मिडिया कुराकानीले 'अध्यारोबाट उज्यालोतिर' का प्रस्तोता पत्रकार टीकाराम यात्रीलाई विश्लेषक अरुणकुमार सुवेदीसँग गरिएको अन्तर्वार्ताका सम्बन्धमा ५ वटा प्रश्न पठाएको थियो । यात्रीले सबै प्रश्नको जवाफ दिएका छन् ।
यात्रीको कार्यक्रममा गरिएका दाबीहरूमाथि मिडिया कुराकानीले विज्ञका भनाई, ऐतिहासिक अध्ययन र नेपाल प्रहरीको प्रतिक्रिया समेटेर गरेको तथ्यजाँच भिडियो हेर्नुहोस् ।
र, यात्रीलाई सोधिएका प्रश्न र उनको पूरा जवाफ तल पढ्नुहोस् ।
प्रश्नहरूः
१. तपाईंले सुवेदीलाई 'सांस्कृतिक अध्येता' भनेर परिचय गराउनुभयो । यो परिचय कुन आधारमा दिनुभएको हो ? उहाँको यस विषयको प्रकाशित अध्ययन वा प्राज्ञिक योग्यता के हो ?
२. अन्तर्वार्तामै सुवेदीले आफूसँग यस विषयको "प्रमाणपत्र र आधिकारिकता" नभएको र "खनिखोत्री गरेर पढेका मान्छे" नभएको स्वीकार गर्नुभयो । त्यसपछि पनि उहाँलाई राष्ट्रिय सुरक्षा र समुदायसम्बन्धी दाबी गर्न दिनु उपयुक्त थियो भन्ने लाग्छ ?
३. "Non State Actors सँग AK-47 आइसके" भन्ने दाबी आएपछि तपाईंले प्रमाण के छ भनेर सोध्नुभएन । यस्तो दाबी बिना प्रतिप्रश्न प्रसारण गर्नु सञ्चालकको जिम्मेवारीभित्र पर्छ ?
४. तपाईँको प्रश्नबाटै 'रैथाने मुसलमान' र 'आयातित मुसलमान' भन्ने वर्गीकरण आएको छ । यो शब्दावलीले कुनै समुदायलाई विभाजित गर्दैन र ?
५. कार्यक्रमको सुरुमै तपाईंले धार्मिक–सांस्कृतिक विषयमा "थोरै मात्र संवेदनहीनता" भए घाउ बल्झिने चेतावनी दिनुभएको थियो । फर्केर हेर्दा यो अन्तर्वार्ता त्यो मापदण्डमा खरो उत्रियो भन्ने लाग्छ ?
टीकाराम यात्रीको जवाफः
‘मिडिया कुराकानी’ ले हाम्रो कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’ मा प्रसारित अन्तर्वार्तालाई लिएर देखाउनुभएको चासोप्रति आभार ।
१. अतिथि परिचयको आधार
अरुणकुमार सुवेदीजी लामो समयदेखि नेपालको भू-राजनीति, सामाजिक-सांस्कृतिक आयाम र सुरक्षा मामिलामा निरन्तर लेखन, विश्लेषण र बहस गर्दै आउनुभएको व्यक्तित्व हुनुहुन्छ । आमसञ्चार र सार्वजनिक मञ्चहरूमा उहाँले प्रस्तुत गर्दै आउनुभएका विश्लेषण, दृष्टिकोण र क्षेत्रगत अनुभवलाई आधार मानेर नै उहाँलाई 'सांस्कृतिक अध्येता' का रूपमा परिचय गराइएको हो । सञ्चारमाध्यममा कुनै पनि अतिथिको परिचय स्थापित गर्दा प्राज्ञिक प्रमाणपत्र मात्र नभई उहाँहरूको सार्वजनिक वृत्तको उपस्थिति र क्रियाशीलतालाई पनि आधार मान्ने प्रचलन रहेको यहाँलाई अवगत नै छ । सथै धेरै वर्षअघि प्रकाशित उहाँको पुस्तक `माया र लिला´ जसमा कांग्रेस नेता तथा चिन्तक प्रदीप गिरीको भुमिका थियो, त्यसमा पनि धार्मिक, सांस्कृतिक, दार्शनिक सन्दर्भको प्रशस्त चर्चा र विश्लेषण गरिएको छ ।
२. अभिव्यक्ति स्वतन्त्रता र दाबीको मूल्याङ्कन
अन्तर्वार्ताका क्रममा सुवेदीजीले आफैँ स्पष्ट रूपमा "प्रमाणपत्र र आधिकारिकता नभएको" भनी आत्मस्वीकारोक्ति गर्नुले नै उहाँको भनाइ कुनै प्राज्ञिक संस्था वा राज्यको आधिकारिक दस्ताबेज नभई एउटा स्वतन्त्र विश्लेषकको निजी बुझाइ हो भन्ने कुरा दर्शकहरूका सामु प्रष्ट भइसकेको थियो । लोकतान्त्रिक बहसमा हरेक नागरिक वा विश्लेषकलाई आफ्नो धारणा राख्ने अधिकार हुन्छ । उहाँको विश्लेषणलाई स्विकार्ने वा नस्विकार्ने जिम्मा विवेकी दर्शकको हो । त्यसैले उहाँको स्वीकारोक्तिपछि पनि विषयको गम्भीरतालाई ध्यानमा राख्दै कुराकानीलाई निरन्तरता दिनु उपयुक्त ठानेका हौँ ।
३. प्रतिप्रश्न र सञ्चालकको भूमिका
अन्तर्वार्ताका क्रममा अतिथिका हरेक दाबीमाथि तत्काल प्रतिप्रश्न गर्ने वा नगर्ने भन्ने कुरा संवादको बहाव, समयको सीमा र अन्तर्वार्ताको मूल उद्देश्यमा निर्भर रहन्छ । हतियार सम्बन्धि उहाँको दाबी एउटा सुरक्षा सम्बद्ध दृष्टिकोण र संवेदनशीलताको पाटो थियो, जसलाई उहाँले आफ्नो विश्लेषणका रूपमा प्रस्तुत गर्नुभयो । यद्यपि, कार्यक्रम सञ्चालकका रूपमा सबै दाबीहरूमा थप विस्तृत प्रमाण खोज्न सकिने ठाउँ सधैँ रहन्छ र यस सुझावलाई हामीले सकारात्मक तथा मननीय पृष्ठपोषणका रूपमा लिएका छौँ ।
४. शब्दावलीको प्रयोग र आशय
‘रैथाने’ र ‘आयातित’ भन्ने शब्दावली कुनै पनि समुदायलाई विभाजित गर्ने वा अपमान गर्ने उद्देश्यले प्रयोग गरिएको होइन । नेपालको भू-राजनीतिक संवेदनशीलता र सीमावर्ती क्षेत्रमा हुने जनसाङ्ख्यिकीय परिवर्तन वा बाह्य प्रभावका विषयमा राष्ट्रिय सुरक्षा र समाजशास्त्रका बहसहरूमा यस्ता पदावलीहरू उठ्ने गरेका छन् । हाम्रो उद्देश्य समुदायमा विभाजन ल्याउनु नभई, सीमावर्ती क्षेत्रमा रहेका रैथाने नागरिकहरूको संवेदनशीलता र बाह्य प्रभावका कारण उत्पन्न हुन सक्ने चुनौतीबारे सजग गराउनु मात्र थियो ।
५. आत्मसमीक्षा र मापदण्डको मूल्याङ्कन
हामीले कार्यक्रमको सुरुमै भने झैँ, धार्मिक-सांस्कृतिक विषयहरू अत्यन्तै संवेदनशील हुन्छन् र यसमा थोरै पनि असंवेदनशीलताले घाउ बल्झाउन सक्छ । फर्केर हेर्दा, यो अन्तर्वार्ताले सुनसरीको कप्तानगञ्ज तनावका विविध आयाम र राष्ट्रिय सुरक्षाका छिद्रहरूमाथि एउटा गम्भीर बहसको उठान गरेको छ । संवादका क्रममा कतिपय भनाइहरू उत्तेजक वा संवेदनशील सुनिएका हुन सक्छन्, तर समग्रमा कार्यक्रमले तनावको समाधान र दीर्घकालीन शान्तिका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गराउने हाम्रो मूल मापदण्ड र उद्देश्यलाई नै पछ्याएको छ ।
साथै सुवेदीजीको अन्तर्वार्ता देवानगञ्ज/कप्तानगञ्ज घटनाको विश्लेषणको थप अन्तर्वार्ता मध्येको पहिलो शृङ्खला थियो । यसको पुरै सन्दर्भबारे प्रष्ट हुन त्यसपछिका क्रमश: पुरञ्जन आचार्य, डा. विपिन अधिकारी र डा. युवराज संग्रौलाका अन्तर्वार्तालाई परिपुरक सन्दर्भका रुपमा हेरिनु/बुझिनु मुनासिब हुनेछ ।
आगामी दिनमा पनि यस्तै रचनात्मक सुझाव र पृष्ठपोषण निरन्तर अपेक्षित छ ।
सद्भावसहित,
टीकाराम यात्री