दुई पटक स्थगित भइसकेको नेपाल पत्रकार महासंघको चुनाव दलीय पत्रकारका संगठनको दबाब-प्रभावले अनिश्चित
गत वैशाख २१ र २२ मा काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भयो । सोही महाधिवेशनले जेठ २६ गते महासंघको निर्वाचन गर्ने घोषणा भयो । तर सदस्यता शुद्धीकरण विवाद टुङ्ग्याउन नसक्दा तोकेको समय निर्वाचन हुन सकेन ।
त्यसपछि निर्वाचन समितिले असार ७ गते एक निर्वाचन तालिका सार्वजनिक गर्दै असार २२ मा निर्वाचन हुने आश्वासन दियो तर उक्त मितिमा निर्वाचन भएन । बरु महासंघमा तालाबन्दीको दोहोरी चल्न थाल्यो, कहिले प्रेस चौतारीले त कहिले प्रेस युनियनले महासंघमा पालैपालो तालाबन्दी गर्ने जुहारी चल्यो ।
दुई पटकसम्म मिति तोकेर पनि निर्वाचन गर्न नसक्दा नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वमाथि प्रश्न उठ्दै आएको छ ।
यसैबीच, बुधबार आयोजित एक कार्यक्रममा महासंघ पत्रकारहरूको हीतमा भन्दा पनि राजनीतिक दलको इसारामा चलेको आरोप लगाइयो ।
अनामनगरस्थित मधेस मिडिया हाउसमा "नेपाल पत्रकार महासंघको विद्धमान समस्या र निकास" विषयक अन्तरक्रिया कार्यक्रममा महासंघभित्र परेको राजनीतिक दलहरूको दबाबप्रभावका कारण तोकेको समयमा निर्वाचन हुन नसकेको चर्चा चल्यो ।

लामो समयदेखि जारी सदस्यता शुद्धीकरण सम्बन्धी विवाद वैशाख महिनाभित्र टुंग्याई सार्वजनिक गर्न महासंघको २७ औं महाधिवेशनले केन्द्रीय समितिलाई निर्देश गरेको थियो ।
सदस्यता विवादका कारण दुई दुई पटक मिति सरेर फेरि अनिश्चित भएको निर्वाचनको नयाँ मिति तोक्न महासंघले नसकिरहेका बेला ‘क्रियाशील पत्रकारहरूको साझा मोर्चा’ का नाममा अन्तर्क्रिया भएको थियो । 'नेपाल पत्रकार महासंघको विद्यमान समस्या र निकास' विषयमा मोर्चाले अन्तर्क्रिया गरेको थियो । कार्यक्रमको संयोजन श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले गरिरहेका थिए ।
प्रेस काउन्सिल नेपालका सदस्य समेत रहेका महासंघका पूर्व लेखा समिति संयोजक दीपक पाण्डे विवाद टुङ्ग्याउन राजनीतिक दल निकट पत्रकार संघका अध्यक्षहरुलाई बोलाएर छलफल गर्नुपर्ने बताउँदै थिए । महासंघ राजनीतिक दलको दलदलमा फसेको भन्दै उनले व्याङ्ग्य गरे । "गणेश बस्नेत, विष्णु सापकोटा 'जुगल' र शिव लम्साललाई एउटा कोठामा थुनेर छलफल गर्ने हो भने यो समस्या समाधान हुन्छ ।" बस्नेत नेकपा एमाले निकट प्रेस चौतारी नेपालका अध्यक्ष हुन् भने जुगल नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका अध्यक्ष हुन् । यस्तै, लम्साल नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका अध्यक्ष हुन् ।
महासंघलाई राजनीतिक दलदलमा फसाउन पनि महासंघकै पूर्व नेतृत्वहरूको हात रहेको पाण्डेको आरोप छ । उनले पूर्वअध्यक्षहरू धर्मेन्द्र झा र गोविन्द आचार्यको नामै लिए । "धर्मेन्द्र झा र गोविन्द आचार्यले पत्रकार महासंघलाई बालुवाटार छिराउनु भयो । महासंघलाई एअरपोर्ट (महासंघको केन्द्रीय कार्यालय एअरपोर्ट नजिकै ‘सञ्चारग्राम’ मा छ) तिरै राख्नु पर्थ्यो उहाँहरुले वालुवाटार लैजाने गल्ती गर्नुभयो ।" काउन्सिल सदस्य पाण्डेले थपे, "पूर्व अध्यक्षहरूले पनि महासंघको नेतृत्वमाथि प्रश्न उठाउनु पर्ने थियो तर उहाँहरुले खासै चासो देखाउनुभएन ।"
पूर्व अध्यक्षहरूले चासो नदिएको पाण्डेको प्रश्नमा महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले महासंघले नै सल्लाह लिन नचाहेको बताए । "महासंघले कुनै कार्यक्रम गर्नुपूर्व हामीसँग सल्लाह माग्यो भने न सल्लाह दिने हो । सल्लाह चाहिएको हो भन्दै सोध्दै जाने कुरा भएन," पूर्वअध्यक्ष गाउँलेले भने, "जे भन्नु छ हामी विपुल (महासंघका अध्यक्ष विपुल पोख्रेल) जीलाई दिन्छौँ, यसरी खुला मञ्चमा हामीले सल्लाह दियौँ भन्दै हिँड्ने होइन ।"
