डा.कुन्दन अर्याल-
भर्खरै नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको तीनै तहका कार्यसमितिाका पदाधिकारीका लागि निर्वाचन सम्पन्न भएको छ । यसमा आबद्ध छापा, प्रसारण र अनलाइन पत्रकार वा व्यक्तिगत रूपमा काम गर्ने स्वतन्त्रसमेत गरी कुल १३ हजार पत्रकारले प्रत्यक्ष मतदान गर्न अवसर पाए । नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना प्रदान गर्दै यो क्षणमा भन्नै पर्नेछ – नेपाल पत्रकार महासङ्घको संरचनामा भएको यो फेरबदलसँगै यसले आफ्ना कार्यसूची र कार्यशैलीमा पनि परिमार्जन गर्नुपर्नेछ । लामो समय पञ्चायती निरङ्कुश कालमा व्यतित गरेको व्यावसायिक पत्रकारहरूको यो संस्थाले खासगरी छयालीस सालको परिवर्तनपछि नेपाली पत्रकारिताको क्षितिजमा आएको परिवर्तनले जन्माएका प्रत्यशाहरूको सम्बोधन गर्न सक्नुपर्छ । स्मरण गराउनै पर्छ, अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धनका लागि एउटा व्यावसायिक पत्रकारले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा महासङ्घले तय गर्नु पर्ने मार्गदर्शक अवधारणा र योजनाको काम धेरै पहिलेदेखि थाँती रहेको छ ।
सात सालपछिको लोकतान्त्रिक उत्साहको समयमै नेपाली पत्रकारिताको इतिहासमा तुलनात्मक रूपमा कम चिनिएका एक जना पत्रकार सत्यनारायण श्रेष्ठको नेतृत्वमा नेपालमा पत्रकार सङ्घको स्थापना भएको थियो । पाँच प्रतिशतभन्दा कम साक्षरता भएको र पत्रकारिताको अत्यन्त प्रारम्भिक समयमा पत्रकारहरूको संस्था सक्रिय भइरहन नसक्नु स्वाभाविकै थियो । त्यसको केही वर्षपछि वरिष्ठ राजनीतिक व्यक्तित्व कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपाल पत्रकार सङ्घलाई पुनर्जीवन प्रदान गरियो । नेपालको पहिलो आमनिर्वाचनभन्दा तीन वर्षअघि नेपाल पत्रकार सङ्घको अध्यक्ष बनाइनुभएका भट्टराईले बढ्दो राजनीतिक सक्रियताका क्रममा पत्रकारिताको दुनियाँमा सक्रिय भइरहन सम्भव थिएन । तर नेपाली पत्रकारहरूको संस्था उहाँको नेतृत्वपछिका दिनमा पनि निरन्तर अगाडि बढिरह्यो । समयक्रममा पञ्चहरूले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न नसकेपछि यसलाई फुटाउने प्रयत्न पनि गरे । तर टुक्रिएर गएको उही नामको राजभ पत्रकारहरूको जमात समयक्रममा विलुप्त भयो । पढ्नुस् गोरखापत्रमा प्रकाशित डा. कुन्दन अर्यालको लेख ।