यस्तो ‘दिव्यज्ञान’ बाँड्ने प्राध्यापक को हुन् ? मोही माग्ने ढुंग्रो लुकाउने ? 

यस्तो ‘दिव्यज्ञान’ बाँड्ने प्राध्यापक को हुन् ? मोही माग्ने ढुंग्रो लुकाउने ? 

  • जेठ १५, २०७८ शनिबार १८:१९

यो सामग्रीमा २०७८ साल जेठ १४ गते शुक्रबार गोरखापत्र दैनिकमा प्रकाशित एउटा लेखको चर्चा गरिँदैछ । स्तम्भको नाम हो- ‘उल्टो सुल्टो’ । सम्पादकीय पृष्ठमा मुख्य लेखका रुपमा प्रकाशित यो लेखका लेखक कृष्णमुरारी भण्डारी हुन् । 

पत्रपत्रिकाका नियमित पाठक सम्भवतः कृष्णमुरारी भण्डारीको नाम आएपछि ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ सम्झन्छन् । लामो समय कान्तिपुर दैनिक र पछि अन्नपूर्ण पोस्ट दैनिकमा उनको चर्चित स्तम्भ ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ छापिन्थ्यो । अहिले यो स्तम्भ बन्द छ, कारण भण्डारी गोरखापत्र संस्थानमा कार्यकारी अध्यक्ष छन् ।  

बरु सरकारी दैनिक गोरखापत्रमा भण्डारीको ‘उल्टो सुल्टो’ स्तम्भ छापिने गर्छ । शुक्रबार छापिएको भण्डारीको लेख परिवार सहित आफू कोभिड-१९ बाट सङ्क्रमित भएपछि घरभित्रै थुनिएको प्रसङ्गबाट सुरु हुन्छ । ‘ढोकैमा आएर काल फर्किएझैँ भयो’, उनले लेखेका छन् । यहाँ चर्चा गर्न खोजिएको प्रसङ्ग भने यो होइन । पहिला, लेखमा के छ विशेष, त्यसबारे चर्चा गरौँ । 

के छ भण्डारीको लेखमा ?

नेताले राजनीतिक निर्णय गर्न चुकेपछि’ शीर्षकको यो लेखमा कोभिड-१९ महाव्याधिको सङ्कटको कुरा छ, खोपको कुरा छ, यही सङ्कटका बीचमा जारी राजनीतिक अन्तरकलहको कुरा छ, व्याख्याका लागि सर्वोच्च पुगेको संविधानको धारा ७६ को कुरा छ, राजनीतिक पार्टी र नेताहरूको अक्षमताको पनि चर्चा छ, कसरी शक्ति पृथकीकरण क्षीण हुँदै छ भन्ने विश्लेषण पनि छ । यहाँसम्म लेखमा समस्या देखिँदैन । तर लेखमा अचानक एकजना बेनामे प्राध्यापकको  प्रवेश हुन्छ । त्यसपछि सारा समस्या निम्तन्छ । 

आफ्नो तर्क वा दाबीलाई पुष्टि गर्न वा बल पुर्‍याउन लेखमा विभिन्न तथ्य, तथ्याङ्क, उदाहरण वा उद्धरण राख्नु सामान्य कुरा हो तर भण्डारीले जसरी यो लेखमा ती बेनामे प्राध्यापकको भनाइ पटक पटक प्रयोग गरेका छन्, उनको लेखकीय विश्वसनीयतामा समेत सङ्कट निम्त्याएको छ । पत्रकारितामा बेनामे स्रोतको प्रयोगलाई वाञ्छनीय मानिए पनि विचार तथा लेखमा सामान्यतः त्यसो गरेको देखिँदैन । यद्यपि यो बहसको विषय भने हुन सक्छ । राजनीतिशास्त्रका ती बेनामे प्राध्यापकका तर्क चाहिँ कस्ता छन् हेरौँ । 

प्राध्यापकको दिव्यज्ञान  

भण्डारीको लेखको पछिल्लो आधा भागमा ती बेनामे प्राध्याक पूर्ण रुपमा हाबी भएका छन् । आउनुस् एकैछिन  लेखक भण्डारीले ‘राजनीतिशास्त्रका एक प्राध्यापक’ का रुपमा चिनाएका ती ‘विद्वान’ का ‘दिव्यज्ञान’ मा डुबुल्की मारौँ ।  

राजनीतिशास्त्रका एक प्राध्यापक भन्नुहुन्छ…

उनले भने...

