नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि भएको देखाएको छ । सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० (२०८१ वैशाख २२ देखि २०८२ वैशाख १७) सम्मको अवधिमा प्रेस स्वतन्त्रता हनन् का ७३ वटा घटना भएको महासंघले जनाएको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा बढी हो । गत वर्ष यस्ता ६२ घटना मात्रै अभिलेख भएका थिए ।
महासंघको सञ्चार अनुगमन इकाइले तयार पारेको "प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन २०८२" अनुसार, यी ७३ घटनामा १५१ जना पत्रकार तथा सञ्चारकर्मी र ५ वटा सञ्चार संस्था पीडित भएका छन् । प्रतिवेदनले यस अवधिमा २ जना पत्रकारको हत्या भएको तथ्यांक प्रस्तुत गरेको छ ।
२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगजनीमा परेर र २०८१ कात्तिक २६ गते कैलालीमा पत्रकार सुरेश भुलको कुटपिटबाट हत्या भएको थियो ।
यसैगरी, २ जना पत्रकार गिरफ्तारीमा परेका छन् भने ९ वटा घटना कब्जा तथा अवरोधका, २० वटा आक्रमणका र २४ वटा दुर्व्यवहार तथा धम्कीका घटना रहेका छन् । पेशागत असुरक्षाका १६ वटा घटना पनि अभिलेख गरिएको महासंघले जनाएको छ । दुर्व्यवहार/धम्कीका घटना सबैभन्दा बढी (२४) रहेका छन्, जसले पत्रकारहरू मानसिक दबाबमा काम गर्न बाध्य भएको देखाउँछ ।
प्रतिवेदन अनुसार प्रेस स्वतन्त्रता हननका घटना सबैभन्दा बढी बागमती प्रदेशमा ३८ वटा भएका छन् । त्यसपछि मधेश प्रदेशमा १२, कोशी प्रदेशमा ६, सुदूरपश्चिम प्रदेशमा ६, गण्डकी प्रदेशमा ४, कर्णाली प्रदेशमा ४ र लुम्बिनी प्रदेशमा २ वटा घटना भएका छन् ।

महासंघकी अध्यक्ष निर्मला शर्माले प्रतिवेदनको शुभकामना सन्देशमा बदलिँदो परिवेशमा नेपाली पत्रकारिता क्षेत्रले नयाँ चुनौती सामना गरिरहेको उल्लेख गरेकी छन् । आर्थिक संकट, कृत्रिम बुद्धिमत्ता (एआई) को विकास, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन नहुनु, पारिश्रमिक वृद्धि नहुनु जस्ता समस्या कायमै रहेको उनले बताएकी छन् । राज्य र सम्बन्धित निकायबाटै पत्रकारमाथि दुर्व्यवहार, धम्की र आक्रमणका घटना हुनु खेदजनक भएको भन्दै उनले पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न सरकारको ध्यानाकर्षण गरेकी छन् ।
प्रतिवेदनले लामो समयदेखि मिडिया काउन्सिल विधेयकले पूर्णता नपाएको र सरकारले सूचनाप्रविधि, सामाजिक सञ्जाल व्यवस्थापन जस्ता विधेयक ल्याउने तयारी गरिरहेको सन्दर्भमा प्रेस स्वतन्त्रतालाई संकुचित पार्न नहुनेमा जोड दिएको छ ।

महासंघले पत्रकारमाथि हुने सबै प्रकारका दमन, दुर्व्यवहार र आक्रमणको अन्त्य गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र पत्रकारको पेशागत तथा भौतिक सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग माग गरेको छ । साथै, दण्डहीनताको अन्त्य गर्दै प्रेस मैत्री वातावरण निर्माणका लागि पनि आग्रह गरेको छ ।
हेर्नुहोस् पुर्णपाठ: