बाढी पहिरोको कहरमा कुन पत्रिकाको कभरेज कस्तो ?

बाढी पहिरोको कहरमा कुन पत्रिकाको कभरेज कस्तो ?

  • आश्विन १३, २०८१ आइतबार २१:१५

५४ वर्षयताको सबैभन्दा ठूलो वर्षापछि आएको बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा १०० भन्दा बढीको ज्यान लिनुका साथै व्यापक जनधनको क्षति गरेको छ । नेपाली पत्रपत्रिकाहरूको कभरेजले भन्छ- पछिल्ला घटनाले सरकारको कमजोर विपद् व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । 

कान्तिपुर दैनिक 

Kantipur.png

कान्तिपुर दैनिकले 'राष्ट्रिय विपद्' डेक राखेर मुख्य समाचार छापेको छ । 'काठमाडौं उपत्यकामा ५४ वर्षयताकै अधिक वर्षा' किकर राखेर 'देशभर ११२ को मृत्यु, ६८ बेपत्ता' शीर्षकमा मुख्य समाचार छापेको छ । पहिलो पृष्ठमै कान्तिपुरले मृतक, घाइते, बेपत्ता, उद्दार भएकाको संख्या, भौतिक क्षति लगायतका तथ्यांक पनि राखेको छ । धादिङको झ्याप्लेखोलामा १४ जनाको ज्यान जानेगरी पुरिएका बसको तस्बिर पनि कान्तिपुरले पहिलो पृष्ठमै छापेको छ । दोस्रो पृष्ठमा फोटो फिचरसहितका समाचार छापेको छ भने तेस्रो पृष्ठमा 'विपद् व्यवस्थापन तयारीमा सरकार कमजोर' शीर्षकसहितका समाचार छापिएका छन् । कान्तिपुरले 'राहत तथा पुनःस्थापनालाई विशेष ध्यान देउ' शीर्षकमा सम्पादकीय छापेको छ भने पृष्ठ ५ मा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जगदीश्वर कर्माचार्य र विपद् पूर्वतयारी सञ्जाल नेटवर्कका सल्लाहकार दीनानाथ भण्डारीका अन्तर्वार्ता पनि छापिएका छन् । यस्तै संकटकै बेला सञ्चार सेवा अवरुद्ध शीर्षकमा विद्युत आपूर्ति अवरुद्ध हुँदा टेलिफोन र इन्टरनेट सेवामा आएको समस्या बारे समाचार छापेको छ । 

नयाँ पत्रिका दैनिक 

nayapatrika.jpg

नयाँ पत्रिकाले ‘देशभर कम्तिमा १००को मृत्यु ७२ बेपत्ता’ शीर्षकमा ब्यानर न्युज छापेको छ । ‘झ्याप्ले खोलामा पहिरोले माइक्रोबस पुरिँदा १४ को मृत्यु’, ‘काभ्रेमा पहिरो नगएको गाउँ छैन’ र ‘सिन्धुलीको खुर्कोट बसपार्कका ४२ घर डुबे,बिपी राजमार्गमा दुई सय भन्दा धेरै यात्रु अलपत्र’ उपशीर्षक राखिएका समाचार र तस्बिर पहिलो पृष्ठमा छापिएको छ । साथै, बाढीमा बगेका दुई व्यक्तिको ज्यान बचाउने चणिकलाल तामाङको अन्तर्वार्ता पनि पहिलो पृष्ठमा छापिएको छ । पत्रिकाको दोस्रो र तेस्रो पृष्ठमा पृष्ठमा ‘काठमाडौं उपत्यकामा वर्षाका सबै रेकर्ड ब्रेक’ र ‘२३ राजमार्ग, ३८ ठाउँमा अवरुद्ध’  ब्यानर समाचारसहित देशभर बाढी पहिरो र डुबानले पारेको क्षतिबारेको विस्तृत समाचार छापिएको छ । त्यस्तै पत्रिकाको छैटौ पृष्ठमा ‘अवरुद्द राजमार्ग नियमित नभए अत्यावश्यक बस्तु आपूर्तिमा असहज’ हुने शीर्षकको समाचारसहित बाढी पहिरोका कारण खाद्य आपूर्तिमा पर्ने असरबारेका समाचारहरू छापिएको छ । 

