रेडियो श्वेत शार्दूलले तीन महिने इन्टर्नसिप कार्यक्रमको लागि आवेदन माग गरेको छ । रेडियोले असार १५ गते सूचना जारी गर्दै इन्टर्नसिप कार्यक्रमको लागि आवेदन माग गरेको हो ।
पत्रकारिताका विद्यार्थीहरूका लागि ‘इन्टर्नसिप कार्यक्रम–२०२४’ को आवेदन असार १५ गते बाट असार २९ गते सम्मको लागि खुल्ला गरिएको छ । सर्टलिस्टेड भएकाहरूको अन्तरवार्ता असार ३१ गते लिने र सोही दिन नतिजा सार्वजनिक गर्ने रेडियोले जनाएको छ । इन्टर्नसिप कार्यक्रम साउन २ गते बाट सुरु हुनेछ ।
रेडियोमा काम गर्न इच्छुकहरूले अत्यधिक लाभ लिन सक्ने रेडियोका कार्यकारी निर्देशक अमरध्वज लामाले बताए । “गत वैशाखदेखि असारसम्म १ टोलीले सफलतापूर्वक इन्ट्रन सकिसक्नुभएको छ । उहाँहरूको बजारमा राम्रो माग छ, धेरै मिडियाबाट उहाँहरूलाई अफर आएको छ,” रेडियोका कार्यकारी निर्देशक लामाले भने, “यस वर्ष हामी १०० जना लाई इन्ट्रन दिने उद्देश्य राखेका छौँ ।”
आवेदन दिन इच्छुकहरूले रेडियो श्वेत शार्दूलको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् वा क्युआर कोड स्क्यान गरेर पनि आवेदन फर्म भर्न सकिन्छ ।
मदन भण्डारी मेमोरियल कलेजद्वारा सञ्चालित रेडियो श्वेत शार्दूल ९३.६ मेगाहर्जमा प्रसारित हुन्छ । रेडियो श्वेत शार्दूल शैक्षिक सामुदायिक रेडियो हो ।