एआईबाट बनाइएका भिडियोकाे पहिचान कसरी गर्ने ?

एआईबाट बनाइएका भिडियोकाे पहिचान कसरी गर्ने ?

  • फाल्गुण १९, २०८२ मंगलबार ०४:५२

चुनावको बेला एआईले बनाएका Deepfake भिडियोले तपाईँ हामीलाई सजिलै झुक्याउन सक्छन्


आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार, राजनीतिक दल र तिनका समर्थकहरू चुनावी प्रचारप्रसारमा व्यापक रूपमा डिजिटल माध्यम प्रयोग गरिरहेका छन् । केही वर्षअघिसम्म पोस्टर, सभा र टेलिभिजन र छापा विज्ञापनमा सीमित चुनावी प्रचारकाे मुख्य माध्यम अहिले सामाजिक सञ्जाल र डिजिटल प्लेटफार्म भएका छन् । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहज उपलब्धताले यसलाई अझ व्यापक बनाएको छ । अहिले साधारण प्रयोगकर्ताले समेत केही मिनेटमै एआई टुल प्रयोग गरेर भिडियो वा फोटो बनाउन सक्छन् । एआई स्लप भनिने निम्न गुणस्तरका यस्ता भिडियाेले सामाजिक सञ्जाल प्रयाेगकर्तालाई दिग्भ्रमित बनाएकाे विभिन्न अध्ययनले देखाएका छन् ।

चुनावी प्रतिस्पर्धा तीव्र हुँदै जाँदा एआईकाे प्रयाेग गरी मानिसहरूको धारणा नै परिवर्तन गर्ने वा चुनाव प्रभावित हुने हाे कि भन्ने चिन्ता बढेको छ । कतिपय भिडियो मिम अर्थात् हास्यव्यङ्ग्य सामग्रीका रुपमा वा मनोरञ्जनका लागि बनाइए पनि केही सामग्री प्रतिस्पर्धीलाई बदनाम गर्न, उम्मेदवार बा रे अफवाह र भ्रम फैलाउन वा मतदाताको धारणा प्रभावित गर्न फैलाइएकाे देखिन्छ । सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिने यस्ता भिडियोमध्ये कुन वास्तविक हो, कुन हाेइन भन्ने छुट्याउन झन् कठिन हुँदै गएको छ ।

यससँगै अर्को प्रवृत्ति पनि देखिएको छ ।  विवादास्पद भिडियो सार्वजनिक भएपछि खासगरी राजनीतिकर्मीले त्यसलाई ‘एआईले बनाएको’ भन्दै अस्वीकार गर्ने प्रवृत्ति बढेकाे छ । यसले वास्तविकता पत्ता लगाउने प्रक्रिया अझ जटिल बनाएको छ । त्यसैले एआई प्रविधिको बढ्दो प्रयोगबीच भिडियोको सत्यापन र तथ्य जाँच गर्ने क्षमता अहिले डिजिटल साक्षरताको महत्त्वपूर्ण हिस्सा बनेको छ।

एआई भिडियो किन विश्वसनीय जस्तो देखिन्छन् ?

मिडजर्नी, स्टेबल डिफ्युजन जस्ता एआई टुललाई प्रम्प्ट (निर्देशन) दिएपछि उसले आफूलाई तालिम दिइएकाे फाेटाे वा भिडियोकाे आधारमा जेनेरेट गर्छ । साे टुलकाे विकास गर्ने क्रममा इन्टरनेटमा उपलब्ध लाखौँ फोटो र भिडियोका नमुनाबाट उसलाई सिकाइएकाे हुन्छ । यी प्रणालीहरूले मान्छेका अनुहार, आवाज र वातावरणलाई नक्कल गर्न सक्षम भए पनि तिनले वास्तविक संसारका भौतिक नियम, ससाना विवरण र प्राकृतिक गुणलाई पूर्ण रूपमा दोहोर्याउन सक्दैनन् । यही कमजोरी नै एआई भिडियो पहिचान गर्ने आधार बन्नसक्छ ।

पहिले एआईबाट बनाइएका सामग्रीमा अनुहार विकृत देखिने, औँला बढी हुने वा पृष्ठभूमि अस्वाभाविक देखिने समस्या धेरै थियो । तर प्रविधि विकसित हुँदै जाँदा यी त्रुटिहरू कम हुँदै गएका छन् । अहिलेका उन्नत मोडलहरूले वास्तविक जस्तो भिडियो बनाउन सक्छन्, जसले सामान्य दर्शकलाई सजिलै भ्रमित गर्नसक्छ । त्यसैले अब केवल दृश्य हेरेर मात्र निर्णय गर्नु पर्याप्त हुँदैन । एआईबाट बनाइएका भिडियोकाे पहिचानका लागि विश्लेषणात्मक र आलाेचनात्मक दृष्टिकोण आवश्यक हुन्छ।

अनुहार, आँखा र ओठको बनावट र चालमा ध्यान दिनुहाेस् 

नेपाली कांग्रेसका सभापति गगन थापा एक हुल बाख्रा धपाउँदै शहरकाे एक सडक छेउ हिँडिरहेकाे भिडियाे भन्दै गरिएकाे दाबीकाे तथ्य जाँचमा साे एआई निर्मित भएकाे पत्ता लागेकाे थियाे ।

एआईकाे प्रयाेग गरी बनाइएका भिडियोकाे पहिचान गर्नका लागि सबैभन्दा पहिले अनुहारको भाव र बनावटमा ध्यान दिनुपर्छ । मानिसले बोल्दा आँखा चलिरहेकाे हुन्छ अनि अनुहारले विभिन्न भाव व्यक्त गरिरहेकाे हुन्छ । सास फेर्दाकाे लय र ओठको गति स्वाभाविक रूपमा बदलिन्छ । एआईकाे प्रयाेग गरी बनाइएका भिडियोमा यी सूक्ष्म विवरणहरु कहिलेकाहीँ नआउन सक्छन् ।

उदाहरणका लागि, कुनै व्यक्तिको भाषण देखाइएको भिडियोमा आवाज स्पष्ट भए पनि ओठको चाल उसले बाेलेका शब्दकाे उच्चारणसँग मेल नखान सक्छ । आँखाको झिम्काइ अस्वाभाविक रूपमा कम वा धेरै हुनसक्छ । अनुहार सर्लक्क मिलेकाे वा चिटिक्क परेकाे छ भने पनि त्याे ‘रेड फ्ल्याग’ हाे । कतिपय एआई निर्मित सामग्रीमा भाव देखिँदैन जुन वास्तविक मानवीय प्रतिक्रियाभन्दा फरक हुन्छ । यस्तो असङ्गति फेला पार्न भिडियाेलाई स्लो-मोशनमा राखेर हेर्नुहाेस् ।

वस्तुहरू एकअर्काबाट पार भएको देखिएमा सतर्क हुनुहाेस् 

एआईकाे प्रयाेग गरी बनाइएका भिडियोकाे अर्को कमजोरी भनेको भौतिक नियमहरूको असङ्गति हो । वास्तविक संसारमा दुई ठोस वस्तु एउटै स्थानमा एकै समयमा रहन सक्दैनन् । तर एआईले कहिलेकाहीँ वस्तुहरूलाई एकअर्कामा मिसिएको वा आरपार भएको जस्तो देखाउँछ ।

उदाहरणका लागि, माइक्रोफोन समातेको हात माइक्रोफोनसँग मिसिएको जस्तो देखिनु, कपडा शरीरबाट अस्वाभाविक रूपमा पार हुनु वा पृष्ठभूमिमा रहेका वस्तु अचानक आकार बदल्नु एआईको संकेत हुनसक्छ । विशेष गरी हात र औँलाहरू एआईका लागि चुनौतीपूर्ण भएकाले औँलाको संख्या, लम्बाइ वा चालमा अनियमितता देखिएमा भिडियोको सत्यापन वा तथ्य जाँच गर्नुपर्छ।