अन्नपुर्ण पोस्ट

annapurna.png

अन्नपूर्ण पोस्टले ‘देशभर बाढी-पहिरो बितण्डा ८७ को निधन,७२ बेपत्ता’ शीर्षकमा ब्यानर न्युज छापेको छ । पत्रिकाको पहिलो पृष्ठमा बाढीले थिलथिलो बनेको कुपण्डोल क्षेत्रको फोटोसहित कभर आर्ट राखिएको छ भने, ‘राजधानीमै ३४ को मृत्यु समाचार पनि पहिलो पृष्ठमा राखिएको छ । दोस्रो पृष्ठमा ‘चाडबाडको मुखमा, बाढी-पहिरोको चपेटामा मुलुक’ शीर्षकमा देशभरका विभिन्न स्थानमा बाढीको प्रभावको कभरेज गरेको छ । त्यस्तै अन्नपुर्ण पोस्टले पृष्ठ ३ मा ‘देशैभर बाढीको बितण्डा’ शीर्षकमा समाचार छापेको छ । साथै सोही पृष्ठमा ‘मेयरले नै गरे बालकको उद्धार’ शीर्षकको समाचार पनि छापिएको छ । अन्नपूर्ण पोस्टको छैटौं पृष्ठमा देशका विभिन्न भुभागमा बाढीले पारेको प्रभावबारेको कभरेजलाई समेटिएको छ ।  त्यस्तै आठौं पृष्ठमा ‘२३ राजमार्गका ६४ स्थानमा सडक अबरुद्ध’, ‘धादिङको पहिरोमा पुरिएको माइक्रोबाट १४  जनाको शव निकालियो’ लगायत बाढी र पहिरोसँग सम्बन्धित समाचार नै छापिएको छ । अन्नपूर्ण पोस्टले ४ पृष्ठभरी यही विषयमा समाचार छापेको छ । 

नागरिक दैनिक 

Nagarik.png

नागरिक दैनिक पत्रिकाले पहिलो पृष्ठमा ‘बाढीपहिरोबाट दुई दिनमै १०० जनाको मृत्यु’ शीर्षकमा ब्यानर न्युज छापेको छ । ‘कमजोर पूर्वतयारी चर्को मूल्य’, ‘उपत्यकामा इतिहासकै बढी वर्षा’ र ‘नख्खुमा ‘बगेको’ राज्य  सहासी सुमित, जसले तीन जनालाई बचाए’ लगायतका समाचारहरु पहिलो पृष्ठमा छापेको छ । नागरिकको दोस्रो पृष्ठमा पहिलो पृष्ठकै समाचारलाई विस्तृतमा लेखिएको छ । त्यस्तै पत्रिकाको तेस्रो पृष्ठमा ‘विपद्ले देशभर जनजीवन नारायणीमा पानीको सतह हालसम्मकै उच्च’, ‘अस्तव्यस्त खतरा यथावत्’ र ‘भक्तपुरमा पाँच जनाको मृत्यु’ लगायतका बाढी-पहिरोसँग सम्बन्धित समाचार छापेको छ । पत्रिकाको ७ औं पृष्ठमा ‘उपत्यकामा इतिहासकै बढी वर्षा’ शीर्षकमा समाचार छापिएको छ भने ८ औं पृष्ठमा ‘वर्षाले विभिन्न ठाउँमा विद्युत आपूर्ति प्रभावित’ शीर्षकको समाचार छापिएको छ । त्यस्तै पत्रिकाको अन्तिम पृष्ठ अर्थात औं पृष्ठमा ‘एन्फा एकेडेमीका ६ खेलाडीले गुमाए ज्यान’ शीर्षकमा बाढी-पहिरोसँग सम्बन्धित समाचार छापिएको छ । 

द काठमाडौं पोस्ट

tkp.png

द काठमाडौं पोस्टले पहिलो पृष्ठमा ‘Rains Brings, destruction in the east, central Nepal’ शीर्षकमा ब्यानर न्युज छापेको छ । समाचारमा ११२ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै सोहि पृष्ठमा ‘FLOODS FURY’ अन्तर्गत देशभर भएका प्रमुख विपद्का घटनालाई हाइलाइट गरिएको छ भने ‘Concerns grow over timely repair of damaged roads’ शीर्षकमा समाचार छापिएको छ । पत्रिकाको दोस्रो पृष्ठमा ‘Government asks schools to close for three days as disaster strike’, ‘Saturday’s Rain breaks 54-year old record in kathmandu valley’ लगायतका समाचारहरू छापिएको छ । त्यस्तै तेस्रो पृष्ठमा ‘Government faces criticism over slow rescue as disasters claims lives, property’ शीर्षकको समाचारसहित बाढी प्रभावित क्षेत्रका विभिन्न तस्बिर छापिएको छ । यसका अलावा अन्य पृष्ठहरूमा सो घटनासँग सम्बन्धित समाचारहरू भेदिँदैनन् । 

द हिमालयन टाइम्स

THT.png

द हिमालयन टाइम्सले पनि पहिलो पृष्ठमा ‘Excessive downpour wreaks havoc across country’ शीर्षकमा समाचार छापेको छ । सो समाचारमा ८७ जनाको हत्या, ६० जना घाइते र ७२ जना बेपत्ता भएको जनाइएको छ । सोही पृष्ठमा ‘At least 14 killed in landslides’, ‘Sisneri landslip kills six children’ लगायतका समाचारहरू छन् । पत्रिकाको खोस्रो पृष्ठमा बाढी प्रभावित क्षेत्रको फोटो छापिएको छ साथै, ‘TU exams Postponed’, Domestic flights resume’, ‘Rescue Tourist’ लगायतका समाचारहरु छापिएका छन् । त्यसपछिका अन्य पृष्ठहरुमा नेपालको बाढी पहिरोसँग सम्बन्धित समाचार छैनन्। यद्यपि अमेरिकाको फ्लोरिडामा आएको आँधी र हिजबुल्लाहका प्रखुम मारिएको खबरहरु छापिएका छन् । 

राजधानी दैनिक

Rajhdhani.png

राजधानी दैनिकले 'मुलुकभर बाढीपहिरो र डुबान कहरः उपत्यकामा मात्रै ३४ को निधन' डेक  ८७ को मृत्यु, ७२ जना बेपत्ता' शीर्षक ब्यानर समाचार छापेको छ । मुख्य पृष्ठसहित राजधानीले ३ पेज बाढीपहिरोका खबर छापेको छ । मुख्य पृष्ठमा एन्फा एकेडेमीका ६ विद्यार्थीको मृत्यु, दोलखामा तीनको मृत्यु, चार जना बेपत्ता, सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा दुईको मृत्यु, मकवानपुरमा प्रहरी चौकीसहित ३० घर बाढीले बगाएको लगायतका समाचार छापिएका छन् । पाँचथरमा ५ जनाको मृत्यु भएको र ६ जना बेपत्ता भएको खबर पनि राजधानीले पहिलो पृष्ठमै छापेको छ । पहिरोले विभिन्न जलविद्युत आयोजनामा क्षति  पुगेको खबर पनि राजधानीले पहिलो पृष्ठमा छापेको छ । राजधानीले दोस्रो पृष्ठमा 'अविरल वर्षापछिको दारुण अवस्था' शीर्षकमा फोटोफिचर छापेको छ । पाँचौँ पृष्ठमा पनि राजधानीले बाढीपहिरोको कहरको खबर छापेको छ । 

कारोबार दैनिक

Karobar.png

कारोबार दैनिक पत्रिकाको पहिलो पृष्ठमा ‘आधा दर्जन पुल बगे, सयौं सडक अवरुद्द, अर्बौंको क्षति’ शीर्षकमा मुख्य समाचार छापेको छ । उक्त समाचारमा बाढी पहिरोमा ६६ जनाको मृत्यु भएको र ६९ जना बेपत्ता रहेको गृहमन्त्रालयको तथ्याङ्क समेत राखिएको छ । साथै सोही पृष्ठमा पृथ्वीराजमार्ग अन्तर्गत सुरक्षाकर्मीले बाटो पञ्छाउँदै गरेको फोटो समेत राखिएको छ । पत्रिकाको दोस्रो पृष्ठमा बाढी पहिरोकै विस्तृत रिपोर्टिङ छापिएको छ भने तेस्रो र चौथो पृष्ठमा बाढी पहिरोसँग सम्बन्धित कुनै पनि समाचार भेटिदैन भने पाचौँ पृष्ठमा ‘निरन्तरको वर्षाले पर्वतका दर्जनौं सडक अवरुद्ध’ र मध्यमर्स्याङ्दीमा १२ घण्टा र माथिल्लो मर्स्याङ्दीमा साढेँ ६ घण्टा विद्युत उत्पादन बन्द’ शीर्षकमा समाचारहरू छापिएका छन् । पत्रिकारको अन्तिम पृष्ठमा ‘देशभर बाढी र पहिरोको वितण्डा, ६६ जनाको मृत्यु, ६९ बेपत्ता शीर्षकको समाचारसहित फोटोफिचर छापेको छ । 

नेपाल समाचारपत्र दैनिक

News of nepal.png

नेपाल समाचारपत्र दैनिक पत्रिकाले पहिलो पृष्ठमा ‘८७ जनाको मृत्यू, ७३ बेपत्ता’ शीर्षकमा ब्यानर न्युज छापेको छ । पत्रिकाको पहिलो पृष्ठभरी ‘काठमाडौं उपत्यकामा मात्रै ३४ जनाको मृत्यु’, ‘पूर्वतयारीमा कमजोरले क्षति बढी’, झ्याप्ले खोलाको पहिरोमा परी १४ को मृत्यु लगायतका समाचारहरू छापिएको छ । पत्रिकाको दोस्रो पृष्ठमा भर ‘बाढी-पहिरोले देशैभर जनधनको क्षति’ शीर्षकमा देशभरको अवस्थाबारे विस्तृत रिपोर्टिङ सहितको समाचार छापेको छ । तेस्रो र चौथो पृष्ठमा प्रकोपसँग सम्बन्धित कुनै समाचार नभेटिए पनि पाचौं पृष्ठ भर ‘बाढीले १२ सय मेघावाटका आयोजनामा क्षति’, ‘बादल देख्दा पनि झस्किन्छिन् रिता’ लगायतका समाचारहरु छापिएको छ । त्यस्तै पत्रिकाको छैटौं पृष्ठमा ‘एन्फा एकेडेमीका ६ विद्यार्थीको ज्यान गयो’ शिर्षकमा समाचार छापिएको छ र सातौ पृष्ठमा ‘देशैभर बाढीपहिरोको वितण्डा’ शीर्षकमा फोटोफिचर छापेको छ । 

सौर्य दैनिक

Sourya daily.png


सौर्य दैनिक पत्रिकाले पहिलो पृष्ठमै ‘बाढीपहिरोको कहर’ डेक राखेर ब्यानर न्युज छापेको छ । ‘देशका अधिकांश ठाउँमा बाढीपहिरो, उपत्यकामा ३४ जनासहित दर्जनौँको मृत्यु’ शीर्षकमा ब्यानर न्युज छापेको छ । सो पृष्ठमा, ‘काठमाडौं प्रवेश गर्ने सबै नाका ठप्प’, ‘कोसी ब्यारेजमा पुलमाथिबाटै बग्यो पानी, पैदलयात्रामा समेत रोक’ लगायतका बाढीपहिरोसँग सम्बन्धित समाचारहरू छापिएको छ । त्यस्तै पत्रिकाको दोस्रो पृष्ठभर देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण उत्पन्न समस्याबारे समाचारहरू छापिएको छ । तेस्रो पृष्ठमा ‘कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो’ शीर्षकको समाचार छापिएको छ । त्यस्तै पत्रिकाको पाँचौ पृष्ठमा मधेस प्रदेशमा बाढीले पुर्‍याएको प्रभावबारे समाचार छापिएको छ । सातौँ पृष्ठमा ‘माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा क्षति’ शीर्षकको समाचार छापिएको छ । 

प्रभाव दैनिक

Prabhab daily.png

प्रभाव दैनिक पत्रिकाको पहिलो पृष्ठमा आकर्षक कभर आर्टसहित ‘देशभर ८७ जनाको मृत्यु, ७२ बेपत्ता’ शीर्षकको ब्यानर न्युज छापिएको छ । सोही पृष्ठमा ‘झ्याप्लेखोलामा पुरिएका बसबाट १४ शव निकालियो’ र ‘उपत्यकामा वर्षाको रेकर्ड तोडियो’ लगायतका समाचारहरू छापिएको छ । पत्रिकाको दोस्रो पृष्ठमा ‘त्रिविको परीक्षा स्थगित’ शीर्षकको समाचारसहित बाढी पहिरोका घटनालाई विस्तृतमा छापेको छ । त्यस्तै तेस्रो पृष्ठमा ‘तस्बिरमा अविरल वर्षाले निम्त्याएको विपद्’ शीर्षकमा ८ तस्बिरहरू छापिएको छ भने ‘काभ्रेपलाञ्चोकको खानीखोलामा आठ घर बगे’, ‘विपदबाट पीडितलाई तत्काल राहत’ लगायतका समाचारहरू पनि छापिएको छ । पत्रिकाको पाँचौ पृष्ठमा वर्षाले भासिएको राप्ती राजमार्गको फोटोसहित ‘एक हजार ५०० घर उच्च जोखिममा’ शीर्षक लगायतका समाचारहरू छापिएको छ । त्यस्तै पत्रिकाको आठौँ पृष्ठमा ‘तामाकोशी आयोजनाका संरचनामा क्षति’ शीर्षकको समाचार छापिएको छ ।

