सिधाकुरा डट कमले 'डार्क फाइल' शृंखलाअन्तर्गत प्रकाशन गरेका सामग्रीहरू हटाएको छ । सोमबार सर्वोच्च आदालतको आदेशलगत्तै उक्त अनलाइनले वेबसाइट तथा युट्युबमा प्रकाशित सामग्रीहरू हटाएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ‘द डार्क फाइल’ श्रृङ्खलाका समाचार सामग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको हो । उक्त विषयसँग सम्बन्धित अन्य कार्यक्रम र समाचार उत्पादन, प्रसारण र पुनः प्रसारण लगायत कुनै कार्य नगर्न पनि आदेशमा भनिएको छ ।
सिधाकुराले समाचार हटाएको जानकारी दिँदै भनेको छ- 'सिधाकुरामा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको सम्बन्धमा प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो श्रृङ्खलाका प्रकाशित सामग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको छ ।'
गत शुक्रबार 'EXCLUSIVE: ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टिङ अपरेसन’, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए' शीर्षकमा 'सिधाकुरा'ले सामग्रीहरू सार्वजनिक गरेको थियो ।
त्यसको भोलिपल्ट श्रृङ्खलाबद्ध रुपमा 'Part-2' र 'Part-3' भन्दै श्रृङ्खलावद्ध रुपमा सो सामग्री प्रकाशन/प्रसारण गर्दै आएका थिए ।
गत शुक्रबार ती सामग्रीहरू हटाउन प्रेस काउन्सिल नेपालले दिएको निर्देशन भने सिधाकुराले अस्वीकार गरेको थियो ।
यसबारे विस्तृत पढ्नुहोस्ः मिडियाका सञ्चालक समेत मुछिएको भनिएको ‘स्टिङ अपरेसन’ पछिका तरङ्ग र बुझ्नैपर्ने १० कुरा
सो सामग्री भ्रामक भएको र अदालतको अवहेलना भएको भन्दै आइतबार सिधाकुरा डट कमका प्रकाशक युवराज कडेँल र सम्पादक नवीन ढुंगानाविरुद्ध मुद्दा दर्ता भएको थियो । सर्वोच्च अदालतका सहायक प्रवक्ता तथा उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन निवेदनमार्फत् आइतबार अवहेलना मुद्दा दर्ता गरेका थिए ।
सोही मुद्दा माथि सुनुवाई गर्दै सोमबार अदालतले समाचार हटाउने आदेश दिएको हो । आदेशमा सिधाकुराले उठान गरेको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लङ्घन गरिएको देखिएमा कानुनबमोजिम कारबाही अघि बढाउन र सो को प्रतिवेदन १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गर्नु भनी प्रहरी महानिरिक्षकलाई लेखी पठाउन पनि भनिएको छ । पढ्नुस्ः सर्वोच्चको सिधाकुरा- 'स्टिङ अपरेसन'को सामग्री हटाउनू [आदेशको पूर्णपाठ]