काठमाडौंबाट छापिने शनिबारका सबैजसो दैनिक पत्रिकाहरूमा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउको समाचार प्रमुखताका साथ छापिएको छ । सबैजसो पत्रिकामा लामिछाने पक्राउकै समाचार प्रमुख खबर बनेका छन् ।
अधिकांश समाचार उनी पक्राउ पर्नुका कारणमा केन्द्रित छन् । साथै, रविमाथि के कस्ता मुद्धा चल्छ र त्यसले उनको राजनीतिक भविष्यमा के कति असर पार्न सक्छ भन्नेमा पनि पत्रिकाहरूको ध्यान देखिन्छ ।
तर नयाँ पत्रिकाले भने फरक कोणबाट समाचार लेखेको छ । अरु पत्रिकाले रवि र गोरखा मिडिया नेटवर्कमा केन्द्रित भइरहँदा नयाँ पत्रिकाले भने छानबिन समितिले उठाएको समग्र विषयमा ध्यान केन्द्रित गरेको छ । हामी तपाईँलाई शनिबार काठमाडौंबाट छापिएका पत्रपत्रिकाले लामिछाने पक्राउको विषयलाई कसरी प्रस्तुत गरेका छन् भनेर जानकारी दिँदैछौँ ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार पक्राउ परेका हुन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी कास्की लगिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपलचन गरेको आरोपमा गत असोज ६ गते पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । त्यसको एक महिना नपुग्दै रवि पनि पक्राउ परेका हुन् ।
🔗 पक्राउ परेपछि रवि लामिछानेको राजनीतिक भविष्य के होला ? पढ्नुस्ः पतन वा पुनरुत्थानको दोसाँधमा रवि लामिछानेको राजनीति
सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो । शुक्रबार उनीविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पूर्जी जारी गरेको थियो ।
शनिबार बिहान तीन बजे कास्की पुर्याइएका रविलाई आइतबार जिल्ला अदालत, कास्की उपस्थित गराउने तयारी छ । आउनुस्, अब पत्रपत्रिकाले के कसरी यो घटनालाई प्रस्तुत गरेका छन्, हेरौँ ।
कान्तिपुर दैनिक

कान्तिपुर दैनिकको पहिलो पेजमा ‘सहकारी ठगीमा पूर्वगृहमन्त्री लामिछाने पक्राउ’ शीर्षकमा मुख्य समाचार छापिएको छ । समाचारमा रवि लामिछानेको सहकारी कनेक्सनबारे लेखिएको छ । लामिछानेले कसरी सहकारी बचतकर्ताहरूको रकम मनमौजी चेक काटेर खर्च गरे भन्ने समाचारमा उल्लेख छ । त्यस्तै, कान्तिपुरको तेस्रो पेजमा ‘प्रहरीले संसद्लाई दियो लामिछाने पक्राउ परेको जानकारी’ शीर्षकमा अर्को समाचार पनि छापिएको छ । त्यसो त कान्तिपुरले रवि लामिछानेबारे सुरुदेखि नै समाचार लेखिरहेको थियो । फलस्वरुप, लामिछाने गृहमन्त्री छँदा कान्तिपुरसँग उनको तनाब बढेको थियो । लामिछाने गृह मन्त्री छँदा कान्तिपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई नागरिकताको मुद्दा सिर्जना गरी प्रहरी हिरासतमा पुर्याइएको थियो ।
नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका भने घुमाउरो ढङ्गले रवि लामिछाने पक्राउको विपक्षमा उभिएको छ । उसले सहकारीको रकम अपचलनमा प्रत्यक्ष नजोडिएका रवि पक्राउ पर्ने तर नाम जोडिएका अरुलाई किन पक्राउ नगर्ने भन्दै रवि पक्राउको अप्रत्यक्ष ढङ्गले विरोध गरेको छ । नयाँ पत्रिकाले रवि लामिछाने सहकारीमा प्रत्यक्ष नजोडिएको भन्दै ब्यानरन्युज छापेको छ । ‘सहकारीमा प्रत्यक्ष नजोडिएका रवि समातिए, जोडिएका कांग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेलपत्नी अनुसन्धानबाहिरै’ शीर्षकमा उसले समाचार छापेको छ । नयाँ पत्रिकाले रवि लामिछाने पक्राउको विषयसँगै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र लेखा समितिका सभापति ऋषिकेश पोखरेलक दुबै जनाको पत्नीविरुद्द अनुसन्धान नभएकोबारे प्रश्न उठाएको छ । पहिलो पेजमा ‘गुरुङ र पोखरेलपत्नीविरुद्द कहिले हुन्छ पक्राउ पुर्जी जारी ?’ शीर्षकमा अर्को समाचार पनि छापिएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिक

