नेपाली पत्रकारितामा उमेश श्रेष्ठ 'सालोक्य' एउटा यस्तो नाम हो, जसले गएका दुई दशकदेखि मूलधारका मिडियाका ससाना गल्तीदेखि ठूला विचलनसम्मलाई निर्भयतापूर्वक सार्वजनिक गरिरह्यो ।
समाचार कक्षभित्र हुने कर्पोरेट प्रभाव, विज्ञापनको दबाबमा लुकाइने समाचार र सत्यापन विना गरिने सतही पत्रकारिताविरुद्ध निरन्तर प्रश्न गरिरहने तिनै उमेश श्रेष्ठ अब मिडियाको नियामक निकाय प्रेस काउन्सिल नेपालको नेतृत्वमा पुगेका छन् ।
मन्त्रिपरिषद्को २०८३ असार २४ गतेको निर्णयअनुसार श्रेष्ठलाई चार वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरिएको हो ।
श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।
सन् २००५ मा 'माइसंसार' ब्लग सुरु गरेर उनले नेपालमा वैकल्पिक र नागरिक पत्रकारिताको जग बसालेका थिए ।
राजाको प्रत्यक्ष शासन र मिडियामा सेनाको सेन्सरसिप भएको बेला माइसंसार सूचनाको वैकल्पिक स्रोत बनेको थियो ।
श्रेष्ठको अनुभव ब्लगिङमा मात्र सीमित छैन । उनले सिटी टाइम्स, नयाँ सडक, स्पेसटाइम दैनिक, च्यानल नेपाल र एभिन्युज टेलिभिजन जस्ता विभिन्न मिडियामा काम गरिसकेका छन् ।
उनले नागरिकन्युज डटकम, अन्नपूर्णपोस्ट डटकम र पहिलोपोस्ट डटकमको सम्पादकीय नेतृत्व सम्हालेर डिजिटल पत्रकारितालाई व्यावसायिक रूप दिन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
मिडियाको निर्मम आलोचनादेखि खोजमूलक रिपोर्टिङसम्म
ब्लगरका रुपमा उमेश श्रेष्ठ मुलतः मिडियाका 'कटु आलोचक' हुन् । उनी नेपाली अनलाइन पत्रकारितालाई 'महाहतारको साहित्य' भन्ने गर्छन्, जहाँ सूचनाको सत्यापन विना नै समाचार सम्प्रेषण गर्ने होडबाजी चल्छ ।

काउन्सिलमा श्रेष्ठको स्वागत ।
उनको नेतृत्त्वमा भएको खोजमूलक पत्रकारिताको एउटा बलियो नमुना निर्मला पन्त हत्या प्रकरणको ३० अङ्कको शृङ्खलाबद्ध रिपोर्टिङ हो ।
पहिलोपोस्टमा रहँदा उनले घटनास्थलमै पुगेर स्थानीय पत्रकार र केन्द्रका मिडियाले कसरी 'रे' को भरमा समाचार लेखेर अनुसन्धान बिथोले र निर्दोषको चरित्रहत्या गरे भन्ने कुरा सप्रमाण सार्वजनिक गरेका थिए।
त्यस्तै, उनले उकेरा डटकममा हालसम्म बेपत्ता रहेकी छोरीमैया महर्जनबारे गरेको विस्तृत रिपोर्टिङले पनि निकै चर्चा पाएको थियो ।
तथ्यजाँच र तथ्याङ्क पत्रकारिता
पछिल्ला वर्षहरूमा श्रेष्ठ 'नेपाल तथ्यजाँच’ नामक प्लाटफर्मको सम्पादकका रूपमा मिथ्या सूचना र दुस्सूचना विरुद्धको अभियानमा सक्रिय थिए ।
उनले सेन्टर फरम मिडिया रिसर्च नेपाल जर्नलिज्म एकेडेमीमार्फत कयौँ पत्रकारहरूलाई तथ्याङ्क पत्रकारिताको तालिम दिँदै आएका छन् ।
प्रविधिको बदलिँदो स्वरूपलाई बुझेका श्रेष्ठले नेपालमा 'रिभर्स इमेज सर्च' लगायतका तथ्यजाँचका औजारहरूलाई पत्रकारितामा स्थापित गराए ।
काउन्सिलमा उमेशका चुनौती
दुई तिहाइको शक्तिशाली सरकारले मिडियामाथि नियन्त्रण गर्न खोजिरहेको शंकाका बीच श्रेष्ठले नियामकीय निकायको नेतृत्त्वमा नियुक्ति पाएका छन् ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उनलाई 'परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न' र 'गलत सूचना रोक्न' निर्देशन दिएका छन् ।

सूचना तथा सञ्चार मन्त्रीबाट नियुक्ति बुझ्दै श्रेष्ठ ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले मिडियाको स्वरूप फेरिए पनि काउन्सिलको कानुन पुरानो भएकाले 'मिडिया काउन्सिल विधेयक' र 'आमसञ्चार विधेयक' मार्फत यसलाई समयानुकूल बनाउने बताएका छन् ।
सरकारको प्रत्यक्ष नियन्त्रण काम गरेर पत्रकारिता क्षेत्रमा 'स्वनियमन' को प्रणालीलाई बलियो बनाउन कत्तिको सक्छन् भन्नेले श्रेष्ठको सफलता मापन हुनेछ ।
त्यस्तै, अहिलेको मुख्य चुनौती मानिएको एआई र सोसल मिडिया नियमनका लागि मार्गनिर्देशिका बनाएर अघि बढ्ने उनले बताएका छन् ।
यसर्थ, प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउन सरकार र सञ्चार क्षेत्रबीच 'विश्वासको पुल' का रूपमा उनले कत्तिको काम गर्न सक्छन् भन्ने चासो छ ।
हिजो मिडियाको कमजोरी औँल्याउँदा सञ्चालकहरूबाट 'विरोधी' जस्तो व्यवहार भोग्नुपरेका श्रेष्ठ अब आफैँ नियामकको भूमिकामा छन् ।
शक्तिशाली सरकार र स्वतन्त्र मिडियाबीचको सन्तुलन मिलाउँदै, उनले स्वच्छ र दबाबमुक्त पत्रकारिताको रक्षा गर्न सक्छन् कि सक्दैनन् भन्ने नै उनको मुख्य परीक्षा हुनेछ ।