नेपाल टेलिभिजनले समाचार च्यानलका लागि करार सेवामा समाचार वाचक, सम्पादक र प्रस्तोता पदहरूका लागि आवेदन आह्वान गरेको छ। सूचना अनुसार अंग्रेजी र नेपाली गरी जम्मा ७ जना कर्मचारी आवश्यक रहेको छ।
सार्वजनिक सेवा प्रसारण नेपालको विज्ञापन अनुसार दुई जना अंग्रजी समाचारतर्फ र ५ जना (१ महिला सहित) नेपाली समाचारतर्फ आवेदन माग गरिएको छ ।
विज्ञापनमा यसरी नियुक्त हुने व्यक्तिले समाचार वाचन, सम्पादन र प्रस्तुतीकरण - तीनवटै काम गर्नुपर्ने उल्लेख छ।
संस्थाले माग गरेका पदहरूमा काम गर्न इच्छुक व्यक्तिको न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट पत्रकारिता विषयमा कम्तिमा स्नातक उत्तीर्ण गरेको वा अन्य विषयमा स्नातक तह उत्तीर्ण गरी टेलिभिजन समाचार वाचन, सम्पादन र रिपोर्टिङ र कार्यक्रम प्रस्तोताका रुपमा कम्तिमा १ वर्षको अनुभव प्राप्त गरेको हुनपर्नेछ ।
लोपोन्मुख, सिमान्तकृत र अति सिमान्तकृत समुदायका उम्मेदवारका लागि कक्षा १२ उत्तीर्ण र ६ महिनाको पत्रकारिता अनुभव भए पुग्ने तथा प्रस्तुति कौशल र भाषा ज्ञान भएकालाई प्राथमिकता दिइने जनाइएको छ।
उमेर हद : २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको महिला र अपाङ्गता भएकाको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । लोपोन्मुख, अति सिमान्तकृत र सिमान्तकृत वर्ग/समुदायका हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ ।
सेवाको किसिम / पारिश्रमिक : पारिश्रमिकको हकमा काम गरेको दिनको सिफ्ट अनुसार नेपाल टेलिभिजनको निर्धारित दररेट बमोजिम भुक्तानी हुने र करार अवधि २०८२ असारसम्म रहने तथा कार्य मूल्याङ्कनका आधारमा थप गर्न सकिने जनाइएको छ।
छनोटको किसिम : दरखास्तहरूको मूल्याङ्कन शैक्षिक योग्यता, समावेशिता, कार्यानुभव, तालिम र भिडियो प्रस्तुतिका आधारमा प्रारम्भिक छनौट गरी छनौट भएकाहरूको प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा लिइने जनाइएको छ।
दरखास्त बुझाउने अन्तिम मिति र स्थान : इच्छुक उम्मेदवारले फागुन १८ गतेभित्र दरखास्त फारमसँगै नागरिकता, शैक्षिक प्रमाणपत्र, तालिम र अनुभवका कागजात तथा २ मिनेटको भिडियो प्रस्तुति वा भिडियो लिंक सहित नेपाल टेलिभिजन कार्यालय वा ईमेल ठेगाना [email protected] मा आवेदन दिनुपर्नेछ। फारम वेबसाइट www.ntv.org.np बाट डाउनलोड गर्न सकिनेछ।
प्रारम्भिक छनौट भएका उम्मेदवारको नामावली र परीक्षा कार्यक्रम दरखास्त दिने अन्तिम मितिले ५ दिनभित्र नेपाल टेलिभिजनको वेबसाइट ntv.org.np मा राखिने संस्थाले जनाएको छ । समाचार लेखन र भाषा शैली तथा अंग्रेजी समाचारको हकमा भाषा अनुवाद परीक्षासमेत लिइने छ । यसअघि समाचार प्रस्तोता सम्बन्धी सूचना रद्ध भएको सूचनामा भनिएको छ ।