फागनु २६ गते शनिबार साँझ साढे ५ बजे धादिङको नीलकण्ठ एफएम डटकमले निलकण्ठ ९ मुरलीभज्याङमा दिउँसै बाघको आक्रमण, एक जना घाइते भन्दै समाचार पोस्ट गर्यो ।
नीलकण्ठ एफएमले 'धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ मुरलीभज्याङस्थित काउली घुम्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएको' लेखेको छ । 'बाख्रालाई बाघले आक्रमण गर्न खोज्दा बाघसँग नवराज राउतको जम्काभेट भएको' समाचारमा लेखिएको छ ।
तर डिभिजन वन कार्यालय धादिङका अनुसार आक्रमण गर्ने बाघ भने होइन ।
डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले समाचारमा लेखिएजस्तो आक्रमण गर्ने बाघ नभएको बताउँछन् । "जसलाई आक्रमण गरेको हो, उहाँ सामान्य उपचारपछि घर फर्किसक्नुभयो,उहाँलाई सामान्य चोट लागेको थियो," आचार्यले भने, "यदि बाघकै आक्रमण हुन्थ्यो भने त्यति सानो चोट हुँदैनथ्यो । ठूलै चोट लाग्थ्यो ।"
"योङ (किशोर) चितुवा अथवा नियाले चितुवा हुनसक्छ तर, बाघ होइन”, उनी थप्छन् ।
वातावरण तथा पर्यटनका विषयमा लेखिरहने धादिङका पत्रकार तथा टुरशालाका प्रधानसम्पादक राजु झल्लु प्रसादले पनि त्यो बाघ नभएको कुरामा विश्वास मान्छन् । “पत्रकारहरूमाझ संरक्षण र वातावरण शिक्षा पुर्याउन सकिएको छैन”, उनी भन्छन्, “चितुवा, चरी बाघ जे भए पनि बाघ नै भनिदिन्छन् । तर, बाघभन्दा चितुवा सानो हुन्छ र आकारमा पनि छरितो हुन्छ । बाघको ठाडो धर्सा र चितुवाको थोप्लो हुने हुँदा चिन्न पनि सजिलो छ ।”
चितुवाको आक्रमणलाई पनि बाघको भनेर अतिरन्जित गर्ने प्रवृत्ति बढेको उनी बताउँछन् । "चितुवा ७७ जिल्लामै पाइनाले र यसले बाघको वृद्धिसँगै मध्यवर्ती क्षेत्र र बस्तीमा बढी पस्ने हुनाले आक्रमणको अनुपात पनि बढेको छ । चितुवाको आक्रमणलाई पनि बाघको आक्रमण भनेर अतिरन्जित हुँदा बाघ बढाएकोमा विश्व प्रशंसा पाएको नेपाललाई घाटा हुन्छ", उनी भन्छन्, "आम मानिसमा पनि त्रासदी फैलिन्छ । हतारिएर ब्रेकिङ दिने मनोरोगको कारण हुन सक्छ ।"
कहाँ चुक्यो मिडिया ?
नीलकण्ठ एफएमको समाचारमा लेखिएको छ, 'पौने पाँच बजेतिर बाघको आक्रमणबाट स्थनीय ३६ वर्षिय नवराज राउत घाइते हुनुभएको किबो बोर्डिङका प्रिन्सिपल प्रयास रेग्मीले जानकारी दिनुभयो ।' समाचारमा असम्बन्धित व्यक्ति वा निकायलाई विश्वास गर्दा तथा उसैको उद्दरण प्रयोग गर्दा मिडिया चुकेको देखिन्छ ।
"मैले अघि पनि भने त्यो बाघ होइन, चितुवा हो”, डिएफओ आचार्य भन्छन्, “पत्रकारहरूले सम्बन्धित निकाय वा जानकारलाई नै सोधेमा यस्तो त्रुटि हुँदैन ।”
समाचारको अन्तिम अनुच्छेदमा लेखिएको छ, "...पिच सडककै छेउमा बाघले आक्रमण गरेपछि स्थानीयहरू त्रसित बनेका छन् । स्थानीयहरुले बाघ नै भनेपनि बाघ हो कि होइन भन्ने यकिन भने हुन सकेको छैन ।"
यो हरफले नीलकण्ठ एफएमले भिजिटर बढाउने हतारोमा बाघ हो वा होइन पुष्टि नै नगरी बाघले आक्रमण गरेको दाबी गरेको देखिन्छ ।