श्रम अदालतले राजधानी दैनिकका पत्रकार तथा कर्मचारीको पक्षमा फैसला गरेको छ । राजधानी दैनिकमा कार्यरत १० जना पत्रकारले सञ्चयकोष, चाडपर्व खर्च, उपचार खर्च, बिदा लगायतका सेवा सुविधाको माग गर्दै र अन्य ३ जना पत्रकारले सेवासुविधाका साथै पुनर्बहालीको माग गरेर दुई वर्ष अघि श्रम कार्यालय टेकुमा निवेदन दिएका थिए ।
श्रम कार्यालयले सञ्चयकोष, चाडपर्व खर्च र उपदान दिनुपर्ने फैसला गरेको थियो । कार्यालयले उक्त शीर्षकको हिसाबमा भने सरकारले पत्रकारहरूका लागि तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम हुने गरी फैसला गरेको गरेको थियो । कार्यालयको फैसला चित्त नबुझेपछि पत्रकारहरू पुनरावेदनका लागि २०८० पुसमा श्रम अदालत पुगेका थिए ।
भदौ ६ गते श्रम अदालतले गरेको फैसलाले श्रम कार्यालय टेकुले यसअघि गरेको फैसला बदर गरिदिएको छ । "प्रत्यर्थी प्रतिष्ठानमा कार्यरत पुनरावेदकहरूको पारिश्रमिक सेवा सुविधाको सम्बन्धमा निवदेन परी सो उपर श्रम तथा रोजगार कार्यालयले मिति २०८०।६।७ मा गरेको निर्णयमा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम हुने गरी गरेको निर्णय कानुन विपरितको देखिदा बदर हुने ठहर्छ", श्रम अदालतको फैसलामा भनिएको छ ।
श्रम अदालतले पत्रकारहरूको पारिश्रमिक सम्बन्धी राजपत्रको सूचना बमोजिमको रकमलाई आधारभूत पारिश्रमिक मानी सेवा सुविधा गणना गरी तत् वर्षको सञ्चयकोष तथा अन्तिम पारिश्रमिकको आधारमा अन्य सेवा सुविधा पाउने फैसला गरेको छ । त्यस्तै, लामो समयसम्म पुनरावेदकहरूले पूरा पारिश्रमिक र चाडपर्व खर्च बापतको रकम भुक्तानी पाएको नदेखिएको भन्दै उपलब्ध गराउन र १५ प्रतिशतका दरले ब्याज समेत भराई पाउने ठहर गरेको छ ।
पुर्नबहाली गरी हाजिर समेत गराई पाउँ भनी माग समेत गरिएको उक्त फैसलामा पुनरावेदकहरूको रोजगार अन्त्य भएको नदेखिएको फैसला गरिएको छ ।
READ♾️ सञ्चालकहरूको सम्पत्तिको कचिङ्गलले ‘राजधानी’ दैनिकमा निम्तिएको सङ्कट
राजधानीले कोभिड लगायत विभिन्न मितिदेखि ६ जना पत्रकारलाई हाजिर गरी काम गर्न वञ्चित गर्दै आएको थियो । उनीहरूले राजीनामा नदिएको र प्रतिष्ठानले बर्खास्ती लगायतका कुनै पनि काम नगरेपछि अदालतले उनीहरुको रोजगार अन्त्य नभएको भन्दै यसका थप निर्णय गर्न नपर्ने फैसला गरेको हो । फैसलाको पूर्णपाठ आउन भने बाँकी छ ।
श्रम कार्यालयको फैसलालाई पत्रकारहरूले स्वागत गरेका छन् । निवेदक मध्येका एक पत्रकार टेनिस रोकाले सम्पूर्ण श्रमजीवी पत्रकारको जित भएको प्रतिक्रिया दिए ।
राजधानी दैनिकको प्रकाशन संस्था राजधानी न्यूज पब्लिकेसन्स प्रालिमा कार्यरत ११ जना पत्रकारले कानुनले तोकेको सेवासुविधाबाट बञ्चित गरिएको भन्दै २०७९ असार ३१ गते प्रेस रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिएका थिए ।
पत्रकारहरू महेश्वर गौतम, टेकबहादुर रोका, ईश्वर बहादुर विश्वकर्मा, भीम चन्द्र राई, द्वारिका प्रसाद काफ्ले, सविन शर्मा, विश्व सापकोटा, निराजन पौडेल, राजेन्द्र श्रेष्ठ, श्याम महर्जन, केशरमणी कटवाल, विनाेद विश्वकर्मा र सुरेश चाैधरी २०८० माघमा श्रम कार्यालयको फैसलाविरुद्ध पुनरावेदनमा गएका थिए ।