प्राध्यापक भन्छन्…

...प्राध्यापक भन्नुहुन्छ ।

राजनीतिशास्त्रका प्राध्यापक भन्नुहुन्छ…

...प्राध्यापक भन्नुहुन्छ ।

प्राध्यापक कटाक्ष गर्छन्...

भण्डारीको लेखमा ती प्राध्यापकका कुरालाई माथि उल्लेख गरे जसरी विभिन्न ठाउँमा प्रयोग गरिएको छ । ती सबैमा पालैपालो जाउँ । 

बेनामे प्राध्यापकका अनुसार प्रधानमन्त्रीले एकपछि अर्को निर्णयहरू गरिरहँदा अरु नेताहरू अलमलिएका छन् । 

राजनीतिशास्त्रका एक प्राध्यापक भन्नुहुन्छ, प्रधानमन्त्री केपी ओली एकपछि अर्को राजनीतिक निर्णयहरू गरिरहनु भएको छ । तर अरू नेताहरूले राजनीतिक चाल चल्न सकेनन् । अलमलिए । 

लेखका अनुसार ती प्राध्यापकले ओलीको निर्णय क्षमतालाई सूक्ष्मरूपमा विष्लेषण गरिरहेका छन् । 😅 यतिसम्म कि ती प्राध्यापक मदन भण्डारी पनि ओलीसँग सल्लाह लिन्थे । ती प्राध्यापककाअनुसार माधव नेपाल तीन कार्यकाल पार्टी नेतृत्वमा रहँदा पनि ओलीको धारणा लिन्थे रे । अहिले माधव नेपालमा कूटनीतिक कौशल र सालिनता हराएको पनि ती प्राध्यापक भन्छन् ।

ओलीको निर्णय क्षमतालाई सूक्ष्मरूपमा विश्लेषण गरिरहेका उनले भने – माधव नेपालको त के कुरा स्वयम् मदन भण्डारी पनि राजनीतिक गाँठो फुकाउन ओलीसँग ‘कन्सल्टेसन’ गर्नुहुन्थ्यो । माधव नेपाल तीन कार्यकाल एमालेको सर्वेसर्वा हुँदा सधैँ केपी ओलीको धारणा लिएर अघि बढ्नु हुन्थ्यो । अहिले ओलीबाट टाढिनु भयो, उहाँ आक्रोसमात्र ओकलिरहनु भएको छ । खै हिजोको माधव नेपालमा जस्तो कूटनीतिक कौशल र सालिनता ? जोसँग निर्णय गर्ने क्षमता थियो, उही अगाडि बढ्यो । निर्णय कौशलताविहीन भएपछि नेपालको ‘श्री’ बिलायो ।

ती प्राध्यापकका अनुसार केपी ओलीसँग दुईवटा क्षमता छन् रे । पहिलो,  विलक्षण निर्णय क्षमता । दोस्रो, जुनसुकै समस्याको पनि समाधान खोजेर निर्णयमा पुग्ने कौशल । 😏 यिनै विशेषताका कारण ओली राजनेतामा रूपान्तरित भएको ती प्राध्यापक ठान्छन् रे ।  

प्राध्यापक भन्छन्, केपी ओलीसँग दुई वटा विशेषता छन् – पहिलो, स्वार्थ राखेर वा नराखिकन उहाँ निर्णय गर्न सक्नुहुन्छ । उहाँमा विलक्षण निर्णय क्षमता छ र त्यो सरल र सहज रूपमा अभिव्यक्त गर्नसक्ने खुबी पनि छ । दोस्रो, नमिलेका कुरा भोलि सुधार्दै जाउँला तर अनिर्णयको बन्दी भएर आज बस्नु हुँदैन भनी जुनसुकै समस्याको पनि समाधान खोजेर निर्णयमा पुग्ने कौशल छ । उहाँ हलो अड्काउने र गोरु पड्काउने पक्षको व्यक्ति होइन । उहाँ पहिलेदेखि राजनीतिक निर्णय गर्न माहिर हुनुहुन्छ । यही विशेषता र क्षमताको कारण ओली देशको सबैभन्दा ठूलो पार्टीको प्रमुख र मुलुकको कार्यकारी बन्नु भएको हो । उहाँको त्यही क्षमताको कारण भारतले लगाएको ज्यानमारा नाकाबन्दीको समयमा पनि त्यही विशेषताका कारण राजनेतामा रूपान्तरित हुनु भएको हो ।

ओलीको क्षमतालाई उनी वरिपरि झुम्मिनेहरूले ‘मिसयुज’ र ‘एब्युज’ पनि गरेका छन् रे । तर ओलीसँग यस्तो कुरा थाहा पाएपछि तिनीहरूलाई नारायणहरि बनाउन सक्ने अर्को खुबी पनि छ रे । 😁