आवाज र दृश्यबीच असङ्गति

एआईकाे प्रयाेग गरी बनाइएका भिडियोमा आवाज र वातावरणीय ध्वनिबीच असङ्गति पनि देखिनसक्छ । भीडभाड भएको स्थान जस्तो देखिए पनि सुनसान हुनु, आवाज अत्यधिक प्रष्ट हुनु वा बोल्ने क्रममा सास फेरेकाे आवाज नआउनुले एआई निर्मित हाे भने शंका गर्ने ठाउँ हुन्छ ।

त्यस्तै,  कुनै दृ्श्यकाे पृष्ठभूमि एआईको अर्को कमजोर पक्ष हो ।पृष्ठभागमा भवन छन् र तिनका अक्षरहरू अस्पष्ट छन् भने एआई निर्मित हुनसक्छ । भीडमा रहेका मानिसहरूको अनुहार विकृत देखिनु वा पृष्ठभूमि लगातार बदलिँदै गएको जस्तो देखिनु एआईको संकेत हुन सक्छ । प्रकाश र छायाँको दिशा पनि जाँच्नुपर्छ । वास्तविक भिडियोमा प्रकाशको स्रोत अनुसार छायाँ मिलेको हुन्छ । तर एआई भिडियोमा यो पक्ष नमिलेकाे हुनसक्छ।

गलत सन्दर्भमा फैलाइएका भिडियाे 

एआईकाे प्रयाेग गरी बनाइएका भिडियोको चुनौती केवल प्रविधि मात्र होइन, सन्दर्भ पनि हो । चुनावकाे बेलामा प्रचार प्रसार तीब्र बन्दै जाँदा पुरानो भिडियोलाई नयाँ घटनासँग जोडेर प्रस्तुत गर्ने, फरक देशको दृश्यलाई नेपालको भनेर प्रचार गर्ने वा एआईद्वारा सिर्जित दृश्यलाई वास्तविक घटना जस्तो देखाउने समस्या आम बनेको छ ।

यसले मतदाताको धारणा प्रभावित गर्न सक्छ, विशेष गरी भावनात्मक वा विवादास्पद सामग्री छिटो भाइरल हुने भएकाले । कुनै भिडियो हेर्दा त्यसको स्रोत, प्रकाशन समय र विश्वसनीय समाचार माध्यममा पुष्टि भएको छ कि छैन भन्ने जाँच गर्नु आवश्यक हुन्छ।

एआई डिटेक्सन टुल प्रयाेग गर्नुहाेस् 

एआई डिटेक्टर टुलहरूले भिडियो वा फोटोमा एआई प्रयोग भएको सम्भावना देखाउन सक्छन् । Hive Moderation, AI or Not वा InVID जस्ता टुलहरू पत्रकार र अनुसन्धानकर्ताले प्रयोग गर्छन् । यी टुलहरूले पिक्सेल स्तरमा विश्लेषण गरेर एआईकाे प्रयाेग गरिएको हाे कि हाेइन भनी खोज्ने प्रयास गर्छन् । सामाजिक सञ्जाल प्रयाेगकर्ताले शंका लागेकाे फाेटाे वा भिडियाे यी टुलमा अपलाेड गरी जाँच्न सक्छन् ।

तर यी टुलहरु पूर्ण रूपमा विश्वसनीय हुँदैनन् । कहिलेकाहीँ वास्तविक सामग्रीलाई एआई भन्न सक्छन् वा एआई सामग्रीलाई वास्तविक भनेर देखाउन सक्छन् । त्यसैले प्राविधिक टुललाई सहायक साधनको रूपमा प्रयोग गर्नुपर्छ । अन्तिम निर्णय आफै गर्नुपर्छ ।

