- भानुभक्त आचार्य
महाभारतमा युधिष्ठिरले गुरु द्रोणाचार्यलाई नियतवश गलत सूचना दिएको एउटा प्रसङ्ग आउँछ। द्रोणाचार्य कौरवका तर्फबाट सेनापति भएका बेला पाण्डवहरूले जित्ने सम्भावना थिएन। तब पाण्डबहरूले श्रीकृष्णकहाँ गएर द्रोणाचार्यलाई कसरी नियन्त्रण गर्ने भनेर सोधे। कृष्णले पुत्रशोकको अवस्थामा बाहेक द्रोणाचार्यलाई हराउन नसकिने कुरा बताए। तब कृष्णले भीमलाई अस्वत्थामा नाम गरेको हात्तीलाई गदाले हानेर मार्न लगाए।
द्रोणाचार्यका पुत्रको नाम पनि अस्वत्थामा थियो र उनी अलि अर्कैपट्टि युद्ध गरिहेका थिए। अश्वस्थामा मारियो भन्दै पाण्डव सेनाले गुरु द्रोणाचार्यलाई खबर सुनाए। द्रोणाचार्यलाई युद्धको समयमा अश्वत्थामाको हत्याको खबरले झस्कायो तर उनले त्यो सूचना पत्याएनन् किनभने अश्वत्थामा चिरञ्जीवी थिए। तब द्रोणाचार्य अरुले दिएको खबर पत्याउँदिन भन्दै युधिष्ठिरलाई सोध्न गए। युधिष्ठिर कहिल्यै नढाट्ने र सत्यवादी भनेर चिनिएका थिए। युधिष्ठिरलाई थाहा थियो कि अश्वत्थामा नामको हात्ती मारिएको हो, मान्छे होइन। तर पनि उनले ‘नरो वा कुञ्जरोवा अश्वत्थामा हतोहतः’ भनिदिए। अर्थात् मान्छे हो कि हात्ती तर अश्वत्थामा त मारियो। यति सुन्ने बित्तिकै पुत्रशोकले विह्वल बनेका द्रोणाचार्यले हतियार विसाएर भुइँमा बसेर शोक गर्न थाले। त्यसैबेला द्रोपदीका दाजु धृष्टद्युम्नले द्रोणाचार्यको हत्या गरिदिए।
यो प्रसंगलाई मैले अहिलेको जमानामा लोकतान्त्रिक भनिएका निर्वाचनबाट आएका सरकारहरूले कसरी जनतालाई गुमराहमा पारेर आफ्नो स्वार्थसिद्धि गर्न तम्सिन्छन् भन्ने प्रयोजनका लागि उठाएको हुँ। आजका युधिष्ठिरहरू भनेका जनप्रतिनिधिहरू हुन्, जसले ‘म नियम कानुन अनुसार मात्रै गर्छु। सत्यबाहेक अरु बोल्दिन। देश र जनतामाथि गद्दारी गर्दिन’ भनेर संविधान वा धार्मिक ग्रन्थलाई छोएर कसम खाएका हुन्छन्। उनीहरूलाई हामीले नै भोट दिएका हुन्छौं। लोकतन्त्रमा सबैभन्दा शक्तिशाली भनेको मताधिकारप्राप्त जनता हो, जसले चुनावद्वारा आफैंलाई शासन गर्ने जनप्रतिनिधि चुन्छ। त्यसैले शासकीय संरचनामा निर्णायक भूमिका हुने भएकाले जनतालाई ‘जनता जनार्दन’ भनिएको हो। अर्थात् आजको लोकतान्त्रिक शासन व्यवस्था सैद्धान्तिक रुपमा गुरु द्रोणाचार्य जस्ता शक्तिशाली जनता र युधिष्ठिरहरूजस्ता सत्यवादी भनिएका शासकहरूले चलाएको राज्य हो। तर यस्तो अवस्थामा पनि सत्यवादी भनिएका शासकहरूले जनता जनार्दनलाई ढाँटेर आफ्नो स्वार्थ तामेल गर्ने काम भइरहेको छ, जसलाई हामी प्रोपगन्डा भनेर बुझ्छौं। अर्थात् सत्तामा रहेकाहरू प्रोपगन्डा गर्छन् र हामी त्यही प्रोपगन्डाका रमिते वा सिकार हुन्छौं। भानुभक्त आचार्यको पूरा लेख पढ्नुस्