नियामक निकायहरू मौन रहँदा पत्रिकाहरूले पाठकलाई भ्रम पर्ने गरी मदिराको प्रचार गरिरहेका छन्
देशका तीन प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरूले पत्रकारिताको आधारभूत सिद्धान्त र आचारसंहिता विपरीत मदिराको विज्ञापनलाई समाचारको रूपमा प्रस्तुत गरेको पाइएको छ । कान्तिपुर, अन्नपूर्ण पोस्ट र नयाँ पत्रिका जस्ता प्रतिष्ठित पत्रिकाहरूले फागुनको तेस्रो साता मिल्दोजुल्दो शीर्षक र एउटै किसिमको सामग्री प्रकाशित गरेर पाठकहरूलाई झुक्याउने काम गरेका छन् ।
एउटै सामग्री, फरक मिति
फागुन १९ मा कान्तिपुर दैनिकमा 'यती डिस्टिलरीद्वारा नेपाली लोककलाको प्रवर्द्धनार्थ योगदानबापत पौभा कलाकार समुन्द्रमान सिंह श्रेष्ठ सम्मानित' शीर्षकको सामग्री छापियो ।
त्यसको भोलिपल्ट फागुन २० गते अन्नपूर्ण पोष्टले पनि उही विषयवस्तु (समुन्द्रमान सिं भनेर) छाप्यो । फागुन २२ गते नयाँ पत्रिकाले पनि सोही विषयमा सामग्री प्रकाशित गर्यो ।
यी सबै सामग्रीमा ‘प्रेस विज्ञप्ति’ भनेर उल्लेख गरिएको छ । तीनवटै पत्रिकाले एउटै सामग्री, उही शीर्षक र एउटै स्थान- पत्रिकाको पछिल्लो पृष्ठमा ‘विज्ञप्ति’ दाबी गरिएको उक्त सामग्री छापेका छन् ।
तर यो कुनै संयोग नभएर मदिराजन्य पदार्थको विज्ञापन गर्न नमिल्ने कानुनी प्रावधानलाई छल्न अपनाइएको रणनीति भएको प्रष्ट देखिन्छ ।
समाचारको आवरणमा रक्सीको प्रचार
यी पत्रिकाहरूले छापेको विज्ञप्तिमा के छ ? हेर्दा, यो यती डिस्टिलरी प्रालिले पौभा कलाकार समुन्द्रमान सिंह श्रेष्ठलाई नेपाली परम्परागत कलाको संरक्षण र विश्व स्तरमा यसको प्रवर्द्धनमा योगदान पुर्याएकोमा सम्मान गरेको जस्तो देखिन्छ ।

अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको मदिराको विज्ञापन । यस्तै सामग्री कान्तिपुर र नयाँ पत्रिकामा पनि छापिएका छन् ।
तर विज्ञप्तिको मूल विषय यो होइन । विज्ञप्तिले स्पष्ट रूपमा ओल्ड दरबार ह्विस्की र कलाकार श्रेष्ठको कलाकृति 'द मिथिकल ट्रेजर्स' लाई ओल्ड दरबार ह्विस्कीको पछिल्लो संस्करण ‘फिफ्टिन इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की’ मा समावेश गरिएको उल्लेख गरेको छ । यो प्रत्यक्ष रूपमा मदिराको प्रचार हो, जुन नेपालको कानुनले निषेध गरेको छ ।
आचारसंहिता र कानुनी प्रावधानको उल्लङ्घन
पत्रकार आचारसंहिता २०७३ को बुँदा ७ (१) अनुसार पत्रकार तथा सञ्चारमाध्यमले पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पष्ट अन्तर हुनेगरी सम्प्रेषण गर्नुपर्दछ ।
साथै, आचारसंहिताको बँदा ७ (२) मा विज्ञापनलाई विज्ञापन कै रुपमा र समाचारलाई समाचारकै रुपमा प्रस्तुत गर्नुपर्ने भनिएको छ ।

राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा १४ ले जनस्वास्थ्यलाई हानि पुर्याउने धुम्रपान तथा मदिराजस्ता पदार्थहरूको विज्ञापन प्रसारणलाई निरुत्साहित गर्ने व्यवस्था गरेको छ ।

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ ले प्रचलित कानुनले विज्ञापन गर्न निषेध गरेको विषयमा विज्ञापन गर्न नहुने व्यवस्था गरेको छ ।

यस्तै, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ (१) मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन भनिएको छ ।

सर्वोच्च अदालतले २०७९ फागुनमा मदिराको विज्ञापन र प्रचार प्रसारमा रोक लगाउन सरकारलाई आदेश दिइसकेको छ ।
आम नागरिक झुक्याउने रणनीति
यी विज्ञप्ति दाबी गरिएका सामग्रीहरू पढ्दा आम पाठकले यिनलाई समाचार नै ठान्ने अवस्था छ । मदिरा कम्पनीले कलाकारको सम्मान गरेको समाचार जस्तो देखिए पनि यसको मूल उद्देश्य त ‘ओल्ड दरबार ह्विस्की’ को नयाँ उत्पादनको प्रचार गर्नु हो ।
के यस्तो पाठक झुक्याउने तरिकाले प्रकाशित गरिएका विज्ञापनलाई नियामक निकायले कारबाही गर्लान् ? के पत्रकारिताको मूल्य र मान्यता जोगाउन यी पत्रिकाहरूले आफ्नो गल्ती सच्याउनेछन् ? यी प्रश्नहरू करिब निरर्थक जस्तै छन् । किनभने फागुन पहिलो साता नयाँ पत्रिकाले ‘पाथीभरा केबलकार विवाद र वास्तविकता’ शीर्षकमा छापेको केबलकारको प्रबर्द्धनात्मक सामग्रीका बारेमा नियामक निकायहरू चुपचाप छन् ।
‘मिराकल वास’को नाममा भ्रमको खेती, मलजल गर्दै मिडिया
कानुनले निषेध गरेका बस्तुको विज्ञापन गरेर पत्रिकाहरूले अपराध गरेको वरिष्ठ पत्रकार भवानी बरालको भनाई छ ।
“ती पत्रिकाहरूले भ्रम पर्ने गरी विज्ञप्तिको नाम दिएर विज्ञापन छापेका छन् । यहाँनेर प्रचलित राष्ट्रिय प्रसारण ऐन, विज्ञापन (नियमन गर्ने) ऐन र जनस्वास्थ्य सेवा ऐन, यी तीनवटै ऐन आकर्षित हुन्छन्”, बराल भन्छन्, “ऐनको बरखिलाफ गएर ती पत्रिकाहरूले रक्सीको विज्ञापन उत्पादन, प्रसारण र प्रचारप्रसार सबै गरिदिए ।”
राज्य कमजोर भएका बेला यी पत्रिकाहरूले ऐन मिचेर हामीहरू नेपाली मिडियाको टाइकुन हुँ, हामीले जे गरे पनि हुन्छ भन्ने किसिमले उक्त सामग्री छापेको उनको भनाई छ । उनी थप्छन्, “ऐन सबै मिडियाको लागि हो, सानो मिडियालाई ऐन लाग्ने र ठूलालाई नलाग्ने भन्ने हुँदैन ।”