मिडियाका कटु आलोचक उमेश श्रेष्ठ प्रेस काउन्सिलको नेतृत्त्वमा

मिडियाका कटु आलोचक उमेश श्रेष्ठ प्रेस काउन्सिलको नेतृत्त्वमा

प्रेस काउन्सिल नेपालमा पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठ ।
  • आषाढ ३०, २०८३ मंगलबार ०४:२४

नेपाली पत्रकारितामा उमेश श्रेष्ठ 'सालोक्य' एउटा यस्तो नाम हो, जसले गएका दुई दशकदेखि मूलधारका मिडियाका ससाना गल्तीदेखि ठूला विचलनसम्मलाई निर्भयतापूर्वक सार्वजनिक गरिरह्यो । 

समाचार कक्षभित्र हुने कर्पोरेट प्रभाव, विज्ञापनको दबाबमा लुकाइने समाचार र सत्यापन विना गरिने सतही पत्रकारिताविरुद्ध निरन्तर प्रश्न गरिरहने तिनै उमेश श्रेष्ठ अब मिडियाको नियामक निकाय प्रेस काउन्सिल नेपालको नेतृत्वमा पुगेका छन् । 

मन्त्रिपरिषद्को २०८३ असार २४ गतेको निर्णयअनुसार श्रेष्ठलाई चार वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरिएको हो ।

श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।

सन् २००५ मा 'माइसंसार' ब्लग सुरु गरेर उनले नेपालमा वैकल्पिक र नागरिक पत्रकारिताको जग बसालेका थिए । 

राजाको प्रत्यक्ष शासन र मिडियामा सेनाको सेन्सरसिप भएको बेला माइसंसार सूचनाको वैकल्पिक स्रोत बनेको थियो ।

श्रेष्ठको अनुभव ब्लगिङमा मात्र सीमित छैन । उनले सिटी टाइम्स, नयाँ सडक, स्पेसटाइम दैनिक, च्यानल नेपालएभिन्युज टेलिभिजन जस्ता विभिन्न मिडियामा काम गरिसकेका छन् । 

उनले नागरिकन्युज डटकम, अन्नपूर्णपोस्ट डटकमपहिलोपोस्ट डटकमको सम्पादकीय नेतृत्व सम्हालेर डिजिटल पत्रकारितालाई व्यावसायिक रूप दिन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

मिडियाको निर्मम आलोचनादेखि खोजमूलक रिपोर्टिङसम्म

ब्लगरका रुपमा उमेश श्रेष्ठ मुलतः मिडियाका 'कटु आलोचक' हुन् । उनी नेपाली अनलाइन पत्रकारितालाई 'महाहतारको साहित्य' भन्ने गर्छन्, जहाँ सूचनाको सत्यापन विना नै समाचार सम्प्रेषण गर्ने होडबाजी चल्छ ।

umesh shrestha 2.jpeg

काउन्सिलमा श्रेष्ठको स्वागत ।


उनको नेतृत्त्वमा भएको खोजमूलक पत्रकारिताको एउटा बलियो नमुना निर्मला पन्त हत्या प्रकरणको ३० अङ्कको शृङ्खलाबद्ध रिपोर्टिङ हो । 

पहिलोपोस्टमा रहँदा उनले घटनास्थलमै पुगेर स्थानीय पत्रकार र केन्द्रका मिडियाले कसरी 'रे' को भरमा समाचार लेखेर अनुसन्धान बिथोले र निर्दोषको चरित्रहत्या गरे भन्ने कुरा सप्रमाण सार्वजनिक गरेका थिए। 

त्यस्तै, उनले उकेरा डटकममा हालसम्म बेपत्ता रहेकी छोरीमैया महर्जनबारे गरेको विस्तृत रिपोर्टिङले पनि निकै चर्चा पाएको थियो ।

तथ्यजाँच र तथ्याङ्क पत्रकारिता 

पछिल्ला वर्षहरूमा श्रेष्ठ 'नेपाल तथ्यजाँच’ नामक प्लाटफर्मको सम्पादकका रूपमा मिथ्या सूचना र दुस्सूचना विरुद्धको अभियानमा सक्रिय थिए । 

उनले सेन्टर फरम मिडिया रिसर्च नेपाल जर्नलिज्म एकेडेमीमार्फत कयौँ पत्रकारहरूलाई तथ्याङ्क पत्रकारिताको तालिम दिँदै आएका छन् । 

प्रविधिको बदलिँदो स्वरूपलाई बुझेका श्रेष्ठले नेपालमा 'रिभर्स इमेज सर्च' लगायतका तथ्यजाँचका औजारहरूलाई पत्रकारितामा स्थापित गराए ।

