मुना बराल-
विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै आएको हो । राणा शासक श्री ३ जुद्धशमशेरले १९९० सालको भूकम्पपछि आधुनिकीकरण र पूर्वाधार विकासको जग बसाउने उद्देश्यले युरोपेली पूर्वाधार विकास अनुसरण गर्न अध्ययन टोली नै पठाएका थिए । तीन दशक लामो निरङ्कुश पञ्चायती कालखण्डमा पूर्वाधार विकासका एजेन्डा जोडतोडले उठाइएको हो । त्यतिबेला पूर्वाधार विकासका अवधारणा र बहसमा जोड दिइएको थियो ।
अहिले विकाससम्बधी बहस सामाजिक, आर्थिक, पर्यावरण, मानव विकास आदिसम्म आइपुगेको छ । हामी भने पूर्वाधार विकासमा निकै पछाडि छौँ । उदाहरण खोज्न अन्यत्र जानु पर्दैन, राजधानीजस्तो ठाउँमा चुनावको मूल एजेन्डा फोहोर व्यवस्थापन भएबाट स्पष्ट हुन्छ ।
२०४७ पछि तीन दशकदेखि पालैपालो शासन सत्तामा पुगेका राजनीतिक दलले विकासलाई मूल लक्ष्य बताउँदै आएका छन् । प्रत्येक दलले विकासलाई चुनावी एजेन्डामा प्राथमिकता साथ राखेका छन् । सरकारको नीति तथा कार्यक्रम र बजेट भाषणमा पूर्वाधार तथा आर्थिक विकास प्राथमिकताका साथ कार्यक्रममा समेटिएको हुन्छ तर कार्यक्रम कार्यान्वयनमा त्यस्तो भएको पाइँदैन ।
विकाससम्बन्धी एजेन्डा चर्को सुनिए पनि त्यसलाई नेपालका मिडिया र पत्रकारिता जगत्ले कसरी स्थान दिएका छन् भन्ने एउटा महìवपूर्ण बहसको विषय हो । खासमा विकास राजनीतिक वा प्रशासनिक काम मात्र होइन, पत्रकारिताको पनि जिम्मेवारीभित्र पर्छ । धेरै विकासोन्मुख र अल्पविकसित मुलुकमा विकास र पत्रकारितालाई लिएर बहस हुन थालेको हो । सन् १९६० को देशकदेखि नै सुरु भएको यो बहस सात दशकपछि पनि नेपालको सन्दर्भमा उत्तिकै सान्दर्भिक देखिन्छ ।
मूलतः विकाससम्बन्धी बहस, धारणा र घटनाक्रमलाई सञ्चार माध्यममा पर्याप्त स्थान दिएर विकासका लक्ष्य प्राप्तिका लागि प्रत्यक्ष÷परोक्ष सहयोग पुर्याउनु विकास पत्रकारिताको उद्देश्य हुन्छ । पञ्चायतकालमा तत्कालीन राजा महेन्द्रले सञ्चार माध्यमलाई विकासका लागि उत्प्रेरकको भूमिकामा उपयोग गर्न ‘विकासका लागि सञ्चार’ योजना नै ल्याएका थिए । उतिबेलै गोर्खापत्रलगायत सरकारी सञ्चारमाध्यममा विकाससम्बन्धी यथेष्ठ समाचार आउँथ्यो, विशेषगरी घरगाउँका खबर र विषयवस्तुलाई सञ्चारमाध्यमले स्थान दिनुलाई विकास पत्रकारिताका रूपमा हेरिएको पाइन्छ ।
२०४६ मा प्रजातन्त्र पुनर्बहालीसँगै विकाससम्बन्धी बहस अझ ट्डकारो सुनिएको हो । मिडियामा विकासका समाचार र विचारले भने राजनीतिक वा अन्य सामाजिक आर्थिक विषयवस्तुको तुलनामा निकै न्यून प्राथमिकता पाएको पाइन्छ । त्यस्ता समाचार र विषय वस्तुमाथि फलोअप पनि बिरलै हुने गरेको छ ।