भारतीय पत्रकारिता इतिहासमै पहिलोपटक पत्रकारिताको प्रसिद्ध पुरस्कार ‘लुइस एम लायन्स’ प्राप्त गरिरहँदा ‘क्याराभान’ म्यागजिन राज्यद्रोहका पाँचवटा मुद्दा खेपिरहेको छ । कारण हो- उसले सरकारको प्रचारमा आफ्नो मसी खर्चिएन, बरु अनुसन्धानमूलक खोज पत्रकारितामार्फत् उसले निरन्तर सत्तामाथि प्रश्न गरिरह्यो । कर्पोरेटिकरणको प्रभावबाट मुक्त भएर बास्तविक पत्रकारिता गरिरह्यो ।
एकातिर यो पत्रिका मानवअधिकार, समाजिक न्याय र लोकतन्त्रको क्षयीकरणबारे अद्वीतिय र सम्झौताहीन कभरेज गरेबापत् पुरस्कृत भएको छ भने अर्कोतिर उसमाथि राज्यद्रोहका मुद्दा लगाइएको छ । यो विरोधाभासले प्रेसको आलोचनात्मक आवाज निमोठ्ने भारतीय सत्ताको बास्तविक अनुहार पनि छर्लङ्ग पार्छ ।
हार्वर्ड विश्वविद्यालयअन्तर्गतको नायमन पत्रकारिता फाउन्डेसनले पत्रकारितामा विवेक र निष्ठाका लागि प्रदान गर्ने यो पुरस्कार प्राप्त गरिरहँदा ‘क्याराभान’ ले समाजलाई विभाजन गरेको, भ्रमपूर्ण समाचार प्रकाशित गरेकोलगायतका अरोपमा भारतका ५ राज्यमा १० वटा मुद्धा लागेका छन् । यी मध्ये ५ वटा मुद्धा गत २६ जनवरी पछि लगाइएको हो । पत्रिकाका मुख्य सम्पादक, प्रकाशक एवं मुद्रक परेशनाथ, पत्रिकाका सम्पादक अनन्तनाथ र कार्यकारी सम्पाक विनोद के जोस माथि देशद्रोहको मुद्धा लगाइएको छ ।
सन् २०१४ मा भारतीय सत्तामा नरेन्द्र दामोदर दास मोदीको उदयपछि अधिकांश सञ्चार माध्यम सरकारको प्रोपागान्डा मेसिनमा परिणत भई रहँदा ‘क्याराभान’ जस्ता सीमित सञ्चारमाध्यम बाँकी थिए, जसले वास्तविक पत्रकारिता गरिरहेका थिए । धेरै पत्रकारको जीवन जागिर गरेर बित्ने गरेको अहिलेको समयमा ‘क्याराभान’ आमनागरिकको आवाजको बास्तविक उदाहरण हो । अरु पनि यस्ता केही नामहरू छन् जसले इतिहास रचेका छन्, नयाँ गोरेटो खनेका छन् । अमेरिकाको ‘द इन्टरसेप्ट’, म्यान्मारको ‘म्यानमार नाउ’ केही गर्विला नामहरू हुन् । भारतको ‘द क्याराभान’ म्याग्जिन पत्रकारिताको यस्तै बास्तविक मसाल हो । पढ्नुस् नरेश ज्ञवालीको विचार नयाँ पत्रिकामा ।