आलाेचनात्मक साेच राख्नुहाेस्

एआई भिडियोको छ्यापछ्याप्ती भएकाे अहिलेकाे युगमा सबैभन्दा महत्त्वपूर्ण विधा भनेकाे आलोचनात्मक सोच हो । कुनै सामग्री अत्यधिक सनसनीपूर्ण, भावनात्मक वा तुरुन्त शेयर गर्न आग्रह गर्ने खालको छ भने तथ्य जाँच गर्नु आवश्यक हुन्छ । स्रोतको विश्वसनीयता, अन्य प्रमाण, विभिन्न कोणबाट उपलब्ध दृश्य र समाचार रिपोर्टहरूको तुलना गरेर मात्र निष्कर्षमा पुग्नु उचित हुन्छ ।

डिजिटल प्लेटफर्ममा सामग्री उत्पादन र वितरणमा सहजता आएसँगै गलत सूचना फैलाउने क्रम ह्वात्तै बढेको छ । विशेष गरी चुनावकाे बेलामा एआई प्रयोग गरी बनाइएका भिडियोहरूले लोकतान्त्रिक प्रक्रियामा प्रभाव पार्न सक्छन् । त्यसैले सचेत हुनु, सामग्रीलाई आलोचनात्मक दृष्टिले हेर्नु र तथ्य जाँच गर्ने बानी विकास गर्नु अहिलेको डिजिटल युगको अपरिहार्य आवश्यकता बनेको छ।


तथ्य-जाँच प्लाटफर्म नेपाल चेक (nepalcheck.org) मा प्रकाशित यो जनचेतनामूलक सामग्री मिडिया कुराकानीले साभार गरी प्रकाशित गरेको हो । मूल सामग्री पढ्न नेपालचेक डट ओआरजीमा जानुहोस् ।


Related Story

AI बनाउनेहरू बने Time वर्ष व्यक्ति | Time's 2025 Person of the Year

सन् १९५० मा कम्प्युटर 💻 लाई वर्ष व्यक्ति घोषणा गर्दै Time ले हेडलाइन राखेको थियो the thinking machine अर्थात्

कसरी सुधार्ने एआई नीतिको मस्यौदा ?

नेपाल सरकारले सार्वजनिक गरेको कृत्रिम बुद्धिमत्ता (एआई) नीतिको मस्यौदामा कमजोरीहरू रहेको विज्ञहरूले औंल्याएका छन् । डिजिटल राइट्स नेपाल र एआई एसोसिएसन

एआई नीतिको मस्यौदा तयार, एआई नियमन परिषद् गठन गर्ने सरकारको तयारी

नेपाल सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (AI) नीति २०८१ को मस्यौदा सार्वजनिक गरेको छ। सूचना तथा प्रविधि मन्त्रालयले तयार पारेको यो

विश्वकै पहिलो मिस एआई केन्जा लइलीलाई चिन्नुहोस् #MissAI #KenzaLayli

मोरक्कोकी केन्जा लइली विश्वकै पहिलो मिस एआई घोषित भएकी छन् । वर्ल्ड एआई क्रिएटर अवार्ड्स (वाइका)द्वारा आयोजित मिस एआई प्रतियोगितामा

विश्वकै पहिलो मिस एआई प्रतियोगिता: यी हुन् उत्कृष्ट १० मेसिन सुन्दरी

मिस युनिभर्स, मिस वर्ल्ड, मिस नेपाल जस्ता वर्षैपिच्छे भइरहने सुन्दरी प्रतियोगिताबारे तपाईँलाई पक्कै थाहा छ । तर मिस एआई तपाईँका

नेपालमा पहिलोपटक एआईको प्रयोग सम्बन्धी अवधारणापत्र तयार [पूर्णपाठ]

सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स(एआई) अर्थात् कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास