राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकारहरूलाई रोकिएको छ । प्रजातन्त्र दिवसका दिन आयोजित मूल समारोह समितिको रिपोर्टिङमा पुगेका फोटो पत्रकारहरूलाई निम्तो नभएको भन्दै रोकिएको हो ।
सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजना भएको समारोहमा फोटो पत्रकारहरूलाई अवरोध गरिएको हो ।
पत्रकारलाई प्रवेश निषेध गरी समाचार संकलनमा अवरोध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
"आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा कार्यक्रम मनाउन गठन गरिएको मूल समारोह समितिले निमन्त्रणा दिएका पत्रकारलाई मात्र प्रवेश दिने भन्दै सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास प्राप्त पत्रकारलाईसमेत प्रवेश निषेध गरी समाचार संकलनमा अवरोध गरेको थियो", महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "प्रवेश नदिएपछि फोटो पत्रकारले क्यामेरा डाउन गरी विरोध जनाएका थिए ।"
कुनै पनि बहानामा सार्वजनिक कार्यक्रममा पत्रकारलाई निषेध गरिनु प्रेस स्वतन्त्रताविरोधी तथा संवैधानिक अधिकारमाथिको हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघले पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी सार्वजनिक कार्यक्रममा सबै पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।