वाशिङ्टन पोस्टकी [पहिलो महिला] सम्पादक स्याली बज्बीलाई चिनौँ

वाशिङ्टन पोस्टकी [पहिलो महिला] सम्पादक स्याली बज्बीलाई चिनौँ

स्याली बज्बी सन् २०१८ मा । फोटो साभारः एपी
  • जेठ २१, २०७८ शुक्रबार १९:१९

अमेरिकाको प्रतिष्ठित ‘वाशिङ्टन पोस्ट’ को सम्पादकीय नेतृत्वमा पहिलोपटक महिला पुगेकी छन् । यही जुन १ देखि स्याली बज्बीले पोस्टको सम्पादकीय नेतृत्व सम्हालेकी हुन् । 

यद्यपि पोस्टको कार्यकारी सम्पादकमा बज्बी नियुक्त भएको खबर गत महिनामै सार्वजनिक भइसकेको थियो ।

समाजका हरेक अवयवमा जस्तै पत्रकारितामा पनि महिला प्रतिनिधित्वको विषय विश्वभर जोडतोडले उठिरहेका बेला अमेरिकाको १४४ वर्ष पुरानो दैनिक पत्रिकाको सम्पादकीय नेतृत्व महिलाको हातमा पुगेको हो । 

आउनुस् जानौँ, वाशिङ्टन पोस्टकी नवनियुक्त कार्यकारी सम्पादक स्याली बज्बी को हुन् ।   

वाशिङ्टन पोस्टमा सन् २०१३ देखि सम्पादक रहेका मार्टी ब्यारोन गत फेब्रुअरी मसान्तदेखि सेवानिवृत्त हुने भएपछि पोस्टको व्यवस्थापन नयाँ सम्पादकको खोजीमा लागेको थियो । यसका लागि कयौँ आन्तरिक छलफलहरू भएका थिए । तर अचम्मको कुरा के भने आन्तरिक छलफलहरूमा बज्बीको नाम कमै मात्र आउँथ्यो । 

पोस्टको नयाँ सम्पादकको खोजीलाई नजिकबाट नियालेकाहरू पनि बज्बीलाई छान्ने व्यवस्थापनको निर्णयबाट चकित भएको वाशिङ्टन पोस्टकै खबरमा उल्लेख छ । समग्र मिडिया उद्योग र पोस्टभित्रै पनि सम्पादक पदका लागि एकसे एक उम्मेदवारहरू थिए ।  

बज्बी नै किन ?

२२ वर्ष पोस्टमा बिताएका केभिन मेरिडा सन् २०१५ मा  ईएसपीएन जानुअघि पोस्टमा समाचार तथा फिचरका प्रबन्ध सम्पादक थिए । गत सातामात्र 'लस एन्जेलस टाइम्स' मा सम्पादकको जिम्मेवारी सम्हालेका उनी व्यवस्थापनको नजरमा थिए । 
 
पोस्टभित्रकै पत्रकार पनि यो पदका लागि बलियो दाबेदार थिए । मेरिडापछि सन् २०१५ मा प्रबन्ध सम्पादक नियुक्त क्यामेरन बार पनि कार्यकारी सम्पादकको उम्मेदवार मानिएका थिए । ब्यारोन कार्यकारी सम्पादकबाट निवृत्त भएपछि उनैले अन्तरिम कार्यकारी सम्पादक भएर पोस्टलाई नेतृत्त्व गरेका थिए । 
 
यस्तै पोस्टका नेसनल इडिटर स्टेभिन गिन्सबर्ग जो मुलतः ह्वाइट हाउसको कभरेजलाई सम्पादकीय नेतृत्व गर्दथे,  उनलाई पनि कार्यकारी सम्पादकको उम्मेदवारका रुपमा हेरिन्थ्यो । तर पोस्टको व्यवस्थापनले यी तीनैजनालाई पन्छाएर कार्यकारी सम्पादक पदमा बज्बीलाई ने किन रोज्यो ? बितेका ३३ वर्ष बज्बीले जे गरिन्, त्यो कर्म नै यो प्रश्नको जवाफ हो ।  

o-washington-post-facebook.jpg५५ वर्षीय बज्बी वाशिङ्टन पोस्टमा कार्यकारी सम्पादक नियुक्त हुनुअघि अमेरिकाको समाचार संस्था एसोसिएटेड प्रेस (एपी) की कार्यकारी सम्पादक तथा वरिष्ठ उपाध्यक्ष थिइन् । नयाँ जिम्मेवारीसँगै उनले अब करिब एक हजार जना कार्यरत समाचार कक्षको नेतृत्व गर्नेछिन् ।  सन् २०१७ देखि एपीको समाचार कक्षको नेतृत्व सम्हालेकी बज्बीको पत्रकारिता करिअर सन् १९८८ मा एपीबाटै सुरु भएको थियो ।

अमेरिकाको न्यु योर्कमा मुख्यालय रहेको प्रतिष्ठित समाचार संस्था एपी विश्वकै ठूला समाचार संस्था मध्ये गनिन्छ । विश्वका २५० स्थानबाट समाचार उत्पादन र वितरण हुने एपीमा २८ सय भन्दा बढी पत्रकार कार्यरत छन् । विश्वका १५ हजार भन्दा बढी सञ्चारमाध्यमहरू एपीका ग्राहक छन् ।

पोस्टले बज्बीलाई कार्यकारी सम्पादकमा छान्नुको मुख्य कारण एपी समाचार संस्थामा रहेर उनले समाचार रिपोर्टिङ तथा उत्पादनमा हासिल गरेको अन्तर्राष्ट्रिय अनुभव हो । उनको यो अनुभवका कारण पोस्टको सञ्चालन अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अपेक्षा राखेको प्रकाशक फ्रेड रायनले बताएका छन् । 

पोस्टले बेलायतको लन्डन र दक्षिण कोरियाको सियोलमा समाचार कक्ष स्थापना गर्ने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ । अस्ट्रेलियाको सिड्नी, कोलम्बियाको बोगोटामा पनि ब्युरो स्थापना गर्ने उसको योजना छ । यो सँगै अमेरिका बाहिर पोस्टका ब्युरोको संख्या २६ पुग्नेछ ।  

बज्बीले सन् २०१० देखि २०१६ सम्म एपीको वाशिङ्टन ब्युरो प्रमुख थिइन् भने २०१२ र २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनहरूको कभरेजको नेतृत्व पनि गरेकी थिइन् । 

सन् १९९० को दशकमा एपीका विभिन्न ब्युरोमा उपप्रमुख रहेर उनले अन्तर्राष्ट्रिय मामिला, राष्ट्रिय सुरक्षा लगायतका विषयमा रिपोर्टिङ गरेकी थिइन् ।  

“पोस्टसँग पत्रकारिताको यति विशाल विरासत छ र यति ठूलो संख्यामा पत्रकारहरू छन्”, उनले नियुक्ति लगत्तैको एक अन्तर्वार्तामा भनेकी छन्, “यो नवप्रवर्तनको समयमा यो समाचार संस्थामा काम थाल्न पाउँदा म उत्साही छु ।”

कर्पोरेट दुनियाको चर्चित नाम अमेजन र यसका मालिक जेफ बेजोस वाशिङ्टन पोस्टका पनि मालिक हुन् ।  अमेजनका समेत मालिक रहेका  बेजोसले  सन् २०१३ मा ग्राहम परिवारबाट २५० मिलियन अमेरिकी डलरमा वाशिङ्टन पोस्ट किनेका थिए ।

बेजोसले पोस्ट किनेपछि नियुक्त भएकी पहिलो कार्यकारी सम्पादक बज्बीले कस्तो पत्रकारिता गर्लिन् ? अनुमान गरिहाल्न सजिलो छैन । 

तर कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालेको भोलिपल्ट पोस्टको प्रथम पृष्ठमा अमेजनका गोदामघरहरूमा कसरी मजदुरहरू घाइते हुन्छन् भनेर गज्जब स्टोरी आएको छ । व्यावसायिकताको मामिलामा उनीहरू तुलनात्मक रुपमा हामीकहाँजस्तो साहुकारितामा छैनन् भन्न सकिन्छ ।  

युनिभर्सिटी अफ क्यानससबाट सन् १९८८ मा ग्राजुएट गरेपछि क्यानससमै एपी सम्वाददाताको रुपमा बज्बीले काम सुरु गरेकी थिइन् । सन् १९९६ मा निमित्त ब्युरो चिफका रुपमा सम्पादन विभागमा उनको बढुवा भयो ।  

सन् २००४ मा उनले एपीको मध्यपूर्व क्षेत्रीय सम्पादकका रुपमा कायरोमा रहेर काम गरिन् र इराक युद्धको कभरेजलाई नेतृत्व गरिन् । उनले जर्जटाउन युनिभर्सिटीबाट उनले एमबीए पनि गरेकी छन् ।

सम्पादकीय नेतृत्वमा महिला

यसअघि पनि कयौँ महिलाहरूले पोस्टमा प्रबन्ध सम्पादकका रुपमा काम नगरेका होइनन् । तर प्रबन्ध सम्पादक दोस्रो तहको पद थियो । १८७७ मा पत्रिका स्थापना भएयता महिलाहरूलाई माथिल्लो पदमा नियुक्त गरिएको थिएन ।

बज्बीले लामो इतिहास बोकेको संस्थाको पहिलो महिला सम्पादक हुन पाउनु सम्मानको विषय भएको प्रतिक्रिया दिएकी छन् । “मैले आफ्नो करिअर र जीवनमा सदैव सचेत छु कि मेरो यो सफलताका लागि अरु धेरैको ठूलो योगदान छ”, उनले भनेकी छन्, “यसका लागि म आभारी छु । म केमा पनि सचेत छु भने हामी विविधताको विषयमा चुप बस्न सक्दैनौँ । मेरो भावना के छ भने हामीले आज जतिसुकै प्रगति गरेको भए पनि यो कहिल्यै पनि पर्याप्त थिएन ।”

बज्बीको सम्पादकीय नेतृत्वमा पोस्टमा के परिवर्तन हुन्छन् होला त ? सहकर्मीहरूसँग सल्लाह गरी गहन तथा तथ्यगत पत्रकारितामा जोड दिने तथा सबै खालका आवाजलाई स्थान दिने समाचार कक्ष बनाउन आफूले ध्यान दिने नियुक्ति लगत्तै भएको भिडियो कन्फरेन्समा उनले उल्लेख गरेकी छन् ।

बज्बीका चुनौती

बज्बीको मुख्य चुनौती भनेको डिजिटल ग्राहक वृद्धिका लागि मुख्य प्रतिस्पर्धी न्यु योर्क टाइम्स लगायतसँगको प्रतिस्पर्धामा अब्बल हुने नै हो ।

अहिले पोस्टका ३ मिलियन डिजिटल ग्राहक छन् । सन् २०१६ यता यो ग्राहक संख्या तेब्बरले बढेको हो । तर अहिले पनि यो मुख्य प्रतिस्पर्धी न्यु योर्क टाइम्स भन्दा पछाडि नै छ । किनभने टाइम्सका ७.५ मिलियन डिजिटल ग्राहक छन् ।

अमेरिकी पत्रकारिताको उच्च पदमा पुगेकी बज्बीको तुलना पक्कै पनि यसअघिका सम्पादकहरूको नेतृत्वकालमा भएका उपलब्धिहरूसँग हुनेछ । ब्यारोनको कार्यकालमा पोस्टले १० वटा पुलित्जर पुरस्कार जितेको छ । तर ब्यारोनमाथि समाचार कक्षमा उत्पन्न आन्तरिक मतभेदहरू सुल्झाउन नसकेको आरोप पनि लाग्ने गरेको थियो । खासगरी समाचार कक्षभित्र उठ्ने रङ्ग (वर्ण) र विविधताका मुद्दालाई सम्बोधन गर्न उनले कौशल देखाउन सकेका थिएनन् ।  

कार्यकारी सम्पादकका रुपमा बज्बीको कार्यकालमा एपीका सम्वाददाताहरूले यमन युद्धको कभरेजका लागि अन्तर्राष्ट्रिय रिपोर्टिङका लागि पुलित्जर पुरस्कार जितेका थिए । त्यही वर्ष ट्रम्प प्रशासनले आप्रवासीहरूको परिवारलाई छिन्नभिन्न गर्ने गरी ल्याएको नीतिमाथि गरेको रिपोर्टिङ पुलित्जर पुरस्कारको अन्तिम सूचिमा परेको थियो । यी जस्तै उपलब्धिहरूको अपेक्षा बज्बीबाट पक्कै गरिनेछ । हादसम्मको तथ्याङ्क हेर्ने हो भने पोस्टले ६९ पुलित्जर जितेको छ भने उसको मुख्य प्रतिस्पर्धी टाइम्सले १३० पुलित्जर जितेको छ ।  

पोस्टका ग्राहकहरूलाई कार्यकारी सम्पादकमा बज्बीको आगमनको जानकारी दिँदै प्रकाशक फ्रेड रायनले पत्र लेखेका छन् । 

बज्बीका दुई छोरी छन्- इमा (२१) र मार्गरेट (२०) । अमेरिकाको स्टेट डिपार्टमेन्टमा कार्यरत उनका श्रीमान् जोन बज्बीको भने सन् २०१६ मै निधन भइसकेको छ । 


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल