कान्तिपुरको समाचारमा छुटेको एउटा नाम- जन्मदेव जैसी

कान्तिपुरको समाचारमा छुटेको एउटा नाम- जन्मदेव जैसी

  • कार्तिक ३, २०८० शुक्रबार १५:५९

आधारभूत पत्रकारिताको पहिलो कक्षामा समाचार लेखन सिक्दा/सिकाउँदा आउने पहिलो कुरा हो- 5W1H । 

अर्थात्, What (के), Who (को), When (कहिले), Where (कहाँ), Why (किन) र How (कसरी) । 

समाचारको शास्त्र भन्छ- एउटा समाचारमा कम्तिमा यति कुरा समेटिनुपर्छ, यति कुरा नसमेटी समाचार बन्दैन ।

तर हिजो कान्तिपुरको अनलाइनमा प्रकाशित एउटा समाचार पत्रकारिताका विद्यार्थी, अनुसन्धाता र मिडिया अध्येताहरूले पढ्नैपर्ने छ । 

सन्दर्भ हो- गैह्रकानुनी ढङ्गले ८२ जना पत्रकारहरूलाई निष्कासन तथा सरुवा गरेपछि मुलुकको प्रभावशाली सञ्चार संस्था कान्तिपुर पब्लिकेसन्स लिमिटेडमा नेपाल पत्रकार महासंघको नेतृत्वमा जारी पत्रकारहरूको धर्ना । कान्तिपुरको श्रम सङ्कटबारे थप बुझ्न मिडिया कुराकानीको कभरेज पढ्नुहोस् । 

अब इकान्तिपुरमा प्रकाशित माथि उल्लेख गरिएको समाचारबारे कुरा गरौँ ।  

बिहीबार इकान्तिपुरमा प्रकाशित समाचारको शीर्षक छ- 'दलका केन्द्रीय नेताको सहभागितामा कान्तिपुरमा आन्दोलन' ।

kantipur janmadev jaisi news.pngसमाचार ‘नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखा’ ले निकालेको विज्ञप्तिका आधारमा लेखिएको छ । महसंघको कान्तिपुर शाखा व्यवस्थापनको प्रभावमा परेको र लेटरहेडसमेत व्यवस्थापनले दुरुपयोग गरेको शंकामा नेपाल पत्रकार महासंघ केन्द्रले शाखालाई स्पष्टीकरण सोधिसकेको छ । यो अर्को प्रसङ्ग भयो । पुनः समाचारमै लागौँ । 

शाखाले विज्ञप्ति निकाल्यो र भन्यो- ‘सदस्यता शुद्धीकरण अभियान चलाइरहेको महासंघका वरिष्ठ पदाधिकारीले नै महासंघको ब्यानरमा राजनीतिक दलका केन्द्रीय सदस्यलाई समेत सहभागी गराई भाषण गराउनु पत्रकारिता र पत्रकार महासंघको अपमान हो । यसमा सरोकारवाला सबैको ध्यानाकर्षण हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’

शाखाको विज्ञप्तिको यही वाक्यका आधारमा इकान्तिपुरले समाचार बनाएको छ । तर न विज्ञप्तिमा राजनीतिक दलका ती केन्द्रीय सदस्यको नाम छ, न त समाचारमा नै । को व्यक्तिलाई इङ्गित गरिएको हो, विज्ञप्तिमा उल्लेख नभए पनि कम्तिमा समाचारमा खोजिन्छ, पत्रकारले खोज्नुपर्छ ।  

इकान्तिपुरले नखोजेको होइन, पक्कै खोजेको छ । तीनओटा थप फोटोहरू राखेर समाचारमा प्रमाणहरू देखाउन पनि खोजिएको छ । तर फोटोमा को छन्, को हुन् ती राजनीतिक दलका केन्द्रीय सदस्य ? नाम उल्लेख गर्न भने कान्तिपुर हिचकिचाएको छ, डराएको छ । 

पहिलो फोटो हेर्नुस्

पहिलो फोटोमा नेकपा माओवादी केन्द्रको फेसबुक पेजको एउटा पोस्टको स्क्रिनसट राखिएको छ । तर समाचारमा त्यो स्क्रिनसटको सान्दर्भिकता उल्लेख गरिएको छैन । र, उक्त पोस्टको फोटोमा देखिने कुन व्यक्तिको कुरा गरिएको हो उल्लेख छैन । 

दोस्रो फोटो हेर्नुस्

दोस्रो फोटोमा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा भाषण गर्दै गरेका देखिन्छन् । तर जनार्दन त पत्रकार महासंघको धर्नामा अहिलेसम्म आएका छैनन् । त्यो फोटोमा देखिएको अर्को को व्यक्तिलाई इङ्गित गरिएको हो भन्ने फेरि पनि समाचारमा उल्लेख छैन । 

तेस्रो फोटो हेर्नुस्

तेस्रो फोटो पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन्समा दिएको धर्नाको हो । यो फोटोमा एक व्यक्ति भाषण गर्दै गरेको देखिन्छन् । कान्तिपुरले भाषण गर्दै गरेका व्यक्ति को हुन् नाम लेख्ने आँट यहाँ पनि गरेको छैन । 

यसरी जसका बारेमा समाचार लेखिएको छ- उसकै नाम लेख्न कान्तिपुर हिच्किचाएको छ, डराएको छ । वा, उनको नाम लुकाउन खोजेको छ । 

को हुन् उनी ? 

कान्तिपुरको समाचार छुटेको यो नाम हो- जन्मदेव जैसी । सायद, नचिनिने पात्र होइनन् भनेर कान्तिपुरले नाम उल्लेख गर्न आवश्यक नठानेको हुन सक्छ 😀(हाम्रो अनुमान) ।

जैसी श्रमजीवी पत्रकार संघका अध्यक्ष हुन् । उनी श्रमजीवीहरूका जोधाहा नेता हुन्- यसमा शंका छैन । धर्नामा जहाँ पनि ब्यानर लिएर पुगिहाल्ने उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन् । र, उनी हालै सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य चयन भएका छन् । 

जैसी आफ्नो धारणा नै नलिई एकपक्षीय रुपमा कान्तिपुरजस्तो स्थापित मिडियाबाट समाचार प्रकाशित हुनु अकल्पनीय र दुखद् भएको बताउँछन् । आफू राजनीतिक दलको नेताका रुपमा नभई श्रमजीवी पत्रकार संघको अध्यक्षका हैसियतमा धर्नामा सहभगाी भएको उनको भनाई छ ।

“म श्रमजीवी-पत्रकार संघ, नेपालको अध्यक्षको हैसियतले कान्तिपुरका पत्रकार श्रमजीवीहरूको न्यायिक अधिकारका लागि आन्दोलनमा सहभागी भएको हो”, जैसी भन्छन्, “म निरन्तर सञ्चार श्रमिक र पत्रकारको हितका लागि वकालत गर्दै आएको छु। आस्थाकै आधारमा श्रमजीवी वर्गको पक्षमा बोल्न पाउनु कुनै पनि सचेत नागरिकको कर्तव्य हो,त्यो मेरो नैसर्गिक अधिकार र कर्तव्य पनि हो । म बाचुञ्जेल श्रमिकवर्गको पक्षमा अनवरत लडिरहनेछु ।” 

कान्तिपुरलाई मुलुकको प्रभावशाली सञ्चार संस्थाका रुपमा स्थापित गर्न अनवरत खट्ने पत्रकारहरूलाई त्यहाँको व्यवस्थापनले जसरी अपमान गरेको छ र शृंखलाबद्ध रुपमा कानुनको उल्लंघन गरी पत्रकार/कर्मचारीहरूलाई निष्कासन गरेको छ, त्यो हेर्दा जन्मदेव जैसीमात्र होइन, सबै दलका नेताहरू धर्नामा आउन जरुरी छ जस्तो देखिन्छ । जैसी मात्र किन ? एमालेका योगेश भट्टराईहरू, कांग्रेसका विश्वप्रकाश शर्माहरू, माओवादी केन्द्रका अग्नि सापकोटाहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकालहरू पनि यो धर्नामा ऐक्यबद्धता जनाउन आउँदा अन्यथा हुँदैन । यो हाम्रो विचार भयो । 

भनिन्छ- नियत नाप्न सकिन्न । तर कान्तिपुरको नियत प्रष्ट छ- ऊ श्रमजीवीका पक्षमा नेपाल पत्रकार महासंघले थालेको आन्दोलनलाई लाञ्छित गर्न जुनसुकै हदमा उत्रिन सक्छ । जन्मदेवमाथि उसको क्षेप्याश्त्रको अर्थ यही हो ।

फेरि माथि उल्लेखित समाचारमा फर्कौँ । 

हुन् सक्छ- व्यवस्थापनले पत्रकार प्रयोग गरी समाचार लेखायो । तर समाचार लेख्ने पत्रकारले समाचार जसका बारेमा हो उसको नाम समाचारमा उल्लेख गर्नुपर्दैन र ? जसको बारेमा समाचार लेखिएको छ, उसको नाम समाचारको आधारभूत अंग होइन र ?

कान्तिपुरका प्रिय पत्रकार साथीहरूलाई पत्रकारिता कसले सिकाउने ? 


Related Story

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य छैन, तर मिडियाले फैलाए यस्तो भ्रम

माघ १ गतेदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको भन्दै कतिपय मिडियाले भ्रामक समाचार लेखेका छन् अपडेटः राष्ट्र बैंकबाटै फरक

धादिङमा बाघले मान्छे आक्रमण गरेको समाचारको बास्तविकता के हो ?

फागनु २६ गते शनिबार साँझ साढे ५ बजे धादिङको नीलकण्ठ एफएम डटकमले निलकण्ठ ९ मुरलीभज्याङमा दिउँसै बाघको आक्रमण, एक जना

यस्तो ‘दिव्यज्ञान’ बाँड्ने प्राध्यापक को हुन् ? मोही माग्ने ढुंग्रो लुकाउने ? 

यो सामग्रीमा २०७८ साल जेठ १४ गते शुक्रबार गोरखापत्र दैनिकमा प्रकाशित एउटा लेखको चर्चा गरिँदैछ । स्तम्भको नाम हो- ‘उल्टो

पार्टी कार्यालयको स्केच छापेर समृद्धिको सपना ?

२०७८ वैशाख १० गते गोरखापत्र दैनिकको प्रथम पृष्ठ । चार कोलममा बक्सभित्र छापिएको समाचारको शीर्षक छ- समृद्धिको अपेक्षा पूरा हुन्छ