गाउँलेले पनि महासंघ राजनीतिक दलको दबाबमा रहेको स्वीकार्दै विद्यमान समस्याको समाधानका लागि राजनीतिक दलदलबाट बाहिरिनुपर्ने बताए । "महासंघमा देखिएको समस्या समाधान राजनीतिक माहोल भित्र बसेर सकिन्न । यो समस्या समाधान गर्ने हो भने हामीले राजनीतिक दलदलबाट बाहिरिनुपर्छ," पूर्वअध्यक्ष गाउँलेले भने, "यदि राजनीतिक माहोलबाट बाहिरिएर आफ्नै संरचना भित्र रहेर समाधान गर्ने चाहने हो भने, २४ घण्टा भित्र समस्या समाधान गरेर २५ औँ घण्टामा निर्वाचन गर्न सकिन्छ ।" सदस्यता शुद्धीकरणको विवाद महासंघले आफ्नो संरचनाभित्रबाट समाधान खोजेमा २४ घण्टामा समाधान हुने उनको भनाई छ ।
साथै, उनले पत्रकारहरूको संस्था कमजोर बनाउन पत्रकार बेगरका शक्तिहरू लागि परेको शंका गरे । "“नागरिक संस्थाहरू कमजोर बनाउने डिजाइन अन्तर्गत यो काम भएको त छैन ? पत्रकार महासंघको समस्याको विषयमा गैर पत्रकारहरूको यति धेरै चासो किन ?," गाउँलेको प्रश्न छ ।
कार्यक्रममा मोर्चाका तर्फबाट श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले अवधारणा प्रस्तुत गरेका थिए ।
सुर्खेत साधारण सभाले बनाएको शुद्धीकरण समितिका सदस्य धर्मेन्द्र कर्णले वर्तमान केन्द्रीय समितिले शुद्धीकरण समिति बनाएर समितिकै अधिकार अपहरण गरेको आरोप लगाए । उनले २७ औं महाधिवेशनको वैधानिकतामाथि समेत प्रश्न उठाए । “६ महिनाअघि नै सदस्यताबारे फाइनल गरेर मात्र महाधिवेशन गर्ने विधानमा व्यवस्था छ, तर त्यो थाती राखेर महाधिवेशन गर्नु अवैधानिक हो,” महासंघका पूर्व सचिवसमेत कर्णले भने ।
अहिले देखिएको समस्याको मूल कारक सिहदरबारको आडमा महासंघलाई संकटमा पार्ने अध्यक्ष मण्डल भएको उनको जिकिर थियो ।
महासंघको काठमाडौंमा सम्पन्न २७ औँ महाधिवेशनले पूर्व अध्यक्षहरू धर्मेन्द्र झा, डा. महेन्द्र विष्ट र गोविन्द आचार्य रहेको अध्यक्ष मण्डल गठन गरेको थियो ।
नेपाल पत्रकार महासंघले सदस्य शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्डअनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम २०८० असोज २६ गते सार्वजनिक गरेको थियो ।
चुनावी सुस्तताको श्रृंखला
असार २२ गते तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन पत्रकारका दलीय संगठनहरूबीचको विवादका कारण पहिलोपटक स्थगित भएको थियो । मतदाता नामावली टुङ्ग्याउन नसक्दा स्थगित भएको महासंघको चुनाव दोस्रोपटक तोकिएको मितिमा पनि हुन सकेन ।
लामो समयदेखि जारी सदस्यता शुद्धीकरण सम्बन्धी विवाद वैशाख महिनाभित्र टुंग्याई सार्वजनिक गर्न महासंघको २७ औं महाधिवेशनले केन्द्रीय समितिलाई निर्देश गरेको थियो ।
उम्मेदवार मनोनयन दर्ता प्रक्रिया अगाडि बढिरहेको अवस्थामा सृजित असहज वातावरणलाई कारण देखाउँदै महासंघको केन्द्रीय निर्वाचन समितिले तत्कालका लागि निर्वाचनको कार्यक्रम अगाडि बढ्न नसक्ने जानकारी गत असार १५ गते शनिबार गराएको थियो ।

बुधबार भएको अन्तर्क्रिया ।
तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाए पनि प्राध्यापक चिरञ्जीवी खनालको संयोजकत्वमा महासंघले केन्द्रीय निर्वाचन समितिले आवश्यक सहयोग पाएको छैन । निर्वाचन कार्यतालिका संशोधन भए पनि उम्मेवदारको मनोनयन लगायतका काम अघि बढ्न सकेनन् ।
असार ७ गते महासंघले प्रकाशित गरेको मतदाता नामावलीमा सामान्य त्रुटी/शुद्धाशुद्धी सच्याई निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेको छ । भलै, निर्वाचन कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन गर्नुपर्ने भए पनि दोस्रोपटक प्रकाशित नामावलीलाई 'अन्तिम' भनिएको भने छैन ।
महासंघमा उम्मेदवार छनोटका नाममा राजनीतिक दलका नेताहरूको हस्तक्षेप पहिल्यैदेखि जारी रहेका बेला असार १७ गते केही पूर्वअध्यक्षहरूले महासंघमा सरकारी हस्तक्षेप पनि हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।