२०७८ वैशाख १० गते गोरखापत्र दैनिकको प्रथम पृष्ठ । चार कोलममा बक्सभित्र छापिएको समाचारको शीर्षक छ- ‘समृद्धिको अपेक्षा पूरा हुन्छ’ ।
दुईवटा उपशीर्षकसहित दोस्रो पृष्ठमा ‘जम्प’ गरिएको समाचारमा दुईवटा तस्बिर र तिनीहरूको क्याप्सन पनि छापिएको छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मास्क लगाएर भाषण गर्दै गरेको तस्बिर दायाँतिर छापिएको छ भने ओलीले बिहीबार बल्खुमा शिलान्यास गरेको नेकपा एमालेको केन्द्रीय कार्यालयको भवनको डिजाइन बायाँतिर छापिएको छ ।
क्याप्सनमा लेखिएको छ- नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा बिहीबार मदननगर, बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली । नयाँ बन्ने भवनको स्केच (बायाँ) ।
समाचारमा ओलीले केही दिनदेखि जारी राखेको राजनीतिक वार्ता तथा ओलीले आफूहरूमाथि गरेको कारबाही रोक्न माग गर्दै एमाले नेता माधवकुमार नेपालसहितका नेताले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनबारे अलग अलग उपशीर्षकमा समाचार लेखिएको छ ।
हामीचाहिँ यहाँ हेडलाइनमा लेखिएको ‘समृद्धिको अपेक्षा’ मै केन्द्रित होउँ । समृद्धिबारे ओलीले के भनेका रहेछन् त ? समाचार पढौँ ।
पूरा समाचारमा यसबारे एक वाक्य रहेछ । भनिएको छ- “उहाँले सबै अराजकतालाई परास्त गरेर जनताको समृद्धिको अपेक्षा पूरा हुने बताउनुभएको हो ।”
र, शिलान्यस गरिएको एमाले केन्द्रीय कार्यालयबारे भनिएको छ- “२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त एमालेको केन्द्रीय कार्यालय पुनःनिर्माण हुन लागेको हो ।”
सबैलाई थाहा छ- गोरखापत्र सरकारी पत्रिका हो । यहाँ प्रधानमन्त्री तथा मन्त्रीहरूका भाषण प्रमुखताका साथ समाचार बन्छन् । खासगरी प्रधानमन्त्री र सञ्चारमन्त्रीका भाषण छुट्दैनन् ।
सरकारको अचाक्ली समर्थन वा बचाउमा समाचार लेख्यो भने अरु जुनसुकै पत्रिकाले ‘अर्को गोरखापत्र’ को ट्याग पाउने पनि यसै भएर हुनुपर्छ ।
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालयको शिलान्याश गरेकोले बरु उहाँको मात्र फोटो छापेको भए हुन्थ्यो कि ?
समाचारमा शिलान्याश भएको भवनको डिजाइन राखेपछि कस्तो भवन बन्न लागेको हो ? कहिलेसम्म बन्ने हो ? कसले बनाउन लागेको हो ? जस्ता कुरा समेटिएको भए सायद डिजाइनवाला फोटोको सान्दर्भिकता रहन्थ्यो होला । होइन भने पूरा प्रधानमन्त्रीको तस्बिर छापेको भए अन्यथा हुँदैनथ्यो किनभने यो प्रधानमन्त्रीको भाषण हो ।
तर यहाँ पार्टी कार्यालयको डिजाइन छापेर पाठकमा समृद्धि आइसकेजस्तो भान पार्न किन खोजिएको होला ?