डा.कुन्दन अर्याल
नेपालमा सबैभन्दा व्यापक रूपमा मनाइने पर्व दशैँ सुरु भइसकेको छ । अबका झण्डै दुई साता राष्ट्रिय परिचायक बनिसकेको दशैँमा नेपाली रमाउने छन् । बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक नेपालमा दशैँले धार्मिक पर्वभन्दा पनि बढी साझा सांस्कृतिक स्वरूप ग्रहण गरिसकेको छ । अन्तरसांस्कृतिक सञ्चारका दृष्टिले दशैं सम्पूर्ण देशवासीबीच उत्साह र शुभकामना आदानप्रदान गर्ने साझा अवसरका रूपमा स्थापित छ ।
सञ्चार र यातायातको दृष्टिले अति अविकसित अवस्थामा रहेको बेलामा दशैँ प्रत्यक्ष पारिवारिक वा सामुदायिक मिलन र संवादका लागि झनै महìवपूर्ण थियो । नेपाली राजनीतिमा समेत दशैँलाई संवादको वृत्त फराकिलो बनाउने अवसरमा उपयोग गरिंदै आएको देखिन्छ । दशैँका बेला गाउँ, बस्ती वा साना सहरमा हुने मित्र मिलन समारोहदेखि राजधानीमा गरिने ठूला–ठूला चियापानसम्मका आयोजना अन्तरसांस्कृतिक र प्रत्यक्ष राजनीतिक संवादका उदाहरण हुन् । त्यसैले सञ्चारका दृष्टिले दशैँ सद्भावको संवाहक हो । ठूला–ठूला राजनीतिक जमघट र प्रत्यक्ष संवादले मिडियामा विस्तारित रूपमा समय र स्थान पाएपछि दशैँको सञ्चार र सद्भावको ध्येयको अझ विस्तार हुने गरेको छ ।
एकातिर आज संसारभरि नै विविधतालाई समाज विकासका लागि महत्त्वपूर्ण आधार मानिएको देखिन्छ । अर्कोतिर अन्तरसांस्कृतिक परिवेशलाई भत्काउँदै भाषिक र सांस्कृतिक विविधतालाई अस्वीकार गर्न खोजिएको पनि देखिन्छ । यही शताब्दीको सुरुवातपछि समेत अन्तरसांस्कृतिक द्वन्द्व चर्काउन मिडियाको दुरुपयोग गरिएको समेत देखिएको छ । त्यसैले मिडियामार्फत हुने आमसञ्चारसहित सबै तहका सञ्चार प्रक्रियामा अन्तरसांस्कृतिक संवेदनशीलता जरुरी छ । कतिपय देशमा आज हरेक नागरिकलाई अन्तरसांस्कृतिक संवाद र सद्भावका लागि प्रेरित गर्ने गरिएको पनि देखिन्छ । यही कारण कैयौँ विश्वविद्यालयमा पत्रकारिताको पाठ्यक्रममा अन्तरसांस्कृतिक सञ्चारलाई समाहित गरिएको हो । आमसञ्चारका साधन वा आमसञ्चारका वाहक र आमनागरिक समेत केवल आफ्नो सांस्कृतिक रीतिरिवाजलाई मात्र उपयुक्त नदेखुन् र अन्य सांस्कृतिक जीवनलाई हेयको दृष्टिकोणले नहेरुन् भन्ने ध्येयसाथ अन्तरसांस्कृतिक सद्भावलाई बढाउन नै अन्तरसांस्कृतिक सञ्चारको विधालाई फराकिलो बनाइँदैछ । पढ्नुस् कुन्दन अर्यालको पूरा लेख गोरखापत्रमा ।