सरकारले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रशारण संस्था र प्रेस काउन्सिल नेपालको नेतृत्त्व छान्न आवेदन आह्वान गरेको छ ।
यी तीनवटा सार्वजनिक निकायमा रिक्त शीर्ष पदहरूका लागि सरकारले २०८३ जेठ ७ गतेको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको हो ।
मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष, गोरखापत्र संस्थानको महाप्रबन्धक र प्रेस काउन्सिल नेपालको अध्यक्ष पदका लागि प्रतिस्पर्धात्मक प्रणालीबाट नियुक्ति गर्न दरखास्त मागेको हो ।
इच्छुक उम्मेदवारहरूले २०८३ जेठ १८ गते सोमबार कार्यालय समयभित्र मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त दिनुपर्ने सूचनामा जनाइएको छ ।
कुन पदका लागि कस्ता छन् योग्यता ?
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष 🔗

✓ शैक्षिक योग्यता: मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी पत्रकारिता, मानविकी, व्यवस्थापन, बजार व्यवस्थापन, सूचना प्रविधि वा प्रसारण सम्बन्धी इन्जिनियरिङ क्षेत्रमा कार्य गरेको ।
✓ अनुभव: सम्बन्धित क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव प्राप्त गरेको ।
✓ उमेर: दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको ।
✓ नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको ।
गोरखापत्र संस्थानको महाप्रबन्धक 🔗

✓ शैक्षिक योग्यता: कुनै पनि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको ।
✓ अनुभव: कुनै सञ्चार माध्यमको प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा वा आमसञ्चार सम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा वा पत्रकारिता क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको ।
✓ उमेर: ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको ।
✓ कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड आदिमा राजपत्राङ्कित द्वितीय श्रेणी वा दशौँ तहमा काम गरेको अनुभव भएका व्यक्तिहरू पनि योग्य ।
प्रेस काउन्सिल नेपालको अध्यक्ष 🔗

✓ शैक्षिक योग्यता: कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको ।
✓ अनुभव: वरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको वा पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको र कम्तीमा १५ वर्ष काम गरेको अनुभव भएको ।
✓ सर्त: पत्रकार आचारसंहिता उल्लंघन अन्तर्गत सजाय नपाएको हुनुपर्ने ।
✓ उमेर: ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको ।
सबै पदका लागि उम्मेदवारले ३,००० देखि ५,००० शब्दसम्मको सिलबन्दी व्यावसायिक कार्ययोजना (Business Action Plan) पेस गर्नुपर्नेछ ।
आवेदनका साथमा शैक्षिक योग्यता, अनुभवका प्रमाण पत्रहरू, नागरिकताको प्रतिलिपि र बायोडाटा संलग्न हुनुपर्ने सूचनामा जनाइएको छ ।