मनमोहन अधिकारीको मन्त्रिपरिषद्‍मा गृहमन्त्री हुँदा उहाँले त्यो कौशलको छनक देखाइसक्नु भएको थियो । आशा पनि जगाउनु भयो । कहिलेकाहीँ उहाँको त्यो क्षमतालाई उहाँ वरिपरि झुम्मिनेहरूले ‘मिसयुज’ र ‘एब्युज’ पनि गरेको देखिन्छ । तर त्यसो गरेको थाहा पाएपछि तिनलाई नारायणहरि बनाउन सक्ने अर्को खुबी पनि ओलीमा छ– प्राध्यापक भन्नुहुन्छ ।

ओलीलाई मेकाभेलीसँंग तुलना गर्नेहरूलाई ती प्राध्यापकको जवाफ छ रे । कसले तुलना गर्‍यो ओलीलाई मेकाभेलीसँग ? 👅 प्राध्यापक/बुद्धिजीवीहरूले समाजलाई दिग्भ्रमित तुल्याए रे । पूर्वाग्रही भए रे । कतिपय राजनीतिक विश्लेषकहरूले सिङ्गो समाजलाई ‘कन्फुज, मिसयुज र एब्युज’ गरे रे । 

ओलीलाई मेकाभेलीसँंग तुलना गर्नेहरूलाई जवाफ दिँदै राजनीतिशास्त्रका प्राध्यापक भन्नुहुन्छ, छ सय वर्षअघिको मेकाभेली चिन्तनसँग जोडेर एउटा सर्वसाधारण वृत्तबाट बनेको राजनेताको क्षमतालाई अवमूल्यन गर्नु भनेको आजको एक्काइसौँ शताब्दीमा पारदर्शी, प्रभावशाली, लोकतान्त्रिक सभ्यताकै अबमूल्यन गर्नु हो । आफ्नै विरादरीका प्राध्यापक/बुद्धिजीवीहरूले तथ्य, तर्क र लोकतान्त्रिकपनबाट राजनीतिक विश्लेषण गर्न नसक्दा समाजलाई नै दिग्भ्रमित तुल्याउने अभ्यास भइरहेको छ । वैचारिक विविधताको वकालत गर्ने तर बाह्रमासे पूर्वाग्रहीभावले आलोचना गर्ने हुँदा कतिपय राजनीतिक विश्लेषकहरूले सिङ्गो समाजलाई नै ‘कन्फुज, मिसयुज र एब्युज’ गरिरहेका हुन्छन् ।

केपी ओलीको राजनीति नै गणतन्त्र स्थापनाका लागि भएको हो रे । 😂

केपी ओलीको राजनीति नै गणतन्त्र स्थापनाका लागि सुरु गर्नुभएको हो, प्राध्यापक भन्नुहुन्छ । किशोरावस्थामा राजनीतिमा प्रवेश गर्दादेखि नै उहाँ गणतन्त्रका लागि हिँडेको, १४ वर्ष जेलनेल बेहोरेको, गणतन्त्रका लागि सधैँ राजनीति गरेको व्यक्ति हो । 

ती बेनामे प्राध्यापक ओलीलाई गणतन्त्रविरोधी र अधिनायकवादी देख्नु भनेको ‘सय चुहा खाके बिल्ली चली हज’ भनेजस्तै हो रे । यस्तो आरोप लगाउनु भनेको अस्थिरता सिर्जना गरेर लाभ लिन खोज्नु हो रे । 😜

राजतन्त्र, पञ्चायत, बहुदलीयकालमा सधैँ घिउ चाटेका, तर खाएका, दूध पिएका, डकारेका, हैसियत र नाम पनि बनाउने चतुर छट्टु बुद्धिजीवीहरूबारे प्राध्यापक कटाक्ष गर्छन्– नाम र स्थानसहितको परिचय बनाएका लाउकेहरूले ओलीलाई गणतन्त्रविरोधी र अधिनायकवादी देख्नु भनेको ‘सय चुहा खाके बिल्ली चली हजको’ भनेजस्तै हो । गणतन्त्रको जननी आन्दोलनमा समाहित ओली जसले ०७२ असोज ३ गते संविधान जारी गर्न जुन निर्णायक भूमिका निर्वाह गर्नुभयो त्यो योगदानलाई यति छिट्टै बिर्सन खोज्नु भनेको अझै अस्थिरता सिर्जना गरेर लाभ लिन खोज्नु हो ।

