पछिल्लो समय ठाउँ न कुठाउँ माइक तेर्स्याएर प्रश्न सोध्ने र त्यसैलाई पत्रकारिताका नाममा लाइभ प्रसारण गर्ने शैली धेरै टेलिभिजनले पछ्याएका छन् । र, दर्शकले पनि यसैलाई खास्सा पत्रकारिता मान्न थालेका छन् ।
गएका दुई साता सोसल मिडियामा एउटा भिडियो क्लिप भाइरल भएको छ । स्पेस फोरके टेलिभिजनबाट प्रसारित कार्यक्रम 'स्पेस क्रस' को उक्त भिडियो क्लिप फेसबुक, एक्स (साबिक ट्विटर) र टिकटक लगायतका सञ्जालमा छरपस्ट छ ।
उक्त क्लिपमा आएका प्रतिक्रियाहरू पढ्दा थाहा लाग्छ- अन्तर्वार्ता लिने पत्रकारले खुब गाली खाएका छन्, बहुत सुझाव पनि पाएका छन् । उता, अन्तर्वार्ता [न] दिने रेल विभागका कर्मचारीले निकै सहानुभूति र समर्थन पाएका छन् ।
सोसल मिडियाभर आलोचना र सुझावको वर्षा भए पनि रेल विभागका कर्मचारीलाई ठाउँको ठाउँ माइक तेर्स्याउने पत्रकार कपिल शाहीलाई भने कत्ति फरक परेको छैन ।
“मैले पत्रकारिता गरेको हुँ, यहाँ पार्टीका झोलेहरूलाई मेरो पत्रकारिता मन परेन, नेताहरूले जाड खुवाएर यस्ता उछृङ्खल कमेन्ट गरेका हुन्,” गएको ३ वर्षदेखि पत्रकारिता गरिरहेको बताउने उनको दाबी छ, “मलाई यसले केही फरक पार्दैन । भ्रष्टाचार विरुद्धको महाअभियानमा म निरन्तर रहने छु ।”
पत्रकारिताका अध्येता भानुभक्त आचार्य फेसबुकमा चौथो अंगको भ्रम शीर्षक दिएर उक्त भिडियो क्लिपमाथि टिप्पणी गर्छन्- "मौकामा दादागिरी त जसले पनि गर्छ । तर यसरी पत्रकारिता हुँदैन भनेर यी पत्रकारलाई चिन्नेले बुझाइदिनु पर्यो । No more #भौमानपत्रकारिता ।"
शाही भने आफूविरुद्ध वरिष्ठ पत्रकारहरू पनि लागेको [कु] तर्क गर्छन् । “म विरुद्ध केही वरिष्ठ भनिएका पत्रकारहरू पनि खनिएको थाहा पाएको छु,” टेलिफोन कुराकानीमा उनको दाबी छ, “यसले मलाई केही फरक पार्दैन ।"
पत्रकारलाई रत्तिभर फरक नपारेको तर सबैको ध्यानाकर्षण गरेको यो भिडियो क्लिपमा के छ ? क्लिप किन भाइरल भयो ? दर्शकहरूको प्रतिक्रिया कस्तो छ ? यसबाट पत्रकारले लिने शिक्षा के हो ? आउनुस् खोजौँ ।
के छ भिडियोमा ?

स्पेस फोरके टेलिभिजनबाट साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रम 'स्पेस क्रस' सञ्चालनमा आएको दुई महिना मात्र भयो ।
कार्यक्रमका प्रस्तोता हुन् कपिल शाही । उक्त क्लिपका कारण चर्चामा रहेका प्रस्तोता शाहीले रेल विभागको स्थलगत रिपोर्टिङ गरेको भिडियोमा देख्न सकिन्छ ।
कर्मचारीहरूको क्याबिनमा छिर्दै उनले 'सजावट भिआइपीको छ तर कर्मचारी छैनन्' भन्दै व्यङ्ग्य गरेको देखिन्छ । स्थलगत रिपोर्टिङमा पुगेका उनले 'बिदामा बसेको' र 'केही काम नगरेको' भन्दै कर्मचारीहरूलाई धम्क्याएको भिडियोमा देखिन्छ ।
कर्मचारीको कार्यकक्ष घुम्दै गर्दा शाहीले रेल विभागका सिनियर डिभिजनल इनजिनियरलाई भेट्छन् । सिनियर डिभिजनल इनजिनियरले शाहीलाई आफ्नो कार्यकक्षमा बोलाउछन् । तर, क्यामेरा देख्ने बित्तिकै इन्जिनियर तर्किन्छन् । उनले क्यामेरा बन्द गर्न लगाउँछन् तर शाही भने झन् माइक तेसारेर बस्छन् ।
इन्जिनियरले बिना जानकारी र बिना अनुमति बुम तेर्स्याएर क्यामेरामा रेकर्ड नगर्न अनुरोध गर्छन् । उनी निकै भद्र ढंगले प्रस्तुत भएको भिडियोमा देखिन्छ । तर पत्रकार भने सूचनाको हक भन्दै ती इन्जिनियरलाई झम्टिरहन्छन् ।
कर्मचारीः मेरो कोठामा आउनुस त्यहाँ कुरा गरौँ । पहिला क्यामेरा तेर्स्याइ हाल्ने हैन है, लाइभ नगर्नुस् । मेरो क्यामेरा नि समाउँ ? ल आउनुस् । यो पनि तरिका हुन्छ यार ?
पत्रकारः सूचना अधिकारी नभएपछि, कोसँग सूचना माग्नु ?
कर्मचारीः सोध्नुस् न त्यहाँ गएर । एकछिन यो बन्द गर्नुस् (क्यामेरा देखाउँदै) । अनुमति लिनपर्यो तपाईँले ।
पत्रकारः तपाईँलाई हामीले गलत तरिकाले व्याख्या नगरीकन प्रश्न सोध्न पाइँदैन ? सूचनाको हक अधिकार हुन्छ कि नाइँ ?
कर्मचारीः एकदम पाइन्छ, एकदम पाइन्छ ।
पत्रकारः अनि के कुरा ?
कर्मचारीः मलाई हाम्रो पत्रकार साथीहरूको नि… किन यसरी प्रस्तुत हुनुहुन्छ ? तपाईँहरूलाई रेल विभाग सम्बन्धी केही सूचना चाहिन्छ भने माध्यम छ, सोध्ने तरिका छ । यो अहिले करिडोरमा आएर यो (क्यामेरा/माइक) तेर्स्याउने हो र ? हैन नि । तपाईँको इथिक्स (आचारसंहिता) ले दिन्छ ?
पत्रकारः पत्रकारको इथिक्सले दिएर नै यो गरिएको हो ।
प्रश्नोत्तर यसरी नै अगाडि बढिरहन्छ । माइक र क्यामेरासहितका पत्रकार किन पछि हट्थे ? उक्त भिडियो युट्युब र टिकटकमा राख्छन् । र, उल्टो आफैँ पर्दाफास हुन्छन् ।
सिनियर डिभिजनल इन्जिनियर र शाहीबीचको 'भनाभन' को यो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको हो । जसमा कर्मचारीले पत्रकारलाई प्रश्न सोध्ने तरिका र पत्रकारिताको आचारसंहिता सिकाइरहेका छन् भने पत्रकार 'सूचनाको हक' र 'जनताले तिरेको करबाट चलेको अफिस' भन्दै ती इन्जिनियरमाथि जाइ लागिरहन्छन् ।
दर्शकका सुझाव, आक्रोश र गाली
स्पेस फोर के टिभीको युट्युबमा २ लाख ९६ हजार सब्स्क्राइबर छन् । अक्टोबर १२ मा अपलोड गरिएको भिडियोमा जम्मा २ हजार ७३ भ्युज छ । तर १८ मिनेट १८ सेकेन्डको भिडियोबाट निकालिएको ३ मिनेट २२ सेकेन्डको क्लिप स्पेस फोरकेको टिकटकमा धेरैले रूचाए । उक्त भिडियोमा ३ हजार ३८२ कमेन्ट छन् भने ८८५ सेयर भएको छ ।
युट्युबमा भन्दा पनि टिकटकमा बढी रुचाइएको सो भिडियो क्लिपमा अधिकांश प्रतिक्रियाहरू कर्मचारीको पक्षमा छन् । टिकटकका प्रतिक्रिया हेर्ने हो भने पत्रकारको शैलीमाथि व्यङ्ग्य र विरोध भएको देखिन्छ । हामीले दर्शक प्रतिक्रियाका कतिपय शब्दहरूलाई ** चिह्न दिएर सम्पादन गरेका छौँ ।
सुदिप लामाले लेखेका छन्, “पत्रकार **हरू यति नगरी बेलुका मुखमा गास पर्दैन ।" कमेन्टमा पत्रकारमाथिको अपमान स्पस्ट झल्किन्छ ।
त्यस्तै गरिब केटो सुबास भन्छन्, “भएन भाइ तिम्रो पत्रकारिता ! राम्रोसँग पढेर आउ ल !” दीपक पोखरेल लेख्छन्- “...यस्तै बेवकुफहरूका कारण पत्रकारको समाजिक इज्जत र प्रतिष्ठामा कमी आएको हो ।”
“यति विज्ञ पत्रकार भएर नै देशले यति चाँडै कोल्टो फेरेको हुनुपर्छ”, नमराजले लेखेका छन् । मेनुक्स भन्छन्- “पत्रकार भाइ अल्लारे रहेछ । तातै खाउँ जल्दै मरौँको शैलीमा आयो त !”
“माइक समातेर जो कोही मान्छेतिर क्यामेरा तेर्स्याउँदैमा कोही पत्रकार हुन सक्दैन", करण भट्ट भन्छन्, "पत्रकारमा प्रश्न सोध्ने शेली पटक्कै भएन ।” नारायण कठायत लेख्छन्- “पत्रकारको दादागिरी शैली जस्तो भयो । यो तरिका ठिक हैन ।”
प्रतिक्रियामा सुझाव भन्दा बढी गाली छन् । कतिपय प्रतिक्रिया अश्लील र अराजत पनि छन् । जस्तो, सृजना अधिकारी रेग्मी लेख्छिन्- “केही न केहीका यी पत्रकार ! मलाई पो गाला फुट्ने गरी दिउँ जस्तो भयो ।”
दीपकराज ओली लेख्छन्- “आबारा....सूचना माग्ने र पाउने हक आम नागरिकलाई हुन्छ तर यस्तो नाङ्गो र बुङ्गो शैलीमा होइन... !”
गङ्गा दुलालको गाली छ- “जहाँ पायो त्यहीँ क्यामेरा तेर्स्याएर सोध्दा त्यही घोचो खोसेर किन हान्न नसकेको ? कहीँ नभ'को चौँथो अंग ! के सारो छाडा हौ नेपालमा ?”
भिडियोको शीर्षकमा ‘रेल विभागका कर्मचारीको दादागिरी, भन्छन्, 'कार्यकक्षको भिडियो नखिच्नुस्’ लेखिएपनि बहुसङ्ख्यक दर्शकले भने पत्रकारकै दादागिरी देखे । ३ हजार भन्दा बढी प्रतिक्रिया आएको भिडियो क्लिपका सबै प्रतिक्रिया हामीले पढ्न भ्याएनौँ तर जति पढ्यौँ, ९० प्रतिशत बढी प्रतिक्रिया पत्रकारको विपक्षमा छन् ।
पत्रकार पढ्दैनन् आचारसंहिता ?
पत्रकारले के गर्न हुन्छ र के गर्न हुँदैन भनेर पत्रकार आचारसंहितामा लेखिएको हुन्छ । सम्बन्धित मिडिया संस्थानले आफ्नै आचारसंहिता जारी गरेका हुन सक्छन् ।
नेपालमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले पत्रकार आचारसंहिता जारी गरेका छन् । उक्त आचारसंहितामा पत्रकारले प्रश्न सोध्दा के कसरी प्रस्तुत हुनुपर्छ भन्ने पनि उल्लेख छ । तर हिजोआज पत्रकारिताको यस्तो शैली चर्चित छ जहाँ पत्रकार ठाउँको ठाउँ माइक तेर्स्याउँछन् र सोध्छन्- 'भन्नुस् तपाईँ ! जनता जान्न चाहन्छन्, सिधा कुरा, सिधा लाइभ ।'
पत्रकार आचारसंहिताको दफा ४ उपदफा ३(१) मा भनिएको छ–“पत्रकार तथा सञ्चारमाध्यमले स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्दछ ।" त्यस्तै उपदफा ३(२) मा उल्लेख छ- "पत्रकार तथा सञ्चारमाध्यमले सूचना वा जानकारीको सङ्कलन र सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्दछ ।"
तर ठाउँको ठाउँ माइक तेर्स्याएर सिधासिधा लाइभ गर्ने जमानाको पत्रकारितामा आचारसंहिता पढ्ने फुर्सद कसलाई ?