अन्नपूर्ण पोस्टले पनि रवि लामिछाने पक्राउको विषयमै कभर स्टोरी छापेको छ । शनिबारको पत्रिकामा ‘लामिछाने पक्राउ, सहकारी ठगी र संगठित अपराधको अभियोगमा’ शीर्षकको समाचारमा पक्राउ पर्नुअघि रवि र अदालतले दिएको अनुमतिको फोटो छापिएको छ । पहिलो पेजमै ‘छविलाल जोशीविरुद्ध २० दिन म्याद थप’ शीर्षकको अर्को समाचार पनि छापिएको छ । पत्रिकाको दोस्रो पेजभर रवि लामिछाने पक्राउको विषयमै समाचार दिइएको छ । ‘पक्राउ परे रवि, अरुलाई खोज्दै प्रहरी’ शीर्षकमा छापिएको सो समाचारमा ‘के हो संगठित अपराध ?’ देखि ‘रविलाई ६० दिन हिरासतमा राख्ने सक्ने’ सम्मका उपशीर्षक राखेर विस्तृत प्याकेज छापिएको छ । साथै, समाचारमा रवि लामिछानेले कसरी सहकारीको रकम अपचलन गरे भन्नेबारे पनि उल्लेख छ ।
नागरिक दैनिक

नागरिक दैनिकमा पनि रवि लामिछाने पक्राउकै मुख्य समाचार छ । ‘अन्तत: रवि लामिछाने पक्राउ’ शीर्षकको सो समाचारमा रवि लामिछानेले गोर्खा मिडिया मिडिया नेटवर्कमार्फत कसरी सहकारीको रकम अपचलन गरे भन्नेबारे विस्तृत लेखिएको छ । रवि लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट कर्जा उपलब्ध गराइएको नागरिकले उल्लेख गरेको छ । समाचारमा रवि लामिछानेले आफ्नो बचाउका लागि प्रधानमन्त्री केपी ओलीसँग हारगुहार गरेको देखि पक्राउ पर्ने सूचना प्रचण्डले चुहाएको सम्मका विषय छापिएका छन् । रवि र सहकारीको कनेक्सनबारे दोस्रो पृष्ठमा विस्तृतमा लेखिएको छ ।
गोरखापत्र दैनिक

गोरखापत्र दैनिकको पहिलो पेजमै रवि लामिछाने पक्राउको समाचार छापिएको छ । ‘पूर्वगृहमन्त्री रवि पक्राउ’ शीर्षकमा लेखिएको समाचारमा रविलाई सहकारी ठगी प्रकरणमा जोडिएको छ । सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकममा रवि पनि जोडिएको समाचारमा उल्लेख छ । गोरखापत्रमा विस्तृत समाचार नभए पनि रवि लामिछाने किन पक्राउ परे भनेर व्याख्या भने गरिएको छ ।
हिमालयन टाइम्स

अंग्रेजी दैनिक हिमालयन टाइम्समा पनि रवि पक्राउ परेको समाचार पहिलो पेजमा छ । ‘Rabi Lamichhane Arrested’ शीर्षकमा छापिएको समाचारमा रवि कसरी सहकारी ठगीमा जोडिए भन्ने विषयमा व्याख्या गरिएको छ । समाचारमा गोरखा मिडिया नेटवर्क, गितेन्द्रबहादुर राई, छविलाल विश्वकर्मा र रवि लामिछाने बारम्बार दोहोरिरहन्छन् । रविले सहकारीको पैसा गोरखा मिडिया नेटवर्कमार्फत कसरी खर्च गरे भन्ने पनि समाचारमा उल्लेख छ ।
द काठमान्डू पोस्ट

द काठमान्डू पोस्टमा ‘Lamichhane Arrested on fraud, organised crime charges’ शीर्षकमा मुख्य समाचार छापिएको छ । सहकारीको पैसा रवि लामिछानेले कसरी अपचलन गरे भन्ने समाचारको मुख्य विषय हो । रवि किन पक्राउ परेदेखि उनीविरुद्ध कस्तो मुद्दा चल्छ सम्मका विषय समाचारमा समेटिएका छन् । त्यस्तै, पत्रिकाको तेस्रो पेजमा पनि सोही विषयसँग सम्बन्धित समाचार छ । ‘Lamichhane’s lawmaker position will be suspended if court orders judicial custody’ शीर्षकको सो समाचारमा रविमाथिको आरोप प्रमाणित भए संसद् पद खारेज हुने जनाइएको छ । साथै उनीमाथि सहकारीको रकम अपचलनसँगै संगठित अपराध र किर्तेको मुद्धा लगाउने तयारी रहेको विषयपनि समाचारमा खुलाइएको छ ।
हिमालय टाइम्स

हिमालय टाइम्सले शनिबार रवि पक्राउको समाचारलाई ब्यानरन्युज बनाएर छापेको छ । ‘सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री लामिछाने पक्राउ’ शीर्षकमा छापिएको सो समाचार रवि लामिछाने सहकारी प्रकरणमा कसरी जोडिए तथा छानबिन समितिको प्रतिवेदनले के भनेको छ भन्ने विषयमा केन्द्रित छ । संगठित अपराधमा पनि अनुसन्धान हुने, सहकारी ठगीमा थप १३ जनाविरुद्ध पक्राउ पूर्जी, रवि पक्राउ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी, रविका पार्टनर छविलाई २० दिन म्याद थप लगायत विभिन्न उपशीर्षकमा दोस्रो पेजमा रवि लामिछानेकै विषयमा समाचार छापिएका छन् ।