नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरूले महासंघभित्र पछिल्लो केही दिनयताका काम–कारबाही र गतिविधिप्रति गम्भीर चिन्ता, चासो र सरोकार व्यक्त गरेका छन् । आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा महासंघमा सरकार र राजनीतिक दलहरूको हस्तक्षेप हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
असार २२ गते तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन पत्रकारका दलीय संगठनहरूबीचको विवादका कारण अनिश्चित बनेका बेला पूर्वअध्यक्षहरू किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेले आइतबार संयुक्त वक्तव्य जारी गरेका हुन् ।
मतदाता नामावली टुङ्ग्याउन नसक्दा स्थगित भएको महासंघको चुनाव दोस्रोपटक तोकिएको मितिमा पनि हुने नहुने अनिश्चित भएका बेला महासंघको पूर्व नेतृत्वहरूले चासो दिएका हुन् ।
लामो समयदेखि जारी सदस्यता शुद्धीकरण सम्बन्धी विवाद वैशाख महिनाभित्र टुंग्याई सार्वजनिक गर्न महासंघको २७ औं महाधिवेशनले केन्द्रीय समितिलाई निर्देश गरे पनि असार सकिन लाग्दा पनि उक्त विवाद टुङ्गिएको छैन ।
सत्तारुढ नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालसहितका संगठन तोकिएकै मितिमा चुनाव गर्ने पक्षमा छन् भने नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन तत्काल चुनाव नगर्ने अडानमा छन् ।
उम्मेदवार मनोनयन दर्ता प्रक्रिया अगाडि बढिरहेको अवस्थामा सृजित असहज वातावरणलाई कारण देखाउँदै महासंघको केन्द्रीय निर्वाचन समितिले तत्कालका लागि निर्वाचनको कार्यक्रम अगाडि बढ्न नसक्ने जानकारी शनिबार गराएको थियो ।
तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाए पनि प्राध्यापक चिरञ्जीवी खनालको संयोजकत्वमा महासंघले केन्द्रीय निर्वाचन समितिले आवश्यक सहयोग पाएको छैन । असहज परिस्थितकै कारण निर्वाचन कार्यतालिका संशोधन भए पनि उम्मेवदारको मनोनयन अघि बढ्न सकेको छैन ।
असार ७ गते महासंघले प्रकाशित गरेको मतदाता नामावलीमा सामान्य त्रुटी/शुद्धाशुद्धी सच्याई निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेको छ । भलै, निर्वाचन कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन गर्नुपर्ने भए पनि दोस्रोपटक प्रकाशित नामावलीलाई 'अन्तिम' भनिएको भने छैन ।

लामो समयदेखि जारी सदस्यता शुद्धीकरण सम्बन्धी विवाद वैशाख महिनाभित्र टुंग्याई सार्वजनिक गर्न महासंघको २७ औं महाधिवेशनले केन्द्रीय समितिलाई निर्देश गरे पनि असार सकिन लाग्दा पनि उक्त विवाद टुङ्गिएको छैन ।
गैरपत्रकारहरूलाई बिदा गरी पत्रकारहरूको मात्र महासंघ बनाउने भनी सुरु भएको महासंघको सदस्यता शुद्धीकरण अन्ततः दलका पत्रकार संगठनहरूको कोपभाजनमा परेका बेला पूर्वअध्यक्षहरूले विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघको वर्तमान नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
महासंघमा उम्मेदवार छनोटका नाममा राजनीतिक दलका नेताहरूको हस्तक्षेप पहिल्यैदेखि जारी रहेका बेला पूर्वअध्यक्षहरूले सरकारी हस्तक्षेप पनि हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरूमा तालाबन्दी र हुलहुज्जत हुनुलाई उनीहरूले दुर्भाग्यपूर्ण र आपत्तिजनक कार्य भनेका छन् । अहिले नेपाल प्रेस युनियनले महासंघका कार्यालयहरूमा तालबन्दी गरेको छ ।
"लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था समेत रहेको महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरूमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुर्भाग्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौँ", वक्तव्यमा भनिएको छ ।
पूर्वअध्यक्षहरूले सदस्यता लगायत विवादको समाधान महासंघको वैधानिक संरचना मार्फत खोज्ने परम्परा अवलम्बन गर्न अनुरोध गरेका छन् । "महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायत विवादको समाधान महासंघको वैधानिक संरचना मार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्ष सहित केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदछौं", वक्तव्यमा भनिएको छ, "महासंघको साख र मर्यादा कायम गर्न पूर्व सभापति र अध्यक्षहरू आवश्यक सहजीकरण गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।"
महासंघमा देखिएको समस्यालाई बहाना बनाएर सरकार वा राजनीतिक दलहरूले हस्तक्षेप गर्न सक्ने तथा प्रभाव पार्न सक्ने भएकोले गम्भीर बन्न उनीहरूले सचेत गराएका छन् । "महासंघका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासंघका सदस्यहरूमा हामी अपील गर्दछौं", वक्तव्यमा भनिएको छ ।
आइतबार नै साझा लोकतान्त्रिक-प्रगतिशील गठबन्धनका नाममा पत्रकारहरूको एक समूहले प्रेस विज्ञप्ति जारी गरी महासंघ रक्षाका लागि साझा चरित्रको व्यक्तित्वको नेतृत्वमा समिति गठन माग गरेको छ । सदस्यता वितरणको विषयलाई लिएर पत्रकारका संघ/संगठनबीच आरोप-प्रत्यारोप सुरु भइरहेका बेला शनिवार भएको भेलाले गठबन्धनका नाममा ७ बुँदे माग राखेको छ ।
नेपाल पत्रकार महासंघले सदस्य शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्डअनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम २०८० असोज २६ गते सार्वजनिक गरेको थियो ।