विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्वसन्ध्यामा मिडिया एक्सन नेपालले “त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा” शीर्षकको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनमा २०२४ मे ४ देखि २०२५ मे १ सम्मको अवधिमा नेपालमा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि भएका उल्लंघनहरूलाई समेटिएको छ ।
शुक्रबार आयोजित सार्वजनिक कार्यक्रममा मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका झाले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गरे।
प्रतिवेदनमा उल्लिखित तथ्यांक अनुसार, विगत वर्षभरिमा मात्रै ३२ वटा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी उल्लंघनका घटनाहरू भएको पाइन्छ, जसबाट ४० जना पत्रकार तथा सञ्चारमाध्यम प्रभावित भएका छन्। ती घटनामध्ये पत्रकार सुरेश भुल र सुरेश रजकको हत्या, ३ पत्रकारको गिरफ्तारी, सूचनाको पहुँचमा अवरोध, पत्रकारमाथि धम्की र त्रास, साथै मिडिया संस्थामाथिका आक्रमणहरू उल्लेखनीय छन् ।
विशेष रूपमा प्रतिवेदनमा पत्रकार सुरेश रजकको २०२५ मार्च २८ मा राजसंस्था समर्थक प्रदर्शनका क्रममा हत्या गरिएको र पत्रकार गजेन्द्र बुढाथोकीलाई भ्रष्टाचारसम्बन्धी समाचार प्रकाशन गरेपछि चिनियाँ दूत चेन् सोंगबाट धम्की दिइएको घटनालाई उजागर गरिएको छ। यस्ता घटनाले प्रेस स्वतन्त्रता मात्र होइन, समग्र लोकतान्त्रिक अभ्यासमा गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यकारी निर्देशक पन्तले भने, “यी तथ्यांकहरू केवल आँकडा होइनन्, स्वतन्त्र मिडिया र अभिव्यक्तिमाथि त्रासको वातावरण सिर्जना गर्ने सङ्केत हुन्। यस्ता क्रियाकलापहरूले लोकतन्त्रको मेरुदण्ड नै कमजोर बनाउँछन् ।”
प्रतिवेदन अनुसार, १६ वटा घटनाहरू सरकारी निकायसँग, १ घटना विदेशी कूटनीतिक पक्षसँग, र २३ वटा गैर-राज्य पक्षसँग सम्बन्धित छन्। महिला पत्रकार सबिना कार्की प्रहरीद्वारा प्रयोग गरिएको फोहर पानीबाट घाइते भएकी घटनाले महिला पत्रकारहरू थप जोखिममा रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा “कृत्रिम बौद्धिकता (एआई) र प्रेस स्वतन्त्रतामाथिको प्रभाव” विषयमा अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो। छलफलमा संलग्न सञ्चारकर्मी र कानुनी विज्ञहरूले एआईको सम्भाव्यता, चुनौती, र त्यससँग जोडिएको नीतिगत संरचना निर्माणको आवश्यकतामाथि बहस गरे ।
अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईले प्रतिवेदनबारे टिप्पणी गर्दै मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रताको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले भने, “तथ्य र प्रमाणका आधारमा पत्रकारमाथि भएका आक्रमणहरू अभिलेख गर्ने कामले लोकतान्त्रिक बहसलाई दिशा दिने वाचडगको भूमिकामा यो संस्था अग्रसर देखिन्छ ।”
प्रतिवेदन मिडिया एक्सन नेपालको वेबसाइटमा उपलब्ध छ । संस्थाले सबै सरोकारवाला निकायहरूलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आफ्नो-आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
हेर्नुहोस् प्रतिवेदन: