघले भनेको छ ।