काउन्सिलमा उमेशका चुनौती

दुई तिहाइको शक्तिशाली सरकारले मिडियामाथि नियन्त्रण गर्न खोजिरहेको शंकाका बीच श्रेष्ठले नियामकीय निकायको नेतृत्त्वमा नियुक्ति पाएका छन् । 

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उनलाई 'परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न' र 'गलत सूचना रोक्न' निर्देशन दिएका छन् ।

umesh shrestha1.jpg

सूचना तथा सञ्चार मन्त्रीबाट नियुक्ति बुझ्दै श्रेष्ठ ।


नवनियुक्त अध्यक्ष श्रेष्ठले मिडियाको स्वरूप फेरिए पनि काउन्सिलको कानुन पुरानो भएकाले 'मिडिया काउन्सिल विधेयक' र 'आमसञ्चार विधेयक' मार्फत यसलाई समयानुकूल बनाउने बताएका छन् ।

सरकारको प्रत्यक्ष नियन्त्रण काम गरेर पत्रकारिता क्षेत्रमा 'स्वनियमन' को प्रणालीलाई बलियो बनाउन कत्तिको सक्छन् भन्नेले श्रेष्ठको सफलता मापन हुनेछ । 

त्यस्तै, अहिलेको मुख्य चुनौती मानिएको एआई र सोसल मिडिया नियमनका लागि मार्गनिर्देशिका बनाएर अघि बढ्ने उनले बताएका छन् । 

यसर्थ, प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउन सरकार र सञ्चार क्षेत्रबीच 'विश्वासको पुल' का रूपमा उनले कत्तिको काम गर्न सक्छन् भन्ने चासो छ । 

हिजो मिडियाको कमजोरी औँल्याउँदा सञ्चालकहरूबाट 'विरोधी' जस्तो व्यवहार भोग्नुपरेका श्रेष्ठ अब आफैँ नियामकको भूमिकामा छन् । 

शक्तिशाली सरकार र स्वतन्त्र मिडियाबीचको सन्तुलन मिलाउँदै, उनले स्वच्छ र दबाबमुक्त पत्रकारिताको रक्षा गर्न सक्छन् कि सक्दैनन् भन्ने नै उनको मुख्य परीक्षा हुनेछ ।


Related Story

सञ्चार सामग्री जफत गर्नु संविधानको ठाडो उल्लंघन : पत्रकार महासंघ

जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको

किशोर श्रेष्ठ पक्राउ प्रकरणमा महिला आयोग अध्यक्षको आफ्नै पीडा र गम्भीर खुलासा

'पटक पटक प्रेस काउन्सिल जाँदा पनि न्याय पाइनँ' जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननको मुद्दामा पक्राउ गरेपछि

किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिल नेपालः ‘कार्यालयमा प्रहरी छापा’ को विरोध गर्दै पत्रकारलाई पनि जिम्मेवार बन्न आग्रह

प्रेस काउन्सिलले किशोर श्रेष्ठ पक्राउ र उनको सञ्चार गृहमा छापा मारिएको शैलीप्रति आपत्ति जनाउँदै पत्रकारहरूलाई स्वतन्त्रताको नाममा स्वच्छन्द नहुन आग्रह

किशोर श्रेष्ठ पक्राउ प्रकरणः के भन्छ प्रेस काउन्सिल ऐन र आचारसंहिताको ‘विधि’?

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरेपछि सञ्चार जगत् र कानुनी वृत्तमा एउटा बहस सुरु

किशोर श्रेष्ठ पक्राउ अघिका दुई मुख्य घटना

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनको निवासबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक

फरक फरक निकायमा एउटै व्यक्ति दाबेदारः विज्ञता कि पदको भोक ?

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको नेतृत्वका लागि आवेदन दिएका नामहरूको प्रारम्भिक लेखाजोखा सरकारले प्रेस काउन्सिल नेपाल, गोरखापत्र संस्थान

मोनेटाइजेसन मोहदेखि सीमामा विदेशी मिडियाको अवैध सक्रियतासम्म, पत्रकारितामा देखिएका ७ विकृति

प्रेस काउन्सिल नेपालले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका केही नकारात्मक प्रवृत्तिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिता

पत्रकारको 'धम्की'ले मन्त्रीलाई डिप्रेसनको डर

मन्त्रीको कमिसनखोरी VS पत्रकारको ब्ल्याकमेलिङ: जब आरोपप्रत्यारोपमा एकअर्का नाङ्गिए मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पत्रकारले आफ्नो व्यक्तिगत फाइदाका