बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य छैन, तर मिडियाले फैलाए यस्तो भ्रम

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य छैन, तर मिडियाले फैलाए यस्तो भ्रम

  • पौष २७, २०८१ शनिबार ००:०३

माघ १ गतेदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको भन्दै कतिपय मिडियाले भ्रामक समाचार लेखेका छन् 


अपडेटः राष्ट्र बैंकबाटै फरक फरक व्याख्या आएपछि सिर्जना भएको भ्रम हाम्रो यो सामग्रीबारेको स्पष्टीकरणका लागि पढ्नुस्ः राष्ट्रिय परिचयपत्र अनिवार्य कि विकल्प? राष्ट्र बैंककै अधिकारीका दुईथरी कुराले भ्रम फैलियो


पुस २६ गते प्रकाशित कतिपय दैनिक पत्रपत्रिका तथा समाचार पोर्टलहरूले माघ १ गतेदेखि बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको समाचार छापेका छन् ।    

यी केही मिडियाका समाचार शीर्षक हेरौँ । 

  • माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य (सेतोपाटी)
  • बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य (कारोबार)
  • माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य (रातोपाटी)
  • बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य (नागरिक)
  • १ माघदेखि बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य (नयाँ पत्रिका)
  • बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य (टेक्नोलोजीखबर)
  • अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने (नेपालप्रेस)
  • अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य (सुत्रन्युज)
  • माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य…(बिजमाण्डू)

समाचारका यी शीर्षकहरू पढ्दा तपाईँले के बुझ्नुभयो ? पक्कै पनि यी शीर्षकमात्र पढ्दा अब बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य (नभई नहुने) भएछ भन्ने बुझिन्छ । 

तर बास्तविकता यस्तो होइन । नेपाल राष्ट्र बैंकले बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको नभई बैंकहरूलाई अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि खाता खोल्नू चाहिँ भनेको हो । 

NID Card News (1).png

समाचारको शीर्षक मात्र होइन, पेटबोलीमा पनि यस्तै भ्रामक विषय पत्रपत्रिका र अनलाइनहरूले राखेका छन् । 

जस्तो, कारोबार दैनिकले “राष्ट्र बैंकले आउँदो माघ १ देखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने व्यवस्था गरेको” उल्लेख गरेको छ । 

नागरिक दैनिकले “नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन तथा परिमार्जन गरी माघ १ गतेदेखि लागु हुने गरी बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने व्यवस्था गरेको” लेखेको छ । 

नयाँ पत्रिका दैनिकमा “नेपाल राष्ट्र बैंकले १ माघदेखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको” तथा “बैंक तथा वित्तीय संस्थालाई अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा नम्बरका आधारमा मात्रै खाता खोल्नुपर्ने व्यवस्था गरेको” लेखिएको छ । 

नेपालप्रेसले “अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने भएको छ” भनेको छ । 

इन्सुरेन्सखबरले “नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्दा ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरेको” लेखेको छ । 

सुत्रन्युजले पनि “नेपाल राष्ट्र बैंकले आगामी १ माघदेखि राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा मात्रै बैंक खाता खोल्ने निर्देशन दिएको” लेखेको छ । 

नेपालसमयले “आउँदो माघ १ देखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने व्यवस्था गरेको” उल्लेख गरेको छ । 

बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप गर्दै पुस २५ गते बिहीबार बैंकहरूलाई परिपत्र गरेको हो । 

क, ख, र ग वर्गका बैंकको निर्देशन नं. १९/०८० को बुँदा नं. २ को (१) मा गरिएको संशोधन र पूर्वाधार विकास बैंकको निर्देशन नं. १७/०८० को बुँदा नं. २ को (८) मा थप गरिएको व्यवस्था अनुसार “संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।”

यसको अर्थ पहिला जसरी नागरिकताका आधारमा बैंकमा खाता खोल्न पाइन्थ्यो त्यसलाई खारेज गरेको होइन, बरु त्यसमा राष्ट्रिय परिचयपत्र पनि थप गरिएको हो । बरु राष्ट्र बैंकको यो अनिवार्यता बैंकहरूका लागि हो । यसअघिसम्म बैंकमा खाता खोल्न ग्राहक पहिचान (केवाईसी) हुनुपर्थ्यो भने अब राष्ट्रिय परिचयपत्रले ती सबै विवरणहरूमा बैंकलाई पहुँच हुनेछ । 

“हाम्रो निर्देशन बैंकहरूलाई हो, त्यसो त नागरिकहरूको सरोकारको विषय पनि भइहाल्यो”, नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले मिडिया कुराकानीसँग भने, “बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको होइन कि त्यसलाई पनि समावेश गर्नू भनिएको हो, यसबारे भ्रम नहुने गरी स्पष्ट सन्देश प्रवाह गरिदिनुहोला ।” 

जसले सही लेखे

सबै पत्रिकाहरूले भ्रम छरेका भने छैनन् । जस्तो, कान्तिपुर दैनिकले शीर्षक लेखेको छ- राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्ने सुविधा । कान्तिपुरले “राष्ट्रिय परिचयपत्रका आधारमा पनि माघ १ देखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको” लेखेको छ । कान्तिपुरले राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलको प्रतिक्रिया पनि राखेको छ । उनले राष्ट्रिय परिचयपत्रका आधारमा मात्र बैंक खाता खोल्ने भन्ने आशय नरहेको बताएका छन् ।

‘हाल सबै नागरिकसँग राष्ट्रिय परिचय हुन्छ भन्ने छैन, यसकारण बैंक खाता खोल्दा त्यसलाई अनिवार्य गरिएको होइन,’ कान्तिपुरसँग उनले भनेका छन्, ‘नागरिकताका आधारमा बैंक खाता खोल्नू भन्ने निर्देशन यथावत् छ, अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर दिए पनि बैंकले खाता खोलिदिनुपर्छ ।” 

अनलाइनखबरले “नेपाल राष्ट्र बैंकले आगामी १ माघदेखि राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा बैंक खाता खोल्न निर्देशन दिएको” उल्लेख गरेको छ । 

टेकपानाले “आउँदो माघ १ देखि राष्ट्रिय परिचयपत्रको आधारमा बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न सकिने भएको” लेखेको छ । 


Related Story

धादिङमा बाघले मान्छे आक्रमण गरेको समाचारको बास्तविकता के हो ?

फागनु २६ गते शनिबार साँझ साढे ५ बजे धादिङको नीलकण्ठ एफएम डटकमले निलकण्ठ ९ मुरलीभज्याङमा दिउँसै बाघको आक्रमण, एक जना

कान्तिपुरको समाचारमा छुटेको एउटा नाम- जन्मदेव जैसी

आधारभूत पत्रकारिताको पहिलो कक्षामा समाचार लेखन सिक्दा/सिकाउँदा आउने पहिलो कुरा हो- 5W1H । अर्थात्, What (के), Who (को), When (कहिले), Where

यस्तो ‘दिव्यज्ञान’ बाँड्ने प्राध्यापक को हुन् ? मोही माग्ने ढुंग्रो लुकाउने ? 

यो सामग्रीमा २०७८ साल जेठ १४ गते शुक्रबार गोरखापत्र दैनिकमा प्रकाशित एउटा लेखको चर्चा गरिँदैछ । स्तम्भको नाम हो- ‘उल्टो

पार्टी कार्यालयको स्केच छापेर समृद्धिको सपना ?

२०७८ वैशाख १० गते गोरखापत्र दैनिकको प्रथम पृष्ठ । चार कोलममा बक्सभित्र छापिएको समाचारको शीर्षक छ- समृद्धिको अपेक्षा पूरा हुन्छ