अन्त्यमा, यो लेख पढिसकेपछि उठेका प्रश्नमा जानुअघि एकपटक सोसल मिडियामा यो लेखमाथि आएका केही प्रतिक्रियामा जाउँ । पत्रकार लिलाराज खनाल 'सफेद झुट, आधारहीन तथा अमुक प्राध्यापकको हवाला दिएर पदमा टाँसिन चाकरी गरेर लेखिएको कथा गोरखापत्रमा छपाएर दासताको नमूना देखाएको' फेसबुकमा लेख्छन् ।

पत्रकार नारायण अमृत ट्‍विटरमा लेख्छन् - त्यस्तो शक्तिशाली लेखक। त्यस्तो निडर र निर्भिक। मेरो कृष्णमुरारी दाइको यो रुप। म के भनुँ? शब्दहरु आफैं लजाउने भए । 

नारायण थप लेख्छन्- कान्तिपुरको क्यान्टिनमा गफिँदै हामी जुनियरहरूलाई दाइले 'पत्रकारहरु सधैं सत्ताको विपक्षमा हुनुपर्छ' भनेको हिजो जस्तै लाग्छ।

पत्रकार सन्तोष आचार्य लेख्छन्- ‘सत्ता यस्तो गाजलको कोठा हो जहाँ औसत मान्छे लतपतिन्छ । हाम्रा प्रिय दाई अपवाद हुन रुचाएनन् ।’

धेरैको प्रश्न छ- को हुन् ती राजनीतिशास्त्रका प्राध्यापक ? पत्रकारसँग स्रोत माग्नु हुँदैन भनेर शंकाको सुविधा दिए पनि प्रश्नहरू आउन छोडेनन् । जस्तोः

पहिलो, ‘राजनीतिशास्का एक प्राध्यापक’ का तर्कहरू लेखमा बग्रेल्ती थुपारे पनि लेखकले ती प्राध्यापकको परिचय भने गोप्य राखेका छन् । लेखकले ती प्राध्यापकको नाम किन उल्लेख नगरेका होलान् ? ती प्राध्याकको परिचय किन गोप्य राख्न चाहेका होलान् ? ती प्राध्यापकले यी सबै कुरा लेखकसँग भनेका हुन् कि कतै लेख लेखेर भनेका हुन् कि अन्तर्वार्तामा भनेका हुन् कि वा कतै पुस्तक वा जर्नल आर्टिकल लेखेर भनेका हुन् कि कहाँ भनेका हुन् ? किन लेखकले ती प्राध्यापकको नाम लुकाएर मोही माग्ने ढुङ्ग्रो लुकाउने काम गरे होलान् ?

दोस्रो, कोही बेनामे प्राध्यापकको हवाला दिएर लेखकले मरिसकेको मान्छेलाई सिरानी राखेर कथा रचेका छन् । माधव नेपालले राजनीतिक निर्णयका क्रममा हिजो ओलीको धारणा वा परामर्श लिन्थे वा लिँदैनथे यसबारेमा बताउलान् किनभने उनी जिउँदै छन् तर बितिसकेका मदन भण्डारीले ओलीसँग सल्लाह लिन्थे भन्ने कुराको प्रमाण के हो ? कोही बेनामे प्राध्यापकको हवाला दिएर लेखकले यस्तो अपुष्ट कुरा दाबी गर्नु लेखकीय दायित्व भित्र पर्छ र ? 

तपाईँलाई के लाग्छ ? कमेन्टमा लेख्नुहोस् । 


Related Story

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य छैन, तर मिडियाले फैलाए यस्तो भ्रम

माघ १ गतेदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको भन्दै कतिपय मिडियाले भ्रामक समाचार लेखेका छन् अपडेटः राष्ट्र बैंकबाटै फरक

धादिङमा बाघले मान्छे आक्रमण गरेको समाचारको बास्तविकता के हो ?

फागनु २६ गते शनिबार साँझ साढे ५ बजे धादिङको नीलकण्ठ एफएम डटकमले निलकण्ठ ९ मुरलीभज्याङमा दिउँसै बाघको आक्रमण, एक जना

कान्तिपुरको समाचारमा छुटेको एउटा नाम- जन्मदेव जैसी

आधारभूत पत्रकारिताको पहिलो कक्षामा समाचार लेखन सिक्दा/सिकाउँदा आउने पहिलो कुरा हो- 5W1H । अर्थात्, What (के), Who (को), When (कहिले), Where

पार्टी कार्यालयको स्केच छापेर समृद्धिको सपना ?

२०७८ वैशाख १० गते गोरखापत्र दैनिकको प्रथम पृष्ठ । चार कोलममा बक्सभित्र छापिएको समाचारको शीर्षक छ- समृद्धिको अपेक्षा पूरा हुन्छ