मन्त्रीको कमिसनखोरी VS पत्रकारको ब्ल्याकमेलिङ: जब आरोपप्रत्यारोपमा एकअर्का नाङ्गिए
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पत्रकारले आफ्नो व्यक्तिगत फाइदाका लागि आफूमाथि धम्की दिएको गम्भीर आरोप लगाएका छन् ।
उनका अनुसार जनकपुर टुडे पत्रिकाका प्रधान सम्पादक बृजकुमार यादवले आफूलाई फोन गरेर व्यक्तिगत फाइदाका लागि विकास योजना माग गरेका थिए । साथै, मन्त्रालयको विज्ञापन आफ्नो पत्रिकामा नदिएको भन्दै उनले धम्की दिएको मन्त्रीको आरोप छ ।
आरोप सार्वजनिक भएपछि पत्रकार महासंघ र अन्य संस्थाहरूले कारबाहीको माग गरेका छन् । जनकपुर टुडेका प्रधान सम्पादक बृजकुमार यादवले भने मन्त्रीको आरोपलाई पूर्णतः खण्डन गरेका छन् ।
मन्त्रीको आरोप र डिप्रेसनको चिन्ता
फागुन २० गते प्रादेशिक ललितकला प्रदर्शनी २०८१ को उद्घाटन समारोहमा मन्त्री यादवले आफू डिप्रेसनमा जान लागेको बताएका थिए । "प्रदेशमा कुनै पनि पक्ष राम्रो छैन, काम गर्न समस्या छ, मन्त्रालयको अवस्था यति नाजुक छ," सम्बोधनको क्रममा उनले भने, "म अझ केही दिन मन्त्री भैराखेँ भने म डिप्रेसनमा जान्छु ।"
उक्त कार्यक्रममा मन्त्रीले पत्रकारहरूले फोन गरेर योजना माग्ने, विज्ञापन माग्ने, नदिए धम्क्याउने र विरोधमा समाचार प्रकाशन गरिदिने गरेको आरोप लगाए । "पत्रकारको फोन आउँछ । यदि हामीलाई विज्ञापन दिएनौ भने हामी तिम्रा बारेमा नकारात्मक कुरा छापिदिन्छौँ", उनले भने, "हामीलाई फलानो योजना दिन्छौ कि दिँदैनौ भनेर पत्रकारको फोन आउँछ ।"
यद्यपि त्यस समय उनले कुनै पनि मिडिया वा पत्रकारको नाम भनेका थिएनन् ।
प्रमाणसहित नाम सार्वजनिक गर्न महासंघको माग
मन्त्रीको यस अभिव्यक्तिपछि नेपाल पत्रकार महासंघ, प्रादेशिक कार्य समिति मधेश प्रदेश र जिल्ला कार्य समिति धनुषाले विज्ञप्ति जारी गर्दै मन्त्रीलाई धम्क्याउने पत्रकारको नाम प्रमाणसहित सार्वजनिक गर्न दबाब दिए ।
"कुनै व्यक्तिले पत्रकारिता पेशाको दुरुपयोग गर्दै आचारसंहिताविपरीत कार्य गरेको छ भने त्यसको प्रमाणसहित नाम सार्वजनिक गरिनुपर्दछ," महासंघ प्रादेशिक कार्य समितिका महासचिव शैलेन्द्र महतो क्रान्तिद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ," विज्ञप्तिमा थप भनिएको छ, "तर आधार प्रमाणविना सम्पूर्ण पत्रकारलाई शंकाको घेरामा पार्ने, पेशागत निष्ठा एवं विश्वसनीयतामा प्रश्न उठाउने र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने कुनै पनि अभिव्यक्ति महासंघलाई स्वीकार्य छैन ।"

महासंघले मन्त्री यादवलाई प्रमाणसहित पत्रकारको नाम सार्वजनिक गर्न नसके अभिव्यक्ति सच्याउन माग गरेको थियो ।
नेपाल पत्रकार महासंघ धनुषाले पनि विज्ञप्तिमार्फत् कसैले पत्रकारिता पेशाको दुरुपयोग गर्दै आचारसंहिता विपरीत कार्य गरेको भए त्यसको प्रमाणसहित नाम सार्वजनिक गर्न नत्र अभिव्यक्ति सच्याउन मन्त्रीसँग माग गरेको थियो ।

जनकपुर टुडेका प्रधान सम्पादकमाथि मन्त्रीका आरोप
मन्त्रीमाथि उनले आरोप लगाएका पत्रकारको नाम सार्वजनिक गर्न चौतर्फी दबाब परिरहेको थियो । नेपाल पत्रकार महासंघ लगायत सञ्चार सम्बद्ध संस्थाहरू र सामाजिक सञ्जालमा मन्त्रीमाथि उठ्न थालेपछि मन्त्रीले नाम सार्वजनिक गरिदिए ।
मन्त्रीले पत्रकारमाथि आरोप लगाएको भोलिपल्ट अर्थात् फागुन २१ गते पत्रकारहरूसँग कुरागर्दै आफूलाई फोन गरेर विज्ञापन तथा योजना माग्ने र समाचार प्रकाशित गर्छु भनेर धम्क्याउने मिडिया जनकपुर टुडे पत्रिका रहेको उनले दाबी गरे । यतिन्जेल पनि उनले बृजकुमार यादवको नाम लिएका थिएनन् ।
महासंघ र अन्य संस्थाहरूको मागपछि फागुन २३ गते मन्त्री यादवले पत्रकारहरूसँग कुरा गर्दै जनकपुर टुडे पत्रिकाका प्रधान सम्पादक बृजकुमार यादवले आफूलाई फोन गरेर योजना र विज्ञापन मागेको तथा धम्क्याएको आरोप लगाए ।
"जनकपुर टुडेका सञ्चालकको जनकपुरमा अनजनी सुइट होटल छ, त्यो होटल जाने बाटो पिच र त्यहाँ नजिकै भएको पोखरीको सौन्दर्यकरणको लागि योजना पारिदिन फोन गर्नुभएको थियो," मन्त्रीले दाबी गरे, "मैले अहिले योजना पार्न नसकिने भने त्यसपछि उहाँले हेरम्ला भनेर फोन काट्नु भयो ।" यो विषय मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पनि आफूले जानकारी गराएको मन्त्री यादवको दाबी छ ।
मन्त्रीका अनुसार बृजकुमार यादवले विज्ञापन सम्बन्धमा पनि प्रश्न उठाएका थिए । "मन्त्रालयको विज्ञापन मेरो पत्रिकामा नदिएर किन राष्ट्रिय दैनिकमा दिएको" भनेर उनले धम्क्याएको मन्त्रीको आरोप छ । आफ्नो स्वार्थ पुरा नभएपछि आफूहरूको निरन्तर चरित्रहत्या भएको उनको दाबी छ ।
मन्त्रीले आरोपित पत्रकारको नाम सार्वजनिक गरेपछि भने पत्रकार महासंघ चुप छ । यस विषयमा नेपाल पत्रकार महासंघ, प्रादेशिक कार्य समिति मधेश प्रदेश र जिल्ला कार्य समिति धनुषाले कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन् । जबकि प्रदेश समितिले फागुन २० गते निकालेको विज्ञप्तिमा महासंघले 'पत्रकारिता पेशाको नाम बदनाम गर्ने जो कोहीप्रति कानुनी कारबाहीको लागि प्रतिबद्ध रहेको' बताएको थियो ।
प्रादेशिक समितिका अध्यक्ष श्याम बञ्जाराले यस विषयमा हालसम्म कुनै छलफल नभएको स्वीकारे । धनुषा जिल्ला समितिका अध्यक्ष पुरन साहले भने जिम्मेवारी प्रदेश समितिको भएको बताए । प्रदेश समितिको निर्देशनपछि मात्रै जिल्ला समितिले कदम चाल्ने उनको भनाई छ ।
यद्यपि प्रेस सेन्टर नेपाल, धनुषा शाखाले भने विज्ञप्ति जारी गर्दै यस विषयमा कडा कदम चाल्न माग गरेको छ । "मन्त्रालयगत योजना र बजेट माग गर्दै थर्काउने संचारमाध्यम जनकपुर टुडे र त्यसका संचालकको नाम मन्त्रीले स्वयं सार्वजनिक गरेकाले यस्ता कार्यबाट सम्पूर्ण पत्रकार र पत्रकारिता जगत लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको छ," विज्ञप्तिमा उल्लेख छ, "यसप्रति कडा कदम चाल्न सम्बन्धित निकाय र सरकारसँग जोडदार माग गर्दछौँ ।"

जनकपुर टुडेको खण्डन
जनकपुर टुडेका सञ्चालक एवं प्रधान सम्पादक बृजकुमार यादवले भने मन्त्रीको आरोपलाई पूर्णतः खण्डन गरेका छन् । “मैले मन्त्रीलाई फोन गरेर योजना मागेको, विज्ञापन मागेको, धम्क्याएको भए उहाँसँग कल रेकर्ड होला त ! सार्वजनिक गरे भैगो त,” यादवले मिडिया कुराकानीसँग भने, “जनकपुर टुडेमा भौतिक पूर्वाधार विकास मन्त्रालय र मन्त्रीको बारेमा समाचार आउन थालेपछि मन्त्रीले म माथि यस्तो आरोप लगाएका हुन् ।”
बिबिसीमा समेत कार्यरत पत्रकार बृजकुमार यादव धेरैले चिनेका पत्रकार हुन् । उनी प्रधान सम्पादक रहेको पत्रिका जनकपुर टुडेले यो महिना लगातार मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवबारे समाचार प्रकाशित छन् ।
फागुन १९ गते जनकपुर टुडेमा “आठ प्रतिशतमा योजना बेच्दै मन्त्री, मधेश प्रदेशका मन्त्री दलालको रेट २० प्रतिशत सरकारमा कलह” शीर्षकमा समाचार प्रकाशित भएको छ । त्यस्तै, फागुन २० गते “बिचौलियामार्फत बिक्री भैरहेको योजना तत्काल रोक्न माग, ब्रम्हलुट मच्चाउने पूर्वाधार विकास कार्यालय महोत्तरीमा तालाबन्दी गर्न ज्ञापन” शीर्षकमा समाचार प्रकाशित छ ।

फागुन २१ गते “पूर्वाधार विकास धनुषामा बढी कमिसन माग दलालद्वारा २० प्रतिशतसम्म माग, सम्झौतामा ढिलाइ” शीर्षकमा समाचार प्रकाशित भएको छ ।
त्यसो त यो समाचार जनकपुर टुडेमा मात्रै आएको भने होइन । फागुन २३ गते अनलाइनखबरमा “कार्यालयहरूबाट हुने योजनाको चिठी बाँड्दै मधेशका पूर्वाधारमन्त्री, कमिसनमा बेचेको आशंका” शीर्षकमा समाचार प्रकाशित भएको छ । पूर्वाधार विकास कार्यालयबाट वितरण हुनेपर्ने चिठी भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले कमिसन लिएर वितरण गरिएको अनलाइनखबरको लागि शैलेन्द्र महतोले तयार पारेको समाचारमा उल्लेख छ ।
विज्ञापनका लागि जबर्जस्तीको ट्रेन्ड
यो घटना नेपालमा पत्रकारिता क्षेत्रमा देखिएको व्यापक समस्याको एक उदाहरण मात्र हो । सञ्चारमाध्यमका सञ्चालक र पत्रकारहरूले विज्ञापनदातासँग जबरजस्ती विज्ञापन माग्ने, विज्ञापनदाताको पूर्व स्वीकृति बिना विज्ञापन प्रकाशन/प्रसारण गर्ने र भुक्तानी माग्ने जस्ता गैरव्यावसायिक क्रियाकलाप गर्ने गरेको गुनासो बढ्दै गएको छ ।
वनस्पति विभागले यस्तै घटनाहरू बढेका कारण एक वर्ष अघि नै सूचना पाटीमा सूचना टाँसेर विभागको आदेश बिना विज्ञापन प्रकाशित नगर्न भनेको थियो । सूचनामा लेखिएको थियो - "बजेट अभावका कारण विभागको लिखित आदेश वेगर विज्ञापन तथा शुभकामना सन्देश लगायतका विज्ञापनहरू पत्र-पत्रिकामा छपाई नगर्नुहुन अनुरोध छ । यस्ता बिल भुक्तानिको लागि विभाग जवाफदेही नहुने व्यहोरा अनुरोध छ ।"
यस्तै समस्या चितवनमा पनि देखिएको छ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा चितवनले २०८१ वैशाख १३ गते जारी गरेको विज्ञप्तिमा पत्रकारिता क्षेत्रमा पछिल्लो समय बढेको अमर्यादित र आचारसंहिताविपरीत गतिविधिप्रति चिन्ता व्यक्त गरेको थियो । सञ्चारमाध्यमका सञ्चालक र पत्रकारहरूले विज्ञापनदातासँग जबरजस्ती विज्ञापन माग्ने, विज्ञापनदाताको पूर्व स्वीकृति विना विज्ञापन प्रकाशन प्रसारण गर्ने र भुक्तानी माग्ने जस्ता गैरव्यावसायिक क्रियाकलाप गर्ने गरेको गुनासो आएको भन्दै महासंघ जिल्ला शाखा चितवनले विज्ञप्ति निकालेको थियो ।
"विज्ञापन नदिए नकारात्मक कुरा सञ्चार माध्यमबाट सार्वजनिक गरिदिन्छु भनी व्यावसायिक आचरण विपरीत धम्क्याउने गरेको उजुरी औद्योगिक, व्यापारिक संघसंस्थाबाट पत्रकार महासंघमा आएको छ," तत्कालीन सचिव दिपेन्द्र अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ, "पेशागत मर्यादाको ख्याल गरी आफ्नो व्यावसायिक कर्म अगाडि बढाउन तथा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नहुन सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मी मित्रहरूमा यो विज्ञप्ति मार्फत अनुरोध छ ।"