सन् २०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखामा सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएका छन् ।
सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रहेको महासंघले जनाएको छ । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघको अभिलेख अनुसार सन् २०२३ र २०२२ मा प्रेस स्वतन्त्रता हननका क्रमशः ५८ र ५३ वटा घटना अभिलेख भएका थिए ।
यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हुँदा ३४ जना पत्रकार महिला र ११३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक प्रतिवेदन हेर्दा उक्त घटना लक्षित हत्या भएको महासंघले जनाएको छ । यो घटनाबारे विस्तृत पढ्नुहोस्ः चार महिनाअघि सुरेश भुलले भनेका थिए– ‘चौतर्फी घेराबन्दीमा छु, मलाई सिद्ध्याउँछन्’
"समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासंघले मिडिया मिसन खटाउनु पर्यो", महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुर्व्यवहारका घटना अत्यन्त निन्दनीय मात्र हैन लोकतन्त्रमाथिकै प्रहार भएको महासंघ ठान्दछ ।”
प्रेससम्बन्धी कानुन बनेनन्
सन् २०२४ मा अपेक्षाकृत प्रेससम्बन्धी कानुन नबनेको महासंघले जनाएको छ । महासंघले विगतदेखि नै सञ्चारसम्बन्धी कानुनहरूलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको महासचिव रामप्रसाद दाहालले बताएका छन् ।
“लामो सयमदेखि प्रतिक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता पाएको छैन । यसबीचमा सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।
नेपाल पत्रकार महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको जनाएको छ । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन महासंघ सरकारसँग जोडदार माग गर्दछ", विज्ञप्तिमा भनिएको छ, “सरकारले ल्याउने प्रेससम्बन्धी कानून प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यता र हाम्रा संवैधानिक प्रावधानका आधारमा मिडियामैत्री बनाउनसमेत सरकारलाई आग्रह गर्दछ” ।
नेपाल पत्रकार महासंघले नयाँ वर्ष सन् २०२५ को अवसरमा सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा नेपालीजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।