आर्थिक दैनिक

Arhtik daily.png

आर्थिक दैनिकको पहिलो पृष्ठमा ‘बाढी पहिरो र डुबानबाट देशभर अर्बौको क्षति’ शीर्षकमा मुख्य समाचारसँगै जलमग्न राजधानी र उद्धारमा खटिएका नेपाल प्रहरीको फोटो छापेको छ ।  सोही पृष्ठमा, ‘काठमाडौं पुन: ठूलो ताल बन्ने ?’ शीर्षकको समाचार पनि छापिएको छ ।  पत्रिकाको दोस्रो पृष्ठभर बाढी पहिरो र डुवानसँग सम्बन्धित समाचारहरू छापिएका छन् । तेस्रो पृष्ठमा बाढी प्रभावित क्षेत्रको फोटो छापिएको छ । त्यस्तै पत्रिकाको आठौँ पृष्ठमा ‘दोलखामा पहिरोले पुरिएका एकै परिवारका तीन जनाको मृत्यु’, अविरल वर्षाका कारण देशभरका राजमार्गमा ठूलो क्षति’, ‘माथिल्लो तामाकोशी आयोजनामा पनि क्षति’ शीर्षकको समाचारसहित बाढी प्रभावित क्षेत्रको फोटो छापिएको छ । 

Madhyana Daily.jpg

मध्यान्ह दैनिक पत्रिकाको पहिलो पृष्ठमा बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले उद्धार गर्दै गरेको फोटो सहित ‘ठूलो जनधनको क्षति कम्तीमा ८७ जनाको मृत्यु ७२ बेपत्ता’ शीर्षकको मेन न्युज छापिएको छ । ‘उपत्यकामै संकट’, ‘चणिकलाले पाए प्रशंसा’ लगायतका समाचारहरू पनि पहिलो पृष्ठमै छापिएका छन् । पत्रिकाको दोस्रो पृष्ठमा ‘भारी वर्षाका कारण सडक अवरुद्ध’, ‘रौतहटमा बकैया र बागमतीको बाँध टुट्यो’ र ‘उदयपुर र खोटाङ जोड्ने पक्की पुल बगायो’ लगायतका समाचारहरू छापिएको छ  त्यस्तै पत्रिकाको सातौँ पृष्ठमा ‘एन्फा एकेडेमीका ६ विद्यार्थीको शव भटियो’ शीर्षकको समाचार छापिएको छ । 

आर्थिक अभियान दैनिक

ABhiyan.pngआर्थिक अभियान दैनिक पत्रिकाको पहिलो पृष्ठमा ‘वर्षाजन्य विपत्तिमा* ६६ जनाको निधन, ६९ जना बेपत्ता शीर्षकको मेन न्युज छापिएको छ ।  ‘देशभर विद्युत आपूर्ति अस्तव्यस्त’ र ‘तातोपानी नाकाबाट व्यापार ठप्प’ लगायतका समाचारहरू पनि पहिलो पृष्ठमै छापिएका छन् । पत्रिकाको पाँचौ पृष्ठमा उद्धारमा खटिएका प्रहरीको फोटो छापिएको छ । त्यस्तै आठौँ पृष्ठमा ‘देशभर बाढी पहिरोको कहर’ शीर्षकमा फोटोफिचर छापिएको छ । सोही पृष्ठमा ‘घाइतेको नि:शुल्क उपचार’ लगायतका समाचारहरू पनि छापिएका छन् । 

पत्रिकामा भेटिएका स-साना त्रुटिहरू

आर्थिक अभियान दैनिकको पहिलो पृष्ठकै समाचार शीर्षकमा टाइपो इरर छ । विपत्ति भन्नुपर्नेमा उसले ‘विपित्त’ लेखेको छ । 

प्रभाव दैनिक पत्रिकाको पहिलो पृष्ठमा छापिएको समाचारमा ‘वर्षा’ हुनुपर्नेमा ‘वर्ष’ भएको छ । 

नख्खुमा बाढीले बगाएका व्यक्तिलाई उद्धार गर्ने व्यक्तिको नाम पनि फरक लेखेको देखिएको छ । अन्य पत्रिकाहरूले उनको नाम चणिकलाल तामाङ लेखेका छन् तर नागरिक दैनिकमा सुमितलाल तामाङ लेखेको छ । 
नाम मात्रै होइन, नागरिकले उनले तीनजनाको उद्धार गरेको लेखेको छ । तर नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो नाम चणिकलाल रहेको र आफूले दुई जनाको उद्धार गरेको बताएका छन् । 

नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको ‘पूर्वतयारीमा कमजोरीले क्षति बढी’ शीर्षकको समाचारमा प्रयोग गरिएको फोटोमा रातोपाटीको वाटरमार्क स्पस्ट देखिन्छ । सम्भवतः रातोपाटीको वाटरमार्क स्पष्ट देखिएकोले हो कि समाचारपत्रले फोटोको कुनै क्रेडिट दिएको छैन । 


Related Story

गुणगानमै सीमित कोप २९ को रिपोर्टिङ

कोप-२९ मा नेपालले उठाएका मुद्दा र नेपालजस्ता मुलुकले भोगिरहेको जलवायु जोखिमबारे तथ्यपरक रिपोर्टिङ गरेको भए नेपाली मिडियाले राष्ट्रिय र अन्तर्राष्ट्रिय

मिडियाको आँखामा रवि लामिछाने पक्राउः यस्तो छ पत्रपत्रिकाको कभरेज

काठमाडौंबाट छापिने शनिबारका सबैजसो दैनिक पत्रिकाहरूमा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउको समाचार प्रमुखताका साथ छापिएको छ । सबैजसो

निषेधाज्ञाको अवधिमा पत्रकार आचारसंहिता उल्लंघनका ६५ घटना

कोभिड-१९ को दोस्रो लहर सुरु भएयता निषेधाज्ञाको अवधिमा ६५ वटा पत्रकार आचारसंहिता उल्लंघनका घटना भएको प्रेस काउन्सिल नेपालको अनुगमनले देखाएको

‘६१ अर्ब’ को फन्डामा नयाँ पत्रिकाको फरक प्रस्तुति

प्रधानन्यायाधीश गोपाल पराजुली (हाल निवर्तमान) का फरक फरक जन्ममितिका कारण उब्जेको पदावधि विवाद चर्केका बेला कतिपय मिडियामा फरक खालको रिपोर्टिङ

नेपालको अदालत, मिडिया र नागरिक समाजको निष्पक्षता गायब भएको छ : युवराज घिमिरेको अन्तर्वार्ता #Video

के गोपाल पराजुलीलाई प्रधानमन्त्री केपी ओलीले बर्खास्त गरेका हुन् ? प्रधानन्यायाधीश गोपाल पराजुलीको ‘जन्ममिति/नागरिकता विवाद’, त्यसमाथि नेपाली मिडियाको कभरेज, कान्तिपुर पब्लिकेसन्स

गोपाल पराजुलीको ‘जरो उखेल्ने’ समाचारको जरो भेटिएन

अदालतको अवहेलना भर्सेस प्रेस स्वतन्त्रताको रुप लिँदै न्यायालयलाई नै चरम विवादमा तानेको प्रधानन्यायाधीश गोपाल पराजुली (अब निवर्तमान) को पदावधि विवादको

गज्‍जब #Breaking : ‘पदमुक्त’ प्रधानन्यायाधीशद्वारा राष्‍ट्रपतिको सपथ

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवादबारे निरन्तर समाचार लेखिरहेको कान्तिपुर दैनिकको अनलाइन संस्करणमा मंगलबार दिउसो नै समाचार आइसकेको थियो- विवादित प्रधानन्यायाधीश पराजुलीबाट

चोलेन्द्र श्रीमानको बोलीमा कान्तिपुरको लोली : 'प्रधान न्यायाधीश पराजुली पदमुक्त भइसके'

बारको विज्ञप्ति कान्तिपुरमा ब्ल्याकआउट !प्रधान न्यायाधीश पदमुक्त भइसकेकै हुन् ? २०७४ फागुन २८ गते सोमबार सर्वोच्च अदालतमा डा. गोविन्द केसी र