देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन
किशोर नेपाल-
यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’ गर्दागर्दै सक्रिय राजनीतिमा लागेका र लाग्न चाहने पत्रकारको कुनै कमी छैन । तीमध्ये अहिले यो पंक्तिकारको स्मृतिमा रहेको एउटा नाउँ हो रत्नाकर भारती, बिबिसी लन्डनमा हिन्दी भाषाका कार्यक्रम प्रस्तोता । लोकतान्त्रिक समाजवादी राजनीतिसँग निकट सम्बन्ध राख्थे रत्नाकर भारती । उनी हाम्रो युवावस्थाका प्रसिद्ध पत्रकार थिए र बिबिसी लन्डनमा हिन्दी भाषाको सामयिक राजनीतिक कार्यक्रम ‘आजतक’ चलाउँथे । बिबिसी लन्डनबाट प्रसारित हुने त्यस कार्यक्रमले नेपालमा पनि धूम मच्चाएको थियो । कार्यक्रमले नेपालमा चलिरहेको लोकतन्त्र स्थापनाको आन्दोलनलाई राम्रोसँग समेट्ने गरेको थियो । नेपालमा मार्सल जुलुम शाक्य, देवेन्द्र नेपाली र हरिबोल भट्टराई पक्राउ परेका वेला बिबिसीले प्रसारण गरेको समाचारको झझल्को अहिले पनि छ मेरो सम्झनामा ।
रत्नाकर भारती समाजवादी पृष्ठभूमिका व्यक्ति थिए । भारतका समाजवादी नेताहरूसँग उनको राम्रो सम्बन्ध थियो । सन् १९७५ मा प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा संकटकाल लगाएर शासन गर्न थालेपछि सर्वोदय आन्दोलनका सूत्रधार जयप्रकाश नारायणको नेतृत्वमा भएको सम्पूर्ण क्रान्ति आन्दोलनपछि भएको चुनावमा रत्नाकर भारतीले चुनाव लडेका थिए । राजनीतिप्रति पत्रकारहरूको आकर्षणको एक उदाहरण हो यो ।
डा. राममनोहर लोहियाको समाजवादी विचार र आन्दोलनबाट नेपालका युवा प्रभावित थिए । यो प्रभावको पहिलो सूत्र थिए– प्रदीप गिरि । जो नेपालमा समाजवादी आन्दोलनको संरचनामा लागेका थिए । रत्नाकर भारतीसँग उनको सम्बन्धले पनि बिबिसीबाट नेपाली आन्दोलनका समाचार प्रसारण सहज बनेको थियो ।
यद्यपि, त्यतिवेला बिबिसीले नेपाली भाषामा नियमित कार्यक्रम चलाउन थालिसकेको थियो । मोटामोटी रूपमा रेडियो नेपालबाट प्रसारित हुने कार्यक्रमहरूको कार्बन कपीझैँ लाग्ने नेपाली कार्यक्रममा नेपाली राजनीतिको चर्चा कमै हुने गथ्र्यो । सञ्चालक खगेन्द्र नेपाली कार्यक्रमलाई आकर्षक र जीवन्त बनाउन चाहन्थे ।
खगेन्द्र नेपालीमा कस्ता सामग्रीले रेडियो कार्यक्रम आकर्षक बन्छ भन्ने ज्ञान प्रचूर थियो । स्वतन्त्रता र उदात्त समाजको माग गर्दै चेतनशील जनताले देश तताएको त्यो समयमा ‘त्यो तारा मात्रै होइन, जून पनि झारी दिउँला’ जस्ता गीत बजाएर कार्यक्रम जीवन्त हुने त कुरै थिएन । उनी कार्यक्रमलाई जीवन्त बनाउने सामग्रीको प्रयोग गर्न स्वतन्त्र थिएनन् । नेपाली राजा र बेलायती राजाबीच सुमधुर सम्बन्ध थियो त्यो वेला । त्यो सुमधुर सम्बन्धको सम्मान गर्नुपर्ने बाध्यताको सिर्जना गरेको थियो, बेलायतकी महारानी एलिजाबेथको सरकारले । अहिले नेपाल गणतान्त्रिक देशमा परिवर्तित भइसकेको छ । देशमा पूर्ण स्वतन्त्रता स्थापित भइसकेको छ । तैपनि, अतीतका ती ‘ह्यांग ओभर’ बाँकी नै छन् । ती ह्यांग ओभरको प्रभावमा बाँचेका छन्, हाम्रा देशका बुद्धिजीवी, विचारक, विश्लेषक, प्राध्यापक र पत्रकारहरू ।
बिहीबार बिहानै एउटा समाचारको शीर्षकले मलाई अलिकति झस्कायो । समाचार र समाचारका शीर्षक दुवै अनौठो प्रकृतिको थियो । समाचारमा अहिलेसम्म के वस्तु हो ? भनेर कसैले पनि टुंगो लगाउन नसकेको वैकल्पिक राजनीतिको चर्चा थियो । चर्चाका लागि दुई पात्र खडा गरिएका थिएः डा. बाबुराम भट्टराई र रवीन्द्र मिश्र । यी दुई पात्रबीच कुनै तादात्म्य स्थापित हुनै सक्दैन । डा. बाबुरामसँग धेरैका विमति होलान् । त्यो ठिकै छ । तर, पत्रकारका हिसाबले म डा. बाबुराम र रवीन्द्रलाई समान मूल्यमा तुलना गर्नै सक्दिनँ । यस्तो तुलना भ्रामक हुन्छ । संघर्षको निरन्तरतामा हुर्केका डा. बाबुरामको चरित्रले वेलावेलामा तरलताको सीमा उल्लंघन गर्छ । पूरा पढ